वैदेशिक रोजगारीमा महिलामाथि विभेद

आइतबार, १२ असार २०७३, ११ : ४२ शुक्रवार , Kathmandu
वैदेशिक रोजगारीमा महिलामाथि विभेद

महिलाका लागि वैदेशिक रोजगारीमा जान कुन उमेर उपयुक्त हो ? धेरैलाई लाग्न सक्छ– जुन उमेरका पुरुष वैदेशिक रोजगारीमा जान सक्छन्,  महिलाका लागि पनि त्यही हो । तर, वास्तविकता फरक छ । नेपालको संविधानले महिला र पुरुषबीच समानताको व्याख्या गरे पनि यथार्थमा सरकारी निकायले नै महिलामाथि अझै विभेद गर्छ भन्ने उदाहरण वैदेशिक रोजगारीमा जाने महिलालाई उमेर हद तोक्नुलाई धेरैले लिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको उमेर १८ देखि ४५ वर्ष तोकिए पनि महिलाका लागि भने देशैपिच्छे फरकफरक उमेर तोकिएको छ ।
खास गरी साउदी र इजरायल जाने महिलाका लागि उमेरको हद तोकिएकाले कतिपयले सरकारको उक्त निर्णयलाई महिलामाथि विभेदकारी प्रमाणको रूपमा लिएका छन् । संविधानले १८ वर्ष उमेर पुगेको नागरिकले राहदानी लिन सक्ने र उनीहरू जहाँसुकै जान सक्ने व्यवस्था गरे पनि श्रम तथा रोजगार मन्त्रालयले साउदीमा घरेलु कामदारको रूपमा जाने महिलाको हकमा २४ वर्ष र इजरायल जाने महिलाको हकमा २५ वर्ष पुगेको हुनुपर्ने उल्लेख गरेको छ । यदि घरेलु कामदारको रूपमा साउदी जाने महिलाको उमेर २४ र इजरायल जाने महिलाको उमेर २५ वर्ष नपुगेको खण्डमा ती देशमा जान खोज्ने महिला वैदेशिक रोजगारीमा जाने प्रक्रियाबाट नै बाहिरनुपर्ने अवस्था छ ।
सरकारले नै वैदेशिक रोजगारीमा जाने महिलाबीच उमेर हद तोकेपछि यतिखेर वैदेशिक रोजगारीको क्षेत्र तरंगित छ । पुरुषसरह हक, अधिकार हुनुपर्ने आवाज उठाउँदै आएका अधिकारकर्मीहरू सरकारी निकाय अझै पनि महिलालाई हेप्छन् भन्ने गतिलो उदाहरण साउदी र इजरायल जाने महिलाको हकमा निश्चित उमेर तोकिनुलाई ठान्छन् । पछिल्लो समयमा वैदेशिक रोजगारीले महिला सशक्तीकरण र आयआर्जनमा सहयोग पु¥याएको ठानिएको बेला सरकारले महिलालाई उमेर हद कायम गरेर वैदेशिक रोजगारीमा जानका लागि उमेर हद कायम गरिएको भन्दै विरोध गर्नेको स्वर ठूलो  भइरहेको छ । इजरायलको केयरगिभरमा जान खोजेकी बागलुङकी २३ वर्षीया सुमी शर्माले आफू जुनसुकै काम गर्न सक्षम भए पनि उमेर नपुगेको भन्दै प्रक्रियाबाट वञ्चित गराइँदा दुःख लागेको बताइन् । ‘म आफू को हुँ र के गर्न हुन्छ तथा के गर्न हुँदैन सबै थाहा छ,’ उनले भनिन्, ‘तैपनि खै किन हो कुन्नी २५ वर्ष नपुगी इजरायल जान पाइँदैन भनिँदै छ ।’ त्यस्तै दोलखाकी पार्वती थामी पनि वैदेशिक रोजगारीमा जान महिलाका लागि उमेर हद कायम गर्न नहुने ठान्छिन् । ‘वैदेशिक रोजगारीमा जाने महिला २५ वर्षपछि असुरक्षित हुँदैनन्  र ?’ उनले प्रश्न गरिन्, ‘कानुनले १८ वर्ष पुगेपछि परिपक्व ठान्छ भने सरकारले पनि त्यस्तै व्यवहार गर्नुपर्छ ।’ उमेर हद तोक्दा महिला झनै कमजोर हुने उनको ठम्याइ छ । वर्दियाकी तारा विश्वकर्मा वैदेशिक रोजगारीमा जाने महिलाको उमेरमा हद तोकिनु जायज नभएकाले सरकारले यस्तो निर्णय फिर्ता लिनुपर्ने बताउँछिन् । ‘राहदानी लिन सबैको उमेर एउटै हुनुपर्ने तर रोजगारीमा जान देशैपिच्छे फरकफरक उमेर कायम गरिनु कुनै पनि हालतमा महिलाप्रति समान नियत राखेर होइन,’ उनले भनिन् ।
हालसम्म ४२ लाख ७५ हजार ३ सय ५७ जना श्रम स्वीकृति लिएर विभिन्न देशमा जाँदा १ लाख ७८ हजार महिला रोजगारीका लागि पुगेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । तर, नेपालमा पासपोर्ट लिएका करिब चार लाख महिला कहाँ छन् भन्नेबारे भने सरकारी अधिकारीले कुनै भेउ पाउन सकेका छैनन् । पासपोर्ट लिनुको कारण वैदेशिक रोजगारीमा जानुलाई मानिए पनि हालसम्म देशभरिबाट छ लाखभन्दा बढी महिलाले पासपोर्ट लिएको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् । सरकारी अधिकारीहरू भने विगतमा वैदेशिक रोजगारीमा जाने महिलाको उमेर निश्चित नगरिँदा जथाभावी गरिएको र कैयन महिला सम्पर्कविहीन हुन पुगेको बताउँछन् । वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी घरेलु कामदारको रूपमा साउदी जाने महिलाको उमेर तोक्नुको कारण महिलालाई सुरक्षित राख्नु भएको उल्लेख गर्दै इजरायल जाने महिलाको उमेर भने इजरायल सरकारले नै तोको बताउँछन् ।

