कोरिया जान लालायित नेपाली महिला

बुधबार, २२ मङि्सर २०७३, ०९ : ५४ रुद्र खड्का , Kathmandu
कोरिया जान लालायित नेपाली महिला

स्वदेशमा रोजगारीको अवसर नपाउँदा पछिल्लो समय कामका लागि दक्षिण कोरिया जाने महिलाको संख्या बढेको छ ।
अन्य मुलुकको तुलनामा रोजगारीका लागि कोरिया जान विभिन्न प्रक्रियामा सफल हुनुपर्ने प्रावधान राखिएको भए पनि नेपाली महिलाले आफूलाई प्रतिस्पर्धी बनाउँदै कोरिया सपना पूरा गरिरहेका छन् । जीटूजी (दुवै देशका सरकारी निकाय सामेल) प्रक्रियाबाट कोरिया जाँदा ठगीमा नपर्ने तथा पारिश्रमिक पनि राम्रो पाइने भएकाले महिलाको आकर्षण बढेको हो । कामका लागि कोरिया जान अहिलेसम्म जीटूजी प्रक्रिया मात्र अवलम्बन गरिएको छ । कुनै पनि म्यानपावरलाई कोरिया पठाउने अनुमति दिइएको छैन ।
सन् २००७ देखि सुरु भएको कोरिया रोजगार अनुमति प्रणाली अन्तर्गतको कार्यक्रमअनुसार कोरियाले सन् २००८ देखि नेपालबाट कामदार लैजान थालेको हो । कोरियाले नेपाली कामदार लैजान थालेपछि नेपालमा वैदेशिक रोजगार विभागअन्तर्गत कोरिया रोजगार प्रणाली (ईपीएस कोरिया) शाखा गठन गरिएको छ । कोरियन अधिकारीको सहभागितामा उक्त शाखाले कोरिया जान इच्छुक युवायुवतीलाई सहयोग पु¥याउँदै आएको छ । कोरिया जानका लागि आवश्यक पर्ने भाषा परीक्षा, प्रश्नपत्र तयार, उत्तरपुस्तिका परीक्षणजस्ता महŒवपूर्ण काममा कोरियन अधिकारीको प्रत्यक्ष संलग्नता रहन्छ भने नेपाली अधिकारीले उनीहरूलाई सहयोग गर्ने गर्छन् । कोरियामा कस्तो जनशक्तिको आवश्यकता छ भन्नेबारे कोरियन अधिकारीले नै निर्णय गर्छन् । हाल कोरियाले नेपालका युवायुवतीलाई कृषि र निर्माण क्षेत्रमा काम गर्न लैजाने गरेको छ ।
पछिल्लो समय सरकारमा रहने व्यक्तिहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाउने गरे पनि त्यसअनुसार स्वदेशमा पूर्वाधार नहुँदा वर्षेनि श्रम गर्न सक्ने उमेरका युवायुुवती विदेश पलायन भइरहेका छन् । कोरियामा कृषि कार्य गर्न जानु पनि सरकारी ठोस नीतिको अभाव रहेको उदाहरण हो । पछिल्लो समय पुरुष मात्र नभई महिला पनि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने क्रमसँगै कोरिया जानेको संख्या वृद्धि भइरहेको हो ।
ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारी पछिल्लो समयमा कोरिया जान महिलाको चासो बढेसँगै भाषा परीक्षा उत्तीर्ण गर्ने महिलाको संख्या पनि वृद्धि भएको बताउँछन् । भाषा परीक्षा उत्तीर्ण गर्न निकै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले ईपीएस कार्यक्रम सुरु भएको पहिलो र दोस्रो वर्ष निकै कम महिलाले भाषा परीक्षा उत्तीर्ण गर्न सफल भए पनि कार्यक्रमको तेस्रो वर्षदेखि भने प्रतिस्पर्धा गर्ने महिलाको संख्याको साथै भाषा परीक्षा उत्तीर्ण गर्नेको संख्या उल्लेख्य बढिरहेको भण्डारीले बताए । सन् २००८ मा ३ सय ८० महिलाले भाषा परीक्षा उत्तीर्ण गरेर ८१ जना मात्र कोरिया उड्न सकेकोमा सन् २०११ मा १ हजार ५ सय ९८ महिलाले भाषा परीक्षा उत्तीर्ण गर्न सके ।
ईपीएस कोरिया शाखाका अनुसार सन् २००८ देखि हालसम्म ५० हजार ३ सय ६५ युवायुवतीले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका छन् । जसमध्ये अहिलेसम्म ४० हजार ९ सय ४५ जना कोरिया पुगेर काम थालिसकेका छन् । ४५ हजार ९ सय ९१ पुरुषले भाषा परीक्षा उत्तीर्ण गर्दा ४ हजार ३ सय ७४ महिला पनि भाषा परीक्षामा सफल भए । वर्षेनि भाषा परीक्षा उत्तीर्ण हुने महिलाको संख्या वृद्धि हुँदै गए पनि कोरिया उड्ने महिलाको संख्या भने पुरुषको तुलनामा अझै कम छ । हालसम्म ४५ हजार ९ सय ९१ पुरुषले भाषा परीक्षा उत्तीर्ण गरी ४० हजार ९ सय ४५ जना कोरिया उडिसकेकोमा भाषा परीक्षा उत्तीर्ण गर्ने महिलाको संख्या ४ हजार ३ सय ७४ छ भने २ हजार ६ सय ६४ महिला रोजगारीका लागि कोरिया जान पाएका छन् ।
शाखाका अधिकृत भण्डारी गएको भदौदेखि कोरियन रोजगारदाताले बढी संख्यामा कामदार बोलाइरहेकाले भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा सफल भएका धेरै युवायुवती कोरिया जान पाउने बताए । सन् २००८ यता भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा सफल भएका १० हजारभन्दा बढी व्यक्ति अझै कोरिया जान पाएका छैनन् । भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा सफल भए पनि कोरियन रोजगारदाताले