आउनै छाडे लोकपप

आइतबार, २७ पुष २०७६, ०२ : २० मनोज घर्तीमगर
आउनै छाडे लोकपप डि–मर्चा ब्यान्ड सदस्यहरु। तस्वीर सुरज श्रेष्ठ

कुनै समय लोकपप फ्लेभरका पप गीतको एक छत्र बजार थियो। विभिन्न पप ब्याण्डले हरेक साता पोखरामा आयोजना गर्ने सांगीतक कार्यक्रममा लोक पपकै वर्चश्व हुन्थ्यो। ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, जोमसोमै बजार’ जस्ता नेपथ्य ब्यान्डका पप गीतले बजार पिटेको थियो।

चर्चा यतिसम्म चुलियो कि पोखरालाई लोकपपको राजधानी भन्न थालियो। ५० तर लोक पपको वर्चश्व लामो समय टिक्न सकेन। आजभोलि पोखराका स्रष्टा लोकपप विहीन भएका छन्।

ब्यान्डहरुको चहलपहल सुनसान छ। भएका कलाकार र गायकले पलायनको बाटो रोजे। पोखरामा ८० बढी ब्यान्ड थिए। ती अहिले गुमनाम छन्। पोखरामा जन्मेर जमेका कन्दरा, देउराली, ब्रोसिस, डि मर्चा, मध्यान्ह, नमस्ते, परिवेश, लेकाली, रियाज, भ्यागबोन, सिजन, दएज, त्रिवेणी, सृष्टि, द निजर, योङटाईगर, पिस ह्याङ्की, हाई वे गाईज, जिरोसिक्स वान, अन्नपूर्ण, पछ्यौरी, नमस्ते, मोक्ष, तन्त्र, पखेरी, द सँस्कार, इसाबेला, त्रिवेणी, मारुनी, पञ्चासे, रियाज, मंगोलस, एजु लगायका ब्यान्डले नयाँ गीत नगाएको लामै समय भइसक्यो।

‘राम्रा सिंगर पलायन हुनुले लोकपप गीतमा ग्याप रह्यो। अर्को कुरा जसको पनि  समय हुँदोरहेछ। पहिले लोकपप चलेको थियो, अहिले लोक दोहोरीको समय फर्किएको छ,’ डि–मर्चा ब्यान्डका मुख्य गायक भाष्करध्वज श्रेष्ठ भन्छन्, ‘सायद त्यही भएर पछिल्लो समय पोखराबाट लोकपप गीत निस्कन छाडेका हुन् कि ?’

बदलिएको बजार
गीतको बदलिएको बजारले पनि लोकपपमा प्रभाव पारेको देखिन्छ। कुनै समय क्यासेट बेचेरै मनग्ये आम्दानी गर्न सकिन्थ्यो। प्रविधिको विकाससँगै माध्यम बदलियो। क्यासेट एकादेशको कथा भइसक्यो।

अहिले संगीतमा कमाइको माध्यय युट्युब र सांगीतिक कार्यक्रममा सीमित भइसक्यो। अहिले सुन्ने गीतभन्दा बढी हेर्ने गीत बनाउने ट्रेन्ड छ। म्युजिक भिडियो बनाउनै प¥यो। गीत रेकर्ड, म्युजिक भिडियो निर्माण महँगो छ। लगानी राम्रै हुन्छ तर लगानी उठ्ने, नउठ्ने निश्चित छैन। लोकपपको क्रेज -याप र लोकगीतमा सरेको छ। लोकपप त्यत्ति नचल्दा यसमा सक्रिय गायक गायिकाले लगानीको हिम्मत नगरेको देखिन्छ।

गायक विनोद बानियाँ लगानीको असुरक्षाका कारण नयाँ लोकपप गीत नआएको बताउँछन्। गाएर जीवन धान्नै नसक्ने अवस्था रहेको र सांगीतिक माहोलसमेत राम्रो नभएकाले यस्तो अवस्था आएको उनको ठम्याइ छ।

भ्यागबोन ब्यान्डमा लागी परेका गायक संगीतकार श्यामसुङ तामाङ पनि सांगीतिक माहोल लोकपपकेन्द्रित नहुँदा लोकपपमा जमेका गायकहरु पनि अन्य फ्लेवरतिर लागेको बताउँछन्। जसले फ्लेबर बदल्न सकेनन् उनीहरु अन्य व्यवसायतिर लागे।

‘नामले मात्रै पुग्दैन। बाँच्न आम्दानी त हुनुप-यो। कमाइ नभएपछि बिक्री नहुने एल्बम कसले निकाल्छ र,’ उनले भने, ‘नचलेकाले नै लोकपपका नयाँ गीत आएनन्।’

रेकर्डै हुन्न लोकपप
पोखराको बार डिजिटल रेकर्डिङ स्टुडियोमा एकताका संगीतकार एवं कन्दरा ब्यान्डका सदस्य बुद्धराज बज्राचार्यले दैनिक तीन वटासम्म लोकपप गीत रेकर्ड गर्थे। अहिले उनले लोकपप गीत रेकर्ड नगरेको वर्षै भइसक्यो रे। ‘खै अहिले लोकपप गीत रेकर्ड गर्न कोही आउँदैन, बजार सक्किएछ,’ उनले भने।

संगीतकार एवं कन्दरा ब्यान्डका सदस्य सुनिल थापा जेनतेन संगीत क्षेत्रलाई निरन्तरता दिन सकेको बताउँछन्। एकाध गीत निस्के पनि एल्बम भने आएको छैन। ‘लगानी मात्रै हो आम्दानी सुको हुँदैन,’ उनले भने।

सोलो पप गायक धमेन्द्र सेवाङ, उज्ज्वल भण्डारी, सुन्दर थापा, नरजंग गुरुङ अनि केसी, मनोज गुरुङ, सर्वज्ञमान शाक्य, सन्तोष कोन्मे, दीपराज थापा, एनजे सागर शाह, विवेक केसी, सिदार्थ पौडेल, अरबिन तुलाचन, ईश्वर दियाली, अपार गुरुङलगायतले पनि एक दुई गीत रेकर्ड गराए पनि एल्बम निकाल्न सकेका छैनन्।

Leave A Comment