‘उमेर हदले महिलालाई अन्याय'

मञ्जु  गुरुङ, महिला अधिकारकर्मी
वैदेशिक रोजगारीमा जाने महिलालाई उमेरको हदबन्द लगाउनु हुँदैन । सरकारले नै उमेरको हद लगाउँदा महिलामाथि अन्याय भइरहेको छ । राज्यको नजरमा महिला र पुरुष समान हुन्छन् । नेपालको संविधानले पनि महिला र पुरुषबीच विभेद गर्न नपाइने स्पष्ट रूपमा व्याख्या गरेको छ । महिलामाथि उमेरको हद लगाउँदा महिलालाई झनै गैरकानुनी काम गर्न बाध्य बनाउँछ । वैदेशिक रोजगारीमा जान महिलाले अनेक उपाय खोज्दा गैर कानुनीको बाटोको सहारा लिएको देखिन्छ । त्यसैले अब महिलालाई उमेरको हद तोक्ने होइन कि यसको साटो सशक्तीकरण गर्नुप¥यो । संसारभरिका महिला १८ वर्ष पुगेपछि आफूले के काम गर्न हुन्छ र के काम गर्न हुँदैन भनेर बुभ्mने भइसकेका हुन्छन् । त्यसैले १८ वर्ष महिला र पुरुषका लागि अन्तर्राष्ट्रिय मापदण्ड तोकिएको हो । नेपाल सरकारले कायम गरे अनुसार २४, २५ वर्ष पुगेपछि मात्र महिला परिपक्व हुन्छन् भन्ने के आधार हो ? अहिलेसम्म सरकारले त्यसबारे केही पनि प्रष्ट पारेको अवस्था छैन । जीवनमा केही गर्न सक्ने प्रायः व्यक्ति १८ वर्षमा परिपक्व भइसकेका हुन्छन्  । त्यसैले महिला पनि १८ वर्ष पुगेपछि परिपक्व नहुने सवालै आउँदैन । फेरि, अर्को कुरा महिला परिपक्व भए÷नभएको जाँच्ने मेसिन के हो ? सायद महिलाको परिपक्वता नाप्ने कुनै मेसिन छैन । त्यसैले उमेर हद कायम गरिनु भनेको महिलालाई सरासर अन्यायमा पार्नु हो ।

