मलेसियाले हटायो लेभी

बिहिबार, २८ पुष २०७३, ११ : ०४ शुक्रवार , Kathmandu
मलेसियाले हटायो लेभी

आप्रवासी कामदारको पारिश्रमिकबाट वर्षौंदेखि लिँदै आएको लेभी अबदेखि नलिने मलेसियाको गृह मन्त्रालयले घोषणा गरेको छ । आप्रवासी कामदारसँग लेभी लिँदा अन्तर्राष्ट्रिय समुदायले मलेसियाको चर्को विरोध गरिरहेका थिए । जसले गर्दा पछिल्लो दिनमा मलेसियालाई रोजगारीको गन्तव्य बनाउनेको संख्या घटिरहेको थियो । नेपाली श्रमिकको समेत मलेसिया चाहना घटिरहेको थियो । दुई वर्षअघिसम्म मलेसिया नेपाली श्रमिकको पहिलो गन्तव्य थियो भने अहिले तेस्रो स्थानमा झरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार हालसम्म करिब १० लाख युवायुवती श्रम स्वीकृति लिएर मलेसिया गए पनि अझै त्यहाँ पाँच लाख हाराहारीका नेपाली रहेको अनुमान छ । विभागले अहिलेसम्म वैदेशिक रोजगारीमा जानेको मात्र विवरण राख्ने तर फर्कनेको विवरण नराख्दा विदेशमा रहनेको यकिन संख्या भेट्न गाह्रो छ ।
मलेसियन सरकारको आप्रवासी कामदारलाई लेभी हटाउने निर्णयले नेपालसमेत लाभान्वित हुने देखिएको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङका अनुसार लेभी हटाउने निर्णय कार्यान्वयनमा आउँदा मासिक २० करोड रुपैयाँ रेमिटेन्स बढ्ने देखिन्छ । उक्त निर्णय जनवरी १ देखि लागू हुने मलेसियाका गृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीले केही दिनअघि त्यहाँको समाचार संस्था ‘बर्नामा’मार्फत जानकारी दिएका हुन् । मलेसियामा काम गर्दै आएका आप्रवासीले मासिक एक सयदेखि दुई सय रिंगिट (२५ सयदेखि ५ हजार रुपैयाँसम्म) लेभी  सरकारलाई बुझाउँदै आएका थिए ।

 

Leave A Comment