हत्केलामा मेहेन्दी, नाडीमा हरियो चुरा

मङ्गलबार, २० साउन २०७७, १२ : २५ मनोज घर्तीमगर
हत्केलामा मेहेन्दी, नाडीमा हरियो चुरा तस्बिर: भूपाल गुरुङ/जक्सन डटकम

साउन महिना सुरु भएसँगै हरियो चुरा पोते किन्ने र मेहेन्दी लगाउने महिलाको चहलपहल बढेको छ। पछिल्लो समय देखावटी र फेसनका रुपमा साउनमा पहिरन नै हरियो लगाउने प्रचलन बढ्दो छ। स–साना बालिका, युवती, अधबैंसे नारी हुन् वा वृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा र हत्केलाभरि मेहेन्दीमा सजिएको देख्न पाइन्छ। 

त्यसो त चुराको इतिहास इजिप्टबाट सुरु भएको हो। इजिप्टबाट सुरु भएको चुरा लगाउने प्रचलनलाई व्यवसायको रुपमा नेपालमा मुस्लिमहरुले भिœयाए। अहिले मुसलमान मात्रै होइन, जो कसैले चुराको व्यापार गर्छन्। नेपालमा आउने चुरा सबै भारतबाट आउँछन्। हरियो चुरा लगाउने संस्कृति पनि भारतीयहरुले नै नेपालमा भिœयाएका हुन्। नेपालमा न चुरा बन्छ, न यो नेपालीको संस्कृति थियो। इजिप्टबाट चुरा लगाउने चलन सुरु भए पनि पछिल्लो समय नेपालीहरुले चुरा आफ्नै संस्कृति जसरी अँगालेका छन्। 

अझ गजबको संस्कृति त के छ भने हिन्दू धर्मावलम्बीमा महिलाले चुरा लगाउनुलाई विवाहिता भएको संकेत दिन्छ। नयाँ पुस्तालाई न चुराको इतिहाससँग मतलब छ। न यो संस्कृतिको बारे। उनीहरुलाई चुरा लगाउन पाए भयो। पछिल्लो पुस्ताले चुरा लगाउनुलाई फेसनको रुपमा ग्रहण गर्न थालेको छ। साउन महिना सुरु भएयता हातभरि विभिन्न आकृतिको मेहेन्दी। दुवै हातमा हरियो चुरा । अनि हरियै कपडामा हि“ड्नेको संख्या पोखरामा ह्वात्तै बढेको छ। ‘अरु बेला सबैले जिस्काउँछन्। साउनमा चुरा लगाए फेसन हुन्छ’ पोखरा गैह्रापाटनकी सुस्मिता बाँस्तोला भन्छिन्, ‘चुरा र मेहेन्दी लगाउने रहर साउनले पूरा गरेको छ।’ 

हिन्दू धर्ममा विवाहिता महिलाले मात्रै चुरा लगाउने प्रचलन छ। धर्म निरपेक्ष नेपालमा अन्य धर्मका युवतीलाई भने बिहेवारी नगर्दै चुरा, पोते, टीका लगाउन बन्देज छैन। साउन महिनामा भने हिन्दू धर्मावलम्बीका अविवाहिता युवतीलाई पनि चुरा लगाउन सांस्कृतिक रुपमा छुट छ। त्यही सांस्कृतिक छुटको प्रयोग गर्दै पोखराका अविवाहिता युवती यतिबेला नाडीभरि चुरा र हातभरि मेहेन्दी लगाएको देख्न पाइन्छ। ‘मेहेन्दी र हरियो चुरामा खासै रुची छैन। साथीहरु सबैले लगाएको देख्दा मैले पनि लगाइदिएँ,’ पोखरा चाउथेकी अञ्जली कुँवरले हाँस्दै भनिन्, ‘साथीहरुले साउन २ गते नै लगाएछन्, मेरो पालो बल्ल आयो।’

