पोखरामा पहिलो नाटकघर

शनिबार, २५ मङि्सर २०७३, १० : ५७ मनोज घर्तीमगर , Kathmandu
पोखरामा पहिलो नाटकघर

पोखरामा नाटक मञ्चन गर्दा कलाकारको एउटै गुनासो हुन्थ्यो– नाटकघर भएन । अब पोखरेली रंगकर्मीले त्यस्तो गुनासो गर्न पाउने छैनन् । युथ क्रिएसन थिएटरले गएको असारदेखि पोखरा, नागढुंगामा निर्माण थालेको नाटकघर पूरा हुने क्रममा छ ।
सामाजिक सञ्जाल अनि भेटघाट गरी विभिन्न व्यक्तिसँग सहयोग उठाएर सुरु गरिएको नाटकघरको ७० प्रतिशत निर्माणको काम सकिएको छ । १ सय ६० सिट क्षमताको नाटकघर निर्माण भएपछि यहाँको नाटक मञ्चनले तीव्रता पाउने क्रिएसनको विश्वास छ । नाटक मञ्चन गर्न राम्रो हल नभएकाले नाटकघर बनाउन तम्सिएका हौँ,’ युथ क्रिएसन थिएटरका अध्यक्ष कपिल शर्मा भन्छन्, ‘विभिन्न अभियान चलाएर नाटकघर निर्माण गरेका हौँ । सबैको सहयोगले नाटकघर निर्माण सकिन लागेको छ ।’
नाटकघर निर्माण गर्न उनीहरूले थुप्रै हन्डर खाएका छन् । नाटकघर बनाउन तम्सिएको युथ क्रिएसन थिएटरले सहयोग जुटाउन ¥यान्डम रिडर्ससँग मिलेर ‘परोपकारी कविता वाचन’ ग¥यो । लगत्तै काठमाडौँको थिएटर मलका रंगकर्मीद्वारा तयार गरिएको ‘मान भर्सेस मति’ नाटक मञ्चन गरेर पनि केही रकम जुटाउने प्रयास ग¥यो । ‘नाटकघर पूरा हुन अब केही हप्ता लाग्छ,’ नाटकघर निर्माणका संयोजकसमेत रहेका थिएटरका सचिव सौगात पोखरेलले भने ।
विसं. २०२७ सालमा भूपू ब्रिटिस आर्मीका क्याप्टेन मीनबहादुर गुरुङले पोखराको बगरमा डाँफे कला मन्दिरको स्थापना गरेर नाटक मञ्चन, नेपाली लोकगीत र लोकनृत्य प्रदर्शन गरेका थिए । त्यसकै बाटो पछ्याउँदै पोखरेली युवा सांस्कृतिक परिवार, युवा नाट्य परिवार, क्षितिज नाट्य समूह, दीर्घजीवी नवप्रतिभा नाट्य परिवार, ऊँ कला मन्दिर, जमर्को प्रतिभा समूह, सिर्जनशील कला समूहजस्ता दर्जनौँ नाट्य संस्थाले पोखरामा थुप्रै नाटक मञ्चन गरे । तर, त्यसका लागि उनीहरूले सधैँ नाटकघरको अभाव महसुस गरिरहे । तर, अब कुनै पनि नाट्य समूहले त्यो अभाव महसुस नगर्ने रंगकर्मी विभु भुसाल बताउँछन् । ‘तीसको दशकमा पोखरा लोकनाटकका लागि चर्चित थियो । अहिले पनि यहाँ दर्शकको कमी छैन,’ भुसाल भन्छन्, ‘तर, जहिले पनि नाटक मञ्चन गर्ने गतिलो हल नहुँदा हैरानी बेहोर्नुपथ्र्यो । त्यसैले हामी नाटकघर निर्माणमा जुटेका हौँ ।’
नाटघकर निर्माणपछि नियमित नाटक मञ्चन, अभिनयको तालिम दिनेलगायत काम हुनेछन् । अरू रंगकर्मीलाई समेत सहज हुने थिएटरको विश्वास छ । ‘केही रकम तिरेर अरूले पनि नाटक मञ्चन गर्न सक्ने भएकाले सबैलाई सजिलो हुनेछ,’ भुसालले भने ।

 

Leave A Comment