वैदेशिक रोजगारीले निखारिँदै

बिहिबार, २७ पुष २०७४, ०३ : २० रुद्र खड्का
वैदेशिक रोजगारीले निखारिँदै

रोजगारी प्राप्ति र ज्ञानका लागि आवश्यक ठानिएको शिक्षालाई मापन गर्ने हो भने चितवन, राप्तीनगरपालिका–४ भण्डाराकी तारादेवी सुवेदीले राम्रो आम्दानी गर्ने सम्भावना देखिँदैन ।
गुजाराका लागि निकै संघर्ष गर्नुपर्ने अवस्थामा रहेकी सुवेदीको जीवनशैली भने औसत नेपालीको भन्दा कम छैन । दुई सन्तानको शिक्षादिक्षादेखि घरव्यवहार चलाउने सबै जिम्मेवारी उनको काँधमा छ । ती सबै चुनौतीलाई उनले व्यवस्थापन गरिरहेकी छिन् । उनले गरिरहेको कामलाई लिएर न कसैले प्रश्न उठाउने ठाउँ छ ।  न कसैसँग निर्भर नै हुनु परेको छ ।

शैक्षिक योग्यताको नाममा सामान्य साक्षर उनको केही वर्षययताको मासिक आम्दानी ३०–४० हजार रुपैयाँ छ । सोही आम्दानीले उनले आफ्नो गुजारा मात्र नचलाई दुुई सन्तानको शिक्षादिक्षामा खर्च गरिरहेकी छिन् । काठमाडौं, स्युचाटारमा स्टेसनरी पसल सञ्चालन गरिरहेकी तारादेवीले यतिखेर जसरी सहजै कमाइ गरिरहेकी छिन् । त्यसरी नै उनलाई जो कोहीसँग कुराकानी र छलफल गर्न गाह्रो लाग्दैन । 

विश्वविद्यालयका उच्च शिक्षाका थुप्रै उपाधि प्राप्त गरिसकेका कैयन युवायुवतीलाई राजधानीमा गुजारा चलाउनसम्म गाह्रो परिरहेको बेला साक्षरसम्म भएकी उनले मासिक ३०–४० हजार रुपैयाँ कमाएको देख्दा धेरैलाई आश्चर्य पनि लाग्छ । २०५९ सालमा जब श्रीमानसँग सम्बन्ध बिच्छेद भयो । त्यतिखेर सुवेदीलाई लागेको थियो– अब जिन्दगी चलाउन नसकिने भयो । एकातिर हातमा औपचारिक शिक्षाको प्रमाणपत्र नहुनु र अर्कोतर्फ एकसुको आम्दानी गर्ने पेशा नहुँदा अन्य विपन्न नागरिकको जस्तै साझा पीडा थियो उनको पनि ।

त्यसमा स्कुल जाने अवस्थामा पुगिसकेका दुई सन्तानको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी पनि उनकै काँधमा थियो । अग्निलाई साक्षी राख्दै सँगै मर्ने र सँगै बाँच्ने कसम खाएका पतिले सम्बन्ध बिच्छेद गरेर गइसकेपछि उनलाई कमसेकम छोराछोरीको शिक्षादिक्षाका लागि पूर्व श्रीमानले केही सहयोग गर्लान् कि भन्ने अपेक्षा भने बाँकी नै थियो । जब उनको सम्बन्ध बिच्छेद भयो । त्यसपछि पूर्व श्रीमानले सन्तानलाई समेत फर्केर हेरेनन् ।

यस्तै जिन्दगी अलमलमा परेको बेला उनले जिन्दगी गुजार्ने अन्तिम अस्त्र प्रयोग गरिन्– वैदेशिक रोजगारी । २०६६ साउन महिनामा अस्पतालको क्लिनरमा भन्दै रिचहुड मेनपावरले उनलाई लेबनान पठायो । त्यहाँ गइसकेपछि उनले रकम त कमाइनन् नै जिन्दगी जिउनका लागि कस्तो मेहनतग गर्नुपर्ने रहेछ भनेर सिक्ने अवसर भने प्रशस्त पाइन् ।