संस्कृति धान्ने चलन होस् वा फेसनको बहाना। बेलाबेलामा आउने नयाँपनलाई यहाँका युवती र महिलाले जिन्दगी रमाइलो बनाउने बताउँछन्। विवाहिता महिलाले मात्र लगाउँदै आएको चुरा अविवाहिताले समेत लगाउन थालेपछि चुरा व्यापारीलाई फाइदै छ। सबैले नाडीभरि चुरा र हातभरि मेहेन्दी लगाएको देखेपछि नलगाउनेहरुले पनि अरुको सिको गर्दै चुरा र मेहेन्दी लगाउन थालेका छन्। ‘चुरा र मेहेन्दीमा खासै इक्षा छैन। विवाह भएपछि बाध्यताले पनि लगाउनैपर्छ,’ पोखरा न्यूरोडकी अंकिता बश्याल भन्छिन्, ‘साथीहरुको लहलहैमा हरियो चुरा र मेहेन्दी लगाएको हुँ।’ 

विवाहिताहरुले प्रायः रातो चुरा र पोते लगाउने चलन भए पनि साउन महिनामा हरियो चुरा र साडी लगाएर सोमबार शिवको व्रत बस्छन्। विवाहिता महिला आफ्नो पतिको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै साउनको सोमबार व्रत बस्छन्। युवतीहरु भने खोजेजस्तै श्रीमान्को कामना गर्दै व्रत बस्ने चलन छ। ‘व्रत बसेपछि खोजेजस्तै श्रीमान् पाइन्छ, त्यही भएर हरियो चुरा, मेहेन्दी लगाएर व्रत बस्छु,’ पोखरा रामबजारकी दिया क्षत्री भन्छिन्। 

पृथ्वीनारायण क्याम्पस इतिहास तथा संस्कृति विभागका उपप्राध्यापक चन्द्रकान्त पौडेल साउन शिवजीको महिना भएकाले शिवजीका भक्तले साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने गरेको बताउँछन्। ‘शिवजीलाई सबैभन्दा बढी मन पर्ने बेलपत्र। बेलपत्रको रङ हरियो भएकाले शिवभक्त भएका महिलाले हरियो चुरा लगाउने गर्छन्,’ उपप्राध्यापक पौडेल भन्छन्, ‘साँस्कृतिक कुरा एकातिर छ। अहिले त नयाँपन केमा आउँछ, त्यही लगाएर नयाँ पुस्ता फेसनेबल हुन खोज्छन्।’ 

साउन महिनामा हरियो चुरा, पोते लगाउने प्रचलन फेसनको रुपमा विकास भइरहेको छ। विवाहिता, अविवाहिता मात्र हैन, बच्चादेखि वृद्धासम्म हातभरि हरियो चुरा लगाउने फेसन बनेको छ। कलेजमा पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो रंगको चुरा लगाउने फेसन चलेको छ। उनीहरुमध्ये धेरैलाई हरियो चुरा र मेहेन्दी लगाउनुको धार्मिक एवं सांस्कृतिक महत्व थाहा छैन। ‘त्यस्तो धर्मकर्मका बारेमा त केही थाहा छैन रहर लागेर चुरा र मेहेन्दी लगाएको हुँ,’  पोखरा न्यूरोडकी अनिता गुरुङ भन्छिन्। दुई चार वर्षअघिसम्म पोखराका फुटपाथमा विशेष गरी मधेसी मूलका व्यक्ति र भारतीयहरुले चुरा बेच्दै र मेहेन्दी लगाइदिँदै गरेको दृश्य छ्याप्छ्याप्ती देखिन्थ्यो। बिस्तारै त्यो भीड ब्यूटिपार्लर र कस्मेटिक पसलमा सरेको छ। यसपालि भर्खरै मात्र लकडाउन खुलेकाले अघिल्लो वर्षजस्तो भीडभाड भने छैन।

Leave A Comment