सेतो छडी र ह्विलचियरमा र्‍याम्प

बुधबार, २६ चैत २०७६, ०३ : २१ मनोज घर्तीमगर
सेतो छडी र ह्विलचियरमा  र्‍याम्प तस्बिरः सुरज श्रेष्ठ (एस २ प्रोडक्सन)

मोडलिङमा पोखरा जति चर्चित छ, त्योभन्दा बढी ख्याति कमाएको थियो पोखराको फेसन सो ले। एकताका यस्तो जमाना थियो, यहाँ साता बिराएर विभिन्न नाममा फेसन सो हुन्थे। पोखरामा अनेक नाम दिएर हप्तैपिच्छे सुन्दरी प्रतियोगिता भइरहे पनि पछिल्लो समय फेसन सोले मौका पाएको थिएन। फेसन सो हुन छाडेपछि यसमा रमाउनेहरु चिन्तित बनिरहेका बेला पोखरामा यो साता फेसन सो गरिएको छ–त्यो पनि फरक क्षमता (डिसएबल)भएका मोडलहरुलाई मञ्चमा उतारेर। पोखराले फेसनेबल शहरको उपमा पाएको छ। फरक–फरक शैलीका फेशन सोलाई पोखरेलीले नियालिरहेका हुन्छन्। पोखरामा यो साता भने निकै फरक फेशन सो आयोजना गरियो।

रंगीचंगी उज्यालोले सबैको ध्यान स्टेजतिरै थियो। स्टेज गजबले सिंगारिएको थियो। दर्शक हलभरि खचाखच। लामो समयको पर्खाइपछि कम्मर हल्लाउँदै मञ्चमा फरक क्षमता भएका मोडलको परेड सुरु भयो। सजिसजाउ स्टेजमा विभिन्न भावभंगीमा एकपछि अर्को मोडल -याम्पमा उत्रिएपछि दर्शकले तालिका पूरा छुटाए। पालैपालो फरक पहिरनमा मोडलहरुका ‘क्याट–वाक’ ले आकर्षित नगर्ने कुरै भएन। दायाँ–बायाँ बसेका दर्शकले सुरुदेखि अन्त्यसम्म यो रंगिन माहोल मज्जाले नियाले। ‘सँगै हिँडौं, सँगै गरौं र सँगै जाऔं’ भन्ने नारा दिएर गरिएको फेसन सोमा यस्दै दृश्य देखियो। विभिन्न थिमका भिन्नभिन्न पोशाकमा सजिएर मोडलहरु -याम्पमा आउदा दर्शकहरु निकै उत्साहित देखिन्थे।

-याम्पमा उत्रिने अधिकांश फरक क्षमताका थिए। कोही ह्वीलचियरमा -याम्पमा उत्रिए। कोही सेतो छडीको साथमा। कोही वैशाखी टेक्दै। पोखरामा सम्भवतः पहिलोपटक फरक क्षमता भएका महिलालाई फेसन सोको -याम्पमा उतारिएको थियो। उतार्ने काम भने इन्टरनेसनल मोडर्न फेसन कलेज पोखरा (आइएफसी) र आशिका चन्दले संयुक्तरुपमा गरेका थिए। पोखराकी ऋतु पौडेल सेतो छडी टेक्दै मञ्चमा उक्लिँदै -याम्पमा हिँड्न सुरु गरिन्। सुन्दर पहिरनमा उनले -याम्प गर्दा दर्शकले नयाँ प्रकृतिको फेसन सोको अनुभूति गरे। स्टेजमा उत्रिएसँगै ताली बजाउँदै उत्साह थपिदिए। उनीजस्तै पोखराकै अर्की दृष्टीविहीन सुस्मा तामाङले पनि सेतो छडीमै -याम्पमा वाक गरिन्।

इन्टरनेसनल मोडर्न फेसन कलेज पोखरा र आशिका चन्दले संयुक्त रुपमा फेसन सो आयोजना गरेका हुन्। अपाङ्गता भएकाहरुको आर्थिक कोष वृद्धि गर्ने उद्देश्य थियो। उनीहरुको आत्मविश्वास बढाउने अभियानलाई पूरा गर्ने जमर्को गरिएको इन्टरनेसनल मोडर्न फेसन कलेज पोखराकी अध्यक्ष सरस्वती गुरुङले बताइन्। ‘सँगै हिँडौं, सँगै गरौं र सँगै जाऔं’ भन्ने नारा थियो। यही नारालाई आत्मसात गर्दै आयोजित फेसन सोमा १३ जना अपाङ्गता भएकाहरुले सुन्दर शैलीमा आफूलाई स्टेजमा उभ्याए।

उनीहरुसँगै अरु फेसन डिजाइनर र मोडलहरु पनि -याम्पमा क्याटवाक गरे। फेसन सोमा बालबालिका, फेसन पढ्दै गरेका विद्यार्थी र महिलाले आफूले डिजाइन गरेको पहिरनको प्रदर्शन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्य सरस्वती गुरुङले शारीरिक रुपमा हुने बनावट भन्दा मिहिनेतले व्यक्तिको पहिचान स्थापित हुने सुनाइन्। ‘कुन भुगोलमा जन्मियो, कस्तो शरीर लिएर जन्मियो वा कुन परिवारमा जन्मियो भन्ने कुराले खासै अर्थ राख्दैन। उसले कति मिहिनेत ग-यो। अहिले के पहिचान बनाइरहेको छ त्यसले अर्थ राख्छ,’ उनले भनिन्, ‘अपाङ्गता भएका व्यक्ति पनि हामीसँगै हिँड्न सक्छन अवसर पाए भन्ने सन्देश यो कार्यक्रमले दिएको छ।’ झण्डै दुई घण्टासम्म फेसन सो चलेको थियो।

Leave A Comment