वैदेशिक रोजगारीमा महिला

बुधबार, २९ मङि्सर २०७३, १० : ४७ रुद्र खड्का , Kathmandu
वैदेशिक रोजगारीमा महिला

वैदेशिक रोजगारीमा जान व्यक्तिको उमेर कति हुुनुपर्छ ? नेपालको कानुनले १८ वर्ष पुगेको हरेक व्यक्तिलाई समान रूपमा घुमफिरको अधिकार दिएको छ ।
तर, त्यही मापदण्ड वैदेशिक रोजगारीमा जाने महिलाको हकमा खोजियो भने गलत साबित हुन्छ । किनकि, सरकारी निकायको अन्योल र श्रम तथा रोजगार मन्त्रालयले बनाएको विभेदकारी नियमका कारण १८ वर्ष पुग्नेबित्तिकै महिलाहरू आफूले चाहेको देशमा रोजगारीका लागि जान पाउँदैनन् । सरकारले महिलाको सुरक्षाका लागि नै उक्त नियम बनाइएको तर्क गर्ने गरे पनि त्यसकौ सान्दर्भिकता र औचित्यको अझै पुष्टि हुन सकेको छैन । अमेरिका, युरोपजस्ता मुलुकमा १८ वर्ष पुगेका महिलालाई जान दिने कानुन बनाएको सरकारले खाडी मुलुकमा घरेलु कामदारको रूपमा जान तथा इजरायलमा उमेरको मापदण्ड तोक्नुको कुनै अर्थ नभएको नेपाली श्रम बजारमा चर्को आवाज उठिरहेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, कुबेत, बहराइन, लेबनान र मलेसियामा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर २४ वर्ष तोकेको छ भने इजरायलमा केयरगिभरमा जान २५ वर्ष पुगेको हुनुपर्ने नियम बनाएको छ । जबकि, अन्य जुनसुकै देशमा जान उमेरको मापदण्ड छैन । १८ वर्ष उमेर पुगेपछि राहदानी लिएका महिला जुनसुकै देशमा जान सक्छन् । वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराई महिलाका लागि केही असुरक्षित मानिएका देशमा जाँदा न्यूनतम उमेरको मापदण्ड बनाउँदा त्यसले महिलालाई सुरक्षा प्रदान गर्न सक्ने ठान्छिन् । तर, अधिकारवादीहरू भने सरकारको त्यस्तो निर्णय महिलामाथिको विभेद भएको गुनासो गर्छन् । ‘वैदेशिक रोजगारीमा जाने महिलाको उमेरमा फरकफरक मापदण्ड तोकिनुभन्दा वैदेशिक रोजगारीमा जान खोज्नेलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेबारे चेतना दिनु न्यायपूर्ण हुन्छ,’ वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्दै आएका व्यक्तिहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएको पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल भन्छन् ।
सोही अस्पष्ट सरकारी नीतिका कारण यतिखेर कैयौँ महिलाले मार खेपे पनि उनीहरूको पीडा सुनिदिने कोही छैन । इजरायलमा केयरगिभरको काम गर्न जान खोजेकी पाँचथरकी पार्वती लिम्बू २५ वर्ष नपुग्दा अघिल्लो वर्ष फारम भर्नबाटै वञ्चित भएको बताउँछिन् । ‘म को हुँ ? के काम गर्न हुन्छ र हुँदैन भन्नेबारे सबै जानकारी छ,’ बीएस्सी नर्सिङको अध्ययनसमेत सकेकी २३ वर्षीया लिम्बूले भनिन्, ‘इजरायल जान २५ वर्ष न्यूनतम उमेर तोकिएका कारण अरू दुई वर्ष बेरोजगार भएर बस्नुप¥यो । नभए स्वदेशमै कम पारिश्रमिकमा काम गर्नुप¥यो ।’ लिम्बूको विचारमा सक्षम युवायुवतीका लागि २५ वर्ष पर्खाउनु भनेको अलपत्र पार्नुजस्तै हो । उनी भन्छिन्, ‘काम गर्न सक्ने बेला २५ वर्षसम्म पर्खाउनु महिलामाथि अत्याचार हो । महिलाको क्षमतामाथि विश्वास नगर्नु हो ।’ पुरुषलाई विदेश जाँदा १८ वर्ष पुग्ने भए पनि महिलालाई उमेर मापदण्ड तोक्दा महिलालाई झनै परनिर्भर बनाउने र त्यस्तो काम सरकारी निकायले नै गरेको पाउँदा लिम्बूले निकै दुःख लागेको बताइन् ।
संविधानले १८ वर्ष पुगेका नागरिकलाई जुनसुकै मुलुकमा जानसक्ने व्यवस्था गरेको बेला श्रम तथा रोजगार मन्त्रालयले साउदी र इजरायलका लागि छुट्टै निर्देशिका बनाएर उमेरको मापदण्ड तोकेपछि यतिखेर नेपाली श्रम बजार विभाजित हुँदै आएको छ । खाडी मुलुक जाने महिलाका लागि न्यूनतम उमेर २४ वर्ष कायम गरेपछिको व्यवस्थाअनुसार ती मुलुकमा घरेलु कामदारको रूपमा जाने क्रम केही महिनाअघि मात्र सुरु भएको छ । त्यस्तै, इजरायलमा केयरगिभरको काम गर्न न्यूनतम उमेर २५ वर्ष कायम गरेपछि चार महिनाअघि पहिलो चरणमा ५९ जना इजरायल उडिसकेका छन् ।
एक वर्षभित्र इजरायलमा केयरगिभरका लागि तीन सय पठाउने दुवै देशका अधिकारीबीच सहमति भए पनि सरकारी निकायको ढिलासुस्तीले बाँकी इजरायल पठाउने प्रक्रिया अघि बढेको छैन । जीटूजी  (दुवै देशका सरकारी निकाय) प्रक्रियाबाट तीन सय जनालाई इजरायल पठाउने उक्त कार्यलाई ‘पाइलट प्रोजेक्ट’ भनिए पनि सुरुको चरणमै ढिलासुस्ती भएपछि अबको प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे अन्योल सिर्जना भएको छ ।
वैदेशिक रोजगार विभागका अधिकारी पहिलो चरणमा चार महिनाअघि इजरायल पुगेका ५९ जनाको अवस्था बुझेपछि मात्र अर्को प्रक्रिया सुरु गर्ने बताउँछन् भने इजरायल जान खोजेका युवायुवती ढिलासुस्ती गर्न सरकारी निकायले विभिन्न बहाना गरिरहेको आरोप लगाउँछन् । विभागकी प्रवक्ता रमा भट्टराई इजरायलको केयरगिभर रोकिँदा ठूलो संख्याको युवायुवतीको सोधीखोजीले हैरानी भए पनि दोस्रो चरणको कार्यक्रम सुरु गर्दा एकपल्ट इजरायल पुगेकाहरूको अवस्था बुझ्ने हो कि भन्ने सोच रहेको बताउँछिन् । ‘फेरि इजरायली पक्षबाट पनि कामदार चाहियो भनेर खबर आएको छैन,’ उनी भन्छिन्, ‘उताबाट पनि माग नआएको र त्यताबाट पहल नभएपछि इजरायलको दोस्रो चरणको कार्यक्रममा केही ढिलाइ भइरहेको हो ।’ फेरि विभागमा पटकपटक फेरिने नेतृत्वका कारणले पनि उक्त कार्यक्रम पछि सर्दै आएको बताइन्छ । इजरायलको केयरगिभरको कार्यक्रम सुरु भएको साढे एक वर्षको अवधिमा विभागमा तीन जना महानिर्देशक परिवर्तन भइसकेका छन् भने निर्देशकहरूको सरुवाको अवस्था पनि त्यस्तै छ । इजरायल जान खोजेका युवायुवती भने सरकारी निकायको अक्षमताको मार सर्वसाधारणले भोग्न नहुने ठान्छन् ।