‘महिलालाई सुरक्षित राख्न उमेर हद’


रमा भट्टराई
निर्देशक, वैदेशिक रोजगार विभाग
कतिपय महिला अझै पनि नबुझीकन वैदेशिक रोजगारीमा गएको पाइन्छ । सुरुसुरुमा मलाई पनि साउदीमा घरेलु काम गर्न तथा इजरायल जाने महिलामाथि उमेर हद कायम गरिनु महिलाप्रतिको विभेद हो कि जस्तो लागेको थियो ।  साउदीमा घरेलु कामदारका रूपमा महिला पठाउने निर्देशिकाको मस्यौदा बनाउने टोलीमा म पनि सामेल थिएँ । साउदी जाने महिलाको उमेर हद तोक्नुको कारण यौन हिंसाबाट बचाउनुलाई पनि हो । नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा २४ वर्ष पुगेका महिला प्रायः विवाहित हुने र त्यस उमेरसम्म सन्तानको पनि जन्म दिइसकेका हुन्छन् । निर्देशिकामा साउदी जाने महिलाको उमेर २४ वर्ष पूरा भएको हुनुपर्ने मात्र नभई सन्तान भए दुई वर्ष पूरा हुनुपर्ने व्यवस्था पनि गरिएको छ । यसको अर्थ वैदेशिक रोजगारीमा जाने महिला सकेसम्म जोखिममा नपरुन भनेरै हो । सुनिए अनुसार साउदीमा विवाहिता महिला र त्यसमा सन्तान भइसकेको छ भने खराब दृष्टिकोणले हेर्नु हुँदैन भन्ने सामाजिक मान्यता भएकाले पनि महिलाको उमेरलाई २४ वर्ष तोकिएको हो । यसको अर्थ कुनै पनि कारणले महिलालाई जोखिममा पार्नलाई होइन ।

वैदेशिक रोजगारीमा महिलालाई सुरक्षित राख्ने उपाय

#  सशक्तीकरणमा जोड
#  राम्रा रोजगारदाताको खोजी
#  रोजगारदातालाई जिम्मेवार बनाउने कानुनको आवश्यक
#  महिला शिक्षा
#  सीप सिकाइ
#  भाषामा प्रष्ट
#  पर्यटक भिसालाई कडाइ
#  परिवारलाई जानकारी


अफगानिस्तानमा १२ नेपालीको मृत्यु
अफगानिस्तानको राजधानी काबुलस्थित क्यानडाली दूतावासमा सुरक्षाको काम गर्दै आएका १२ नेपाली आत्मघाती विष्फोटनमा मारिएका छन् । सोमवार बिहानै बसमा कार्यालय आउँदै गर्दा तालिवान समर्थकले आत्मघाती बम विस्फोट गराउँदा उनीहरूको निधन भएको हो । युद्धरत अफगानिस्तानमा सुरक्षा गार्डमा बाहेक अन्य कामका लागि नेपाली जान पाउँदैनन् । तैपनि, पछिल्लो समयमा अवैध बाटो प्रयोग गर्दै अफगानिस्तान पस्नेको संख्या बढिरहेको सरकारी अधिकारी बताउँछन् । महिनामा कम्तीमा ५० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने भएकाले बेरोजगार युवाले अफगानिस्तान जान खोजेको बताइन्छ । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा यूएन एजेन्सी र सरकारी निकायको सुरक्षार्थ जाने पूर्व प्रहरी र सैनिकलाई मात्र श्रम स्वीकृति दिने गर्छ । तर, ठूलो संख्या युवा भारत र दुबई हुँदै अफगानिस्तान जाने गरेको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १२ सय १३ जनाले विभागबाट श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । तर, विभिन्न स्रोतका अनुसार यतिखेर १० हजार जति युवा अफगानिस्तानमा कार्यरत रहेको हुन सक्ने अनुमान गरिएको छ ।

 

Leave A Comment