हुन त स्वदेशमै एकातिर आफन्तले छोड्नु पर्दाको पीडा र अर्कोतर्फ आर्थिक समस्यामा पर्दा तारादेवीलाई दुःखको पर्खालले ढाकिसकेको थियो । जब उनी लेबनान पुगिन्, त्यहाँ उनले थाहा पाइन् आफूभन्दा अन्य नेपालीका कस्ता समस्या रहेछन् भनेर । कामका लागि त्यहाँ पुगेका कैयन नेपालीले २४ सै घण्टा मालिकका लागि दास हुनु परेका घटना कति हुन् कति ! समस्यामा पर्ने संख्या उस्तै ।
६० हजार रुपैयाँ असुलेको मेनपावरले अस्पतालको क्लिनर भनेर पठाए पनि उनलाई लेबनानमा ‘हाउसमेड’ को काममा लगाइयो । नेपालबाट जाने बेला दैनिक आठ घण्टा काम गर्ने बताइए पनि लेबनानमा दैनिक १६–१७ घण्टा काम गर्नु उनको दैनिकी बन्यो । ‘कुनै कुनै दिन त २४ सै घण्टा काममा जोतिनु पर्यो,’ उनले भनिन्, ‘कहिलेकाहीँ त काम गर्दागर्दै नै मर्छु कि भन्नेसम्म लाग्थ्यो ।’

वैदेशिक रोजगारीमा जानु अघिसम्म नेपालबाट सोचेभन्दा लेबनानमा निकै फरक काम गर्नु परेपछि उनलाई त्यहाँ टिक्न गाह्रो भयो । मासिक अमेरिकी तीन सय डलर पारिश्रमिक पाइने मेनपावरसँगको सम्झौता भए पनि घर मालिकले तारादेवीलाई एक सय डलरभन्दा बढी दिन नसकिने बतायो । त्यो पनि घर मालिकले मेनपावरलाई बुझाएको दुई हजार तीन सय डलर काममा चुक्ता गरिसकेपछि मात्र । महिनामा एक सय डलर कटौती गर्दै दुई हजार तीन सय डलर चुक्ता गर्नु कम्ती गाह्रो थिएन । यस्तैमा ६ महिनासम्म जसोतसो तारादेवी लेबनान बसिन् । सबै सोचविचार गर्दा लामो समय लेबनान बस्यो भने उल्टै आफ्नै क्षति हुने ठानेपछि उनलाई विदेशमा बस्न मन लागेन । र, छ महिनामै भाइलाई उद्धार गरिदिन उनले बिन्ती बिसाइन् । भाइले पनि दिदीको पीडा सहन सकेनन् । विभिन्न निकायसँग हारगुहार माग्दै छ महिनामै दिदीलाई उद्धार गरी घर फर्काए ।

घर फर्केपछिको अवस्था झन् विकराल थियो । यसपटक छोराछोरीको लालनपालन र शिक्षादिक्षा मात्र नभई लेबनान जाँदाको ६० हजार ऋण पनि थपिएको थियो । तैपनि उनले हार खाइनन् । केही वर्ष काठमाडौंका विभिन्न कार्यालयमा जस्तो काम पाइन्छ त्यसै गर्दै गुजारा चलाउने प्रयास गरिरहिन्  । यता छोराछोरी हुर्कंदै थिए । अब भने तारादेवीलाई अर्काको काम गरेर खर्च व्यवस्थापन गर्न नसकिने अवस्था सिर्जनाभयो । त्यसपछि उनले आफ्नै काम गर्ने विचार गरिन् र, त्यो अवसर जुर्यो–२०७१ साल वैशाख १० गते । पुनः उनले साढे पाँच लाख रुपैयाँ ऋण लिएर काठमाडौंको स्युचाटारमा ‘तारा स्टेशनरी’ सुरु गरिन् । त्यसपछि भने उनलाई आफू र छोराछोरीको गुजारा चलाउन खासै गाह्रो छैन । ‘बिबिएस अध्ययनरत दुई छोराछोरी र आफ्नो खर्चको जोहो यही स्टेशनरीबाट गरिरहेकी छु,’ जीवनमा भोगेका संघर्षको कहानी सुनाउँदै गर्दा उनले भनिन्, ‘वैदेशिक रोजगारीमा नगएको भए मैले सायद संघर्षको महŒव बुझ्दैन थिए होला !’ स्टेशनरी सुरु गर्दाको ऋण सकिँदै गएको उनको भनाइ छ । अबको केही समयमै ऋण चुक्ता हुनेबित्तिकै उनले स्युचाटारको पसललाई विस्तार गर्ने योजना बनाएकी छन् । ‘अब व्यापार, व्यवसाय विस्तार गर्दै समाजमा छुट्टै पहिचान बनाउने सोच छ,’ उनले भनिन् । उनको अनुभवमा वैदेशिक रोजगारीमा जान महिहत्ते गर्नुभन्दा स्वदेशमा काम गर्नु निकै राम्रो हुन्छ । उच्च सीप भएका व्यक्तिबाहेक अन्य व्यक्तिले विदेशमाभन्दा स्वदेशकै काममा जोड दिनुपर्ने उनी ठान्छिन् ।

तनहुँ, बन्दीपुर गाउँपालिका–५ की विमला ढकाललाई केही वर्ष अघिसम्म जिन्दगी कसरी अघि बढाउने खासै जानकारी थिएन । जब उनका श्रीमान रमेशले दुईपटक वैदेशिक रोजगारीमा धोका खाए त्यसपछि भने विमलाका लागि ‘दिन फिरझैं’ भएको छ । आजकाल महिनामा ४०/५० हजार रुपैयाँ कमाउन उनलाई कुनै गाह्रो छैन । ‘वैदेशिक रोजगारीमा गएका श्रीमान दुईपटक असफल भएपछि मैले गाउँमै तरकारीखेती र गाईपालन गर्ने विचार गरेँ,’ उनले भनिन्, ‘सोही निर्णयले गर्दा आज मलाई घर व्यवहार चलाउन मात्र सहज भएको छैन । वैदेशिक रोजगारीमा असफल भएका पतिलाई समेत घरमै राख्न सफल भएकी छु ।’
विमलाका पति रमेश मेनपावरलाई ३० हजार रुपैयाँ तिरेर दुबई र ७० हजार रुपैयाँ  तिरेर मलेसिया गएका थिए । तर, दुवै देशको रोजगारीबाट एक रुपैयाँ पनि कमाउन नसकेको विमलाले बताइन् । ‘विदेशमा कमाउन गएको पतिले मेनपावरलाई बुझाएको रकम पनि कमाउन नसकेपछि केही समय समस्या भएको थियो,’ उनले भनिन्, ‘तर त्यस्ता समस्यालाई वास्ता नगरी काम थाल्दा ऋण पनि तिर्न सकेँ ।’
पतिको वैदेशिक रोजगारी असफल भएपछि उनले २०६६ देखि गाईपालन र तरकारीखेती सुरु गरेको बताइन् । पाँच लाख लगानीबाट सुरु गरेकी उनीसँग यतिखेर २७ वटा माउ गाई छन् ।  खेतभरि विभिन्नखाले तरकारी भरिएका छन् । यतिखेर गाईपालन र तरकारीखेतीबाट सोचेअनुसार आम्दानी गर्न सफल रहेको बताउने विमलाले सायद पति वैदेशिक रोजगारीमा नगएको भए आफूलाई गाउँमै केही गर्नुपर्छ भन्ने सोच नआउने बताउँछिन् । ‘वैदेशिक रोजगारीको तुलनामा गाउँकै उद्यम अब्बल हुन्छ भन्नेबारे पनि म बिस्तारै बुझ्दैछु,’ उनले भनिन्, ‘विदेशमा श्रीमानले भोगेको समस्याले मलाई केही गर्नुपर्छ भन्ने सोचको विकास गर्न सघायो ।’

Leave A Comment