‘सुरक्षाका लागि मापदण्ड’
रमा भट्टराई
प्रवक्ता, वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगारीमा जाने महिलाको उमेरमा फरकफरक मापदण्ड राखिएपछि मैले त्यसबारे कुरा उठाएकी थिएँ । तर, पनि जसले उक्त नियम बनाएका हुन् उनीहरूका अनुसार महिलाको परिपक्वताका लागि नै फरकफरक उमेर कायम गरेको सुन्न पाइन्छ । इजरायलको हकमा चाहिँ महिला र पुरुषकै उमेर न्यूनतम २५ वर्ष हुनुपर्ने व्यवस्था गरिएको छ भने खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिलाको हकमा भने न्यूनतम २४ वर्ष उमेर कायम गरिनुको कारण सांस्कृतिक पक्ष पनि छ । खास गरी नेपालमा २४ वर्षको उमरेसम्म विवाह हुने र त्यसपछि खाडी जाँदा महिलामाथि यौन हिंसा हुँदैन कि भनेर उक्त नियम बनाइएको जस्तो लाग्छ । विवाहित महिलालाई त्यहाँ आँखा नलगाउने ठानेरै न्यूनतम उमेर २४ वर्ष कायम गरिएको हो । यसको मूल उद्देश्य महिलालाई सुरक्षित गर्नु नै हो ।  

‘उमेरको मापदण्ड विभेद हो’
सुदीप देवकोटा
अधिवक्ता, पिपुल फोरम

कानुनले महिला र पुरुषबीच समानताको व्यवस्था गरेको छ । तैपनि, सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको उमेरमा फरकफरक मापदण्ड तोक्नु भनेको महिला र पुरुषबीच विभेद गरेको प्रमाण हो । यसबारे हामीले पटकपटक कुरा उठाइरहेका छौँ । वैदेशिक रोजगारीमा जान पुरुष १८ वर्ष पुगेको हुनुपर्ने तर महिलाको उमेर २४÷२५ वर्ष नाघेको किन हुनुपर्ने ? यसको कुनै न्यायिक तर्क देखिँदैन । खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा  पठाउने निर्देशिकामा महिलाको उमेर २४ हुनुपर्ने उल्लेख छ भने इजरायलको केयरगिभरमा जाने महिलाको उमेर २५ वर्ष तोकिएको छ । राज्यले आफ्ना नागरिकमाथि यस्तो विभेद गर्नु हुँदैन । महिलालाई उमेरलगायत मापदण्डको आधारमा विभेद गर्ने कानुन बनाउनुको साटो रोजगारदाता मुलुकसँग श्रम सम्झौता गरेर बलियो पार्नु पर्छ । सरकारले वैदेशिक रोजगारीमा जाने महिलालाई सीप, शिक्षा र चेतना बढाएर सशक्त बनाउनुपर्छ । यतिखेर कतिपय व्यक्ति महिलालाई वैदेशिक रोजगारीमा पठाउनु हुँदैन भन्ने ठान्छन् । त्यसो गरियो भने समस्या झन् बढ्छ । कुनै पनि व्यक्तिलाई यसो गर र त्यसो गर भन्नुको साटो जति सकिन्छ बढी चेतना दिने हो । बाँकी निर्णय गर्ने अधिकार व्यक्तिको हो ।

‘उमेर होइन, क्षमता महŒवपूर्ण’
सोनु महर्जन, कीर्तिपुर
काठमाडौँको घरजग्गा कारोबार कम्पनीमा काम गर्दागर्दै दुबई जाने निर्णय गरेकी हुँ । यहाँ पाइने मासिक १० हजार रुपैयाँ मात्रले गुजारा गर्न गाह्रो भयो । त्यसैले दुबई जाने निर्णय गरेकी हुँ । दुबईमा मैले गर्ने अजुमान होस्टेलको प्रशासनिक काम हो । मासिक तलब करिब ७० हजार रुपैयाँजति हुन्छ । महिलालाई राम्रो काम र पारिश्रमिक छैन भने वैदेशिक रोजगारीमा जानु हुँदैन जस्तो लाग्छ । र, उमेरमा पनि विभेद गर्नु हुँदैन । १८ वर्ष पुगेपछि महिला र पुरुषलाई समान व्यवहार गर्नुपर्छ । उमेरको फरकफरक मापदण्डले महिलालाई खासै सुरक्षित राख्दैन । मेरा विचारमा राम्रो पारिश्रमिक पाउन उमेरभन्दा सीप र क्षमता महŒवपूर्ण हुन्छ ।

‘महिलालाई कमजोर ठानियो’
पार्वती लिम्बू, पाँचथर
साउदीमा घरेलु कामदार तथा इजरायलमा केयरगिभरको काम गर्न जाने महिलाको हकमा श्रम तथा रोजगार मन्त्रालयले उमेरको हदबन्दी लगाएको देख्दा नमज्जा लाग्यो । संसारभरि नै १८÷१९ वर्ष पुगेका युवायुवतीलाई परिपक्व भएको मानिन्छ । तर, नेपालमा भने २४÷२५ वर्षसम्म रोकेर राख्न खोज्नु महिलालाई कति कमजोर ठानिन्छ भन्ने गतिलो उदाहरण हो । यो नेपाली महिलामाथि राज्यले गरेको अन्यायपूर्ण व्यवहार हो । कुनै एक÷दुई जना महिलाको कमजोर क्षमताकै कारण सबै महिलालाई २४÷२५ वर्षसम्म परिपक्व नठान्ने सरकारी सोच बुझिनसक्नु छ । कामका लागि विदेश जान २४÷२५ वर्षसम्म कुराएर राख्नु कतै पनि तर्कसंगत देखिँदैन । विदेशमा यौन शोषणको तर्क गर्ने हो भने पनि २०÷२२ वर्षको मात्र समस्या हुने २४÷२५ वर्षपछि त्यस्तो समस्या नहुने भन्ने हुँदैन । २४÷२५ वर्षको उमेर पार गर्नेबित्तिकै महिलाको यौन क्षमता कमजोर हुने पनि होइन । मेरो विचारमा १८ वर्ष नाघेका युवायुवतीले आफू अनुकूल हुने जस्ता पनि निर्णय लिन सक्छन् ।  १८–२० वर्षमा परिपक्व हुन नसकेका महिला ३५–४० वर्षमा पनि परिपक्व हुन सक्दैनन् ।


कुन वर्ष कति महिला विदेश गए ?
आर्थिक वर्ष    संख्या
२०६३/६४      २९०
२०६४/६५    ४,६८५
२०६५/६६    ८,५९४
२०६६/६७    १०,०५६
२०६७/६८    १०,४३६
२०६८/६९    २२,९५८
२०६९/७०    २७,७४२
२०७०/७१    २८,९६६
२०७१/७२    २२,०२८
२०७२/७३    १७,९४२
जम्माः       १,५३,७४८
    
स्रोतः वैदेशिक रोजगार विभाग

 

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17