काबुल घटनापछि सिक्नुपर्ने पाठ

मङ्गलबार, २८ असार २०७३, १२ : ३४ रुद्र खड्का , Kathmandu
काबुल घटनापछि सिक्नुपर्ने पाठ

वैैदेशिक रोजगारीमा जाने अधिकांश युवायुवतीको लक्ष्य हुन्छ– रोजीरोटीको जोहो, सन्तानको शिक्षादीक्षा र बिरामी पर्दा आफन्तको उपचारको बन्दोबस्ती ।
आर्थिक समृद्धि र सहज जीवनस्तर जिउने वातावरण सिर्जना गर्न रोजगारीमा पसेका तिनै निर्दोष नागरिक कहिले सामूहिक आक्रमणमा मारिने त कहिले अन्य समस्यामा पर्न थालेपछि फेरि सुरक्षाको विषयलाई लिएर चिन्ता गर्न थालिएको छ ।  खास गरी पछिल्लो समयमा काममा जाँदै गरेका १३ नेपाली अफगानिस्तानको राजधानी काबुलमै मारिएपछि नेपाली कामदारको सुरक्षा सवाल झनै टड्कारो रूपमा देखापरेको हो ।
आफ्नो र परिवारको दैनिक जीवनको गुजारा जुटाउन मलेसिया र खाडी मुलुक पसेका श्रमिकले सम्झौताअनुसार पारिश्रमिक र काम नपाएको भन्दै पीडित हुने गरेका गुनासो सामान्य भइरहेको बेला रोजगारीमा गएका कामदारले ज्यानै गुमाउनुपर्ने अवस्था सिर्जना भएपछि वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्नेबारे ठोस निर्णय गर्नुपर्ने बेला आएको सम्बद्धहरूको भनाइ छ ।
विदेशका धेरैजसो रोजगारदाताको रोजाइमा नेपाली कामदार पर्ने गरे पनि त्यहाँ रहेका विभिन्न समूहबाट नेपाली श्रमिक निशानामा पर्ने क्रम नरोकिएको बेला सरकारले अब लोसे पारामा नभई रोजगारदाता मुलुकका सरकारको माथिल्लो निकायसँग सशक्त रूपमा कुरा गर्नुपर्ने आवाज उठेको छ । वैदेशिक रोजगारीको क्रममा अफगानिस्तानमा १३ नेपालीको हत्या भएको घटना पहिलो होइन । नेपाली कामदारको कुनै दोष नहुँदा नहुँदै यसअघि इराकमा पनि १२ युवाको हत्या भएको थियो । त्यसपछि पनि फाटफुट रूपमा नेपाली कामदारमाथि ज्यादती भइरहेको पाइन्छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले कुनै गल्ती नगरीकन अनाहकमा ज्यान गुमाउँदा पनि सरकारले सम्बन्धित देशको सरकारसँग कुरा गर्न नसक्नुलाई आफ्ना नागरिक प्रतिको बेवास्ताको रूपमा धेरैले लिएका छन् । नेपाली कामदारले वैदेशिक रोजगारीमा भोग्नु परेका समस्याबारे अध्ययन, अनुसन्धान गरिरहेका व्यक्तिका अनुसार पछिल्लो समयमा समस्यामा रोजगारदाता कम्पनी र त्यहाँका सरकारको मानसिकता नेपाली कामदारलाई जस्तो व्यवहार गरे पनि हुन्छ भन्ने देखिँदै आएको बताउँछन् । मलेसियामा काम गर्ने नेपाली कामदारले भोगिरहेका समस्याबारे अघिल्लो हप्ता त्यहाँ पुगेर अध्ययन गरेका पिपुल फोरमका सल्लाहकार अधिवक्ता सोम लुइँटेलका अनुसार यतिखेर मलेसियाका रोजगारदाता नेपाली कामदारलाई जे गरे पनि हुन्छ भन्ने मानसिकता छन् । ‘नेपाली कामदारलाई सुरक्षित बनाउन सरकारले ठोस निर्णय गर्नुपर्ने बेला आएको देखियो,’ उनले भने । मलेसियामा रहेका नेपाली श्रमिकका समस्या अध्ययन गर्न गएका अर्का श्रम तथा रोजगार मन्त्रालयका उपसचिव अर्जुन खनाल वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार सोचेभन्दा बढी समस्यामा रहेको बताउँछन् । ‘कामदारका समस्याबारे दूतावासले रोजगारदाता मुलुकमा रहेका सरकारलाई जानकारी गराउँदासमेत बेवास्ता भइरहेको छ,’ खनालले भने ।
