लत्रेपिपलमा ‘बबाल भो...’

आइतबार, ०३ मङि्सर २०७४, ०१ : ५८ मनोज घर्तीमगर
लत्रेपिपलमा ‘बबाल भो...’

स्टेजमा रोज्जा कलाकार लहरै बसेका थिए । सबैको ध्यान स्टेजतिरै थियो । रंगीचंगी ध्वजपतका । स्टेज पनि दुलहि झैं सिंगारिएको । धान काटिसकेको खेतमा दर्शक खचाखच थिए । लामो समयको पखाइपछि एमसीले ‘लत्रेपिपल बृहत सांस्कृतिक मेला २०७४’ सुरु भएपछि दर्शकको प्रतीक्षा सकियो । सजिसजाउ स्टेजमा गीत गाउँदै विभिन्न भावभंगीमा एकपछि अर्को कलाकारले स्टेजमा उत्रेपछि दर्शकले तालीका पर्रा छुटाए । लत्रेपिपल युवा क्लवको आयोजनामा शनिबार स्याङ्जाको पुतलीबजार नरपालिका वडा नं. ३ लत्रेपिपल आयोजना गरिएको ‘लत्रेपिपल बृहत सांस्कृतिक मेला २०७४’ को दृश्य थियो यो । जुन कार्यक्रम हेर्न दर्शकले कुनै शुल्क तिर्नु परेन । स्याङ्जामा हुने विभिन्न मेलामा टिकट नबेचेर गरिएको यो पहिलो कार्यक्रम हो ।

निःशुल्क प्रवेश गरिएपछि दर्शकको चाप त हुने नै भयो । बस्ने ठाउँ नभएपछि खेत अनि खेतका आलिमा बसेरै भए पनि दर्शकले भरपुर मनोरञ्जन  लिए । कार्यक्रम यस अर्थमा पनि रमाईलो थियो कि । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले आफ्नै घर छेउको कार्यक्रममा गाउने अवसर पाएका थिए । सर्ट, स्टकोट, जिन्स पाइन्ट र लेदरको जुत्तामा झिल्के तरिकाले स्टेज चढेका पशुपतिले उनका चर्चित गीत मलाई अमेरीक यहीँ, मेरो मायाँ बसेको ठाउँमा’ गीत गाएर दर्शकको रुपमा जम्मामा आएका आफ्नै गाउँका दाजुभाई, दिदीबहिनी, आमा बाबा, काकाकाकीलाई भरपुर मनोरन्जन दिलाए । त्यसैगरी घर त मेरो स्याङ्जा रयाले, सरर पिलेमा आए, ठाडो भाका देखी भजन चुड्कासम्म गाएर सबैलाई नचाए । ‘मैले गीत गाउँछु, तर मेरा लागि असली सर्जक यहाँहरु हो । तपाइले भान्सामा, मेलामा बिवाहमा गीत गाउँनुहुन्छ अनि त्यसलाई म नयाँ लयमा गीत बनाउँछु’ स्टेजबाटै पशुपतिले भने,‘आज आफ्नै घरछेउमा भएको कार्यक्रममा गाउन पाउँदा खुसी छु ।’

गायक धनश्याम रिजालले ‘घर शून्य भो, सरसर, डालिमा बसेको चरी, रत्तेउली...’ लगायतका गीत गाएर दर्शक उफारे । यसैगरी कलाकारहरु प्रकाश सपुत, गायिका मञ्जु वि.क., सम्झना भण्डारी, तारा पौडेल श्रेष्ठ, लक्ष्मी नेपालीको प्रस्तुतीमा दर्शक मन्त्रमुग्ध बने । यस्तै पोखरेली माग्ने बुढा र धुर्मुसको प्रहसनले दर्शकलाई मजाले हसाउन सफल भए  । चर्चित मोडल अञ्जली अधिकारी लगायतका अन्य स्थानीय कलाकारको प्रस्तुतीले सुनमा सुगन्ध थप्यो । यति प्रस्तुति हुँदा झमक्क साँझ परिसकेको थियो । छिसोले छोप्न सुरु गरे पनि दर्शक घर फर्किएनन् । उनीहरुको अन्तिम पर्खाइ थिए, रमेशराज भट्टराईको । कार्यक्रम प्रस्तोताले राजनलाई स्टेजमा आमन्त्रण गर्नासाथ अल्लारे तन्नेरीहरुको भीडले सिठी बजाएर स्वागत ग¥यो । जिब्रे टोपी लगाएर गायक रमेशराज जब स्टेज चढे, दर्शकको हुटिङले लत्रेपपिल गुञ्जियो । माइक समाउन नपाउँदै रमेशराजले भने,‘सात घण्टा पर्खिएर गीत आफ्नो प्रस्तुति नि पाउँदा म खुसी छु । यति लामो समय पनि तपाइहरु धैर्य भएर बस्नु भो मेरो लागी यो अहोभाग्य हो ।’

त्यसपछि उनले गाए आफ्नो सदाबहादर गीत ‘बबाल भो’ । रमेशराजले यो गीत गाउँदा दर्शक उफ्रिउफ्रि नाँचे । उनले आफ्ना अन्य चर्चित गीत गाएरपछि अन्तिममा ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई...’ गाए । त्यसपछि दर्शकले वान्स मोर गरेपछि उनले यहि गीत दोहो¥याएर गाए । कार्तिक २५ गते लत्रेपिपल क्लबले आफ्नो स्थापना दिवसको अवसरमा गरेको प्रथम लत्रेपिपल बृहत सास्कृतिक कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गर्ने दर्शक, प्रायोजक, सहप्रायोजक र सहयोगीलाई क्लबका कोषाध्यक्ष मनोज मल्लले धन्यवाद दिए । उनले मेलालाई आगमी वर्षमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा अध्यक्ष धु्रब शर्माले क्लबका तर्फबाट कार्यक्रमको मुख्य प्रायोजन गोल्डेन टाइगर बियरका प्रमुख पृथ्वी थकाली, विशेष प्रयोजक सिटी एक्सप्रेसका प्रतिनिधी, कलाकारहरुलाई मायाको चिनो दिएर सम्मान गरेका थिए ।

Leave A Comment