वैदेशिक रोजगारीको क्रममा रहेका नेपाली सुरक्षित हुन नसक्नुमा तमाम कारण भए पनि सबभन्दा ठूलो कारणको रूपमा नेपाल सरकारले रोजगारदाता मुलुकसँग श्रम–सम्झौता गर्न नसक्नु र नेपाली कामदार अप्ठ्यारोमा पर्दासमेत रोजगारदाता मुलुकसँग दोहोरो संवाद गर्न नसक्नुलाई लिइएको छ । रोजगारदाता मुलुकले नेपालीलाई काम दिनु भनेको नेपालप्रति दया, माया गरेको जस्तो ठान्ने प्रवृत्ति नेपालका नेता र उच्च तहमा कर्मचारीमा रहेकाले त्यसको मार कामदारले बेहोर्नु परेको पीडितहरूको गुनासो छ । ‘वैदेशिक रोजगारीमा रहेका कामदारलाई स्थानीय नागरिक या रोजगारदाता मुलुकले कुनै समस्यामा पारे भने नेपाल सरकारले तत्काल त्यसको प्रतिवाद गर्न सक्नुपर्छ,’ अफगानिस्तान घटनापछि घर फर्किएका राजु अवालेले भने, ‘तर, नेपाल सरकारका अधिकारी कामदारले जति गुनासा राखे पनि नसुने झैँ गर्छन् ।’
कामदारलाई सुरक्षित राख्न नसकेका कारण यतिखेर अफगानिस्तान मात्र नभई मलेसिया, कतारलगायत देशमा रहेका श्रमिक घर फर्कन आतुर रहेको बताइएको छ । मलेसियास्थित नेपाली राजदूत निरञ्जनमान सिंह बस्न्यात पछिल्लो एक वर्षमा मलेसियाबाट ५५ हजार श्रमिक करार रद्द गरी घर फर्कनुलाई रोजगारदाता मुलुकमा नेपाली असुरक्षित रहेको प्रमाण ठान्छन् । असुरक्षाकै कारण यतिखेर करिब चार सय कामदार कतारबाट फर्कन खोजिरहेको खबर प्राप्त भएको छ । नेपाल सरकारले हाल १ सय ६ देश (अहिले रोक लगाइएको अफगानिस्तान र यसअघि रोक लगाइएका इराक, सिरिया र लिबियाबाहेक) श्रम स्वीकृति जारी गर्ने भए पनि जम्मा छवटा मुलुक जापान, इजरायल, कोरिया, कतार, बहराइन र संयुक्त अरब इमिरेट्सँग मात्र श्रम–सम्झौता गर्न सकेको छ ।
स्वदेशमा रोजगारीको अवसर नपाउँदा विदेशिएका युवायुवती वैदेशिक रोजगारीमा सोचेजस्तो उपलब्धि  नभएपछि र उल्टै असुरक्षामा पर्ने क्रम नरोकिएपछि के गर्ने र कसो गर्ने भन्ने समस्यामा छन् । ‘वैदेशिक रोजगारीमा अझै सम्भावना सकिएका छैनन्,’ यसै साता मलेसियाबाट फर्केका विष्णु सापकोटा भन्छन्, ‘तर, बेलैमा यसबारे नसोच्ने हो भने भोलिका दिन वैदेशिक रोजगारी अर्थहीन नहोला भन्न सकिँदैन ।’ वैदेशिक रोजगारीमा रहेका युवायुवती असुरक्षित हुँदै जानुको कारण कतिपयले सीप र शिक्षाको कारणलाई पनि लिएका छन् । ‘यदि सरकारले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई रोजगारदाता मुलुकको आवश्यकताअनुसार सीप सिकाएर पठाउने हो भने त्यहाँ समस्या हुँदैन,’ सापकोटाले भने, ‘स्थानीयभन्दा नेपाली युवायुवतीले राम्रो काम गर्न सक्ने हो भने त्यस्ता कामदारको सुरक्षा रोजगारदाता कम्पनीले गर्छन् ।’  वैदेशिक रोजगारी कस्तो हुन्छ ? तथा कुन अवस्था र कारणले जानु परेको हो भन्नेबारे नबुझ्दा कतिपय युवायुवतीका लागि वैदेशिक रोजगारी आम्दानी गर्ने बाटो नभई जीवन बर्बाद गर्ने माध्यमसमेत बन्न पुगेको पाइन्छ । आफू र सन्ततिको सुन्दर भविष्यको सपना बुन्दै वैदेशिक रोजगारीमा गएका व्यक्तिले उतै ज्यान गुमाउँदा या अंगभंग हुँदा त्यसले परिवारमा थप समस्या सिर्जना गरेको त छ नै साथै समाजसमेत विकृत बन्दै गएको कतिपय समाजशास्त्रीको धारणा छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका ३ लाख ४९ हजार ५ सय ३७ मध्ये ८ सय १९ जनाको रोजगारीकै क्रममा मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

‘कामदार नियमसंगत नचलेसम्म जोखिम घट्दैन’
कृष्णा गौली
हकहित शाखा प्रमुख, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड
वैदेशिक रोजगारीमा जाने युवायुवतीले सबैभन्दा पहिला आफू कुन देशमा जाँदै छु भन्नेबारे बुझ्न जरूरी छ । त्यस्तै रोजगारदाता कम्पनी कस्तो हो, त्यसले कति पारिश्रमिक दिन्छ र गर्नुपर्ने काम के हो त्यसबारे पनि उत्तिकै जानकारी लिनुपर्छ । वैदेशिक रोजगारीमा जानु भनेको नितान्त फरक परिवेशमा जानु हो । त्यसैले त्यहाँको परिवेश, धर्म, संस्कृतिबारे बुझ्नुपर्छ । वैदेशिक रोजगारीमा गएकामध्ये समस्यामा परेकाको विवरण हेर्ने हो भने रोजगारदाता कम्पनी छाडेर भागेकाहरूको संख्या ठूलो देखिन्छ । त्यसैले कुनै पनि कामदार वैदेशिक रोजगारीमा जाँदा जुन कम्पनीमा गएको हो । त्यो कम्पनी छाडेर अन्यत्र भाग्नु हुँदैन । तोकिएको कम्पनी छाडेर भाग्ने बित्तिकै कामदार गैरकानुनी हुन्छ । बरु, रोजगारदाताले सम्झौताअनुसार पारिश्रमिक दिएन भने या फरक काममा लगायो भने विदेशस्थित नेपाली नियोगमा सहयोगका लागि आग्रह गर्नुपर्छ । कामदारले त्यतिबेलासम्म न्याय पाउन सक्दैन जबसम्म आफू नियमसंगत हुँदैन ।

‘सीप सिकेर मात्र विदेश जानुपर्छ’
राजु आलेमगर, जग्लर बारटेन्डर
म इटालीको एमएससी कम्पनीले चलाउने पानीजहाजमा जग्लर बारटेन्डर÷वारिस्ताको रूपमा काम गर्छु । १४ महिनादेखि पानीजहाजमा यात्रा गर्ने यात्रुलाई सर्भ गर्दै आइरहेको छु । केही दिनअघि छुट्टिमा घर आएको बेला अफगानिस्तानमा १३ नेपालीको हत्या भएको सुन्दा निकै दुःख लाग्यो । कमाउन गएको व्यक्तिले ज्यान गुमाउनु भनेको निकै पीडाको क्षण हो । पछिल्लो समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुःख पाएका अनेक खबर सुनिन्छन् । मेरो विचारमा नेपालीले विदेशमा दुःख पाउनुका मुख्य कारणमा आवश्यक सीप र शिक्षा प्राप्त नगर्नाले हो । यदि हामी सीप सिकेर वैदेशिक रोजगारीमा जाने हो भने एकातिर सम्मान हुन्छ भने अर्कोतिर राम्रो आम्दानी पनि गर्न सकिन्छ । मेरै कुरा गर्दा सन् २००८ देखि बारको क्षेत्रमा लागेको हुँ । सुरुमा आलाकाँट होटल ट्रेनिङ सेन्टरबाट बारबारे सिकेँ । मन्दिप ग्रेवालले धेरै कुरा सिकाएपछि इन्सोभेनियामा फेरि ट्रेनिङ गरेर यटिक बार र द फ्याक्ल्टी रेस्टुरेन्ट एन्ड बारमा तीन वर्ष काम गरेपछि इटाली जाने निर्णय गरेको हुँ । पानीजहाजमा काम पाउनु भनेको हामी जमिनमा बस्ने नेपालीको सपना हुन सक्छ । तर, मैले स्वदेशमा धेरै मेहनत गरेका कारण र सीप सिकेकाले त्यहाँ जान पाएँ । म अहिले मासिक एक हजारदेखि १५ सय डलरसम्म कमाउँछु । खाने, बस्ने सुविधा त पानीजहाजमा हुँदै हुन्छ । मलाई के लाग्छ भने संसारभरि नै काम जानेको मान्छेको आवश्यकता छ । त्यसैले वैदेशिक रोजगारीमा जानुअघि कुन काममा जान थालेको हो, त्यसबारे सीप सिकेर मात्र जानुपर्छ ।

Leave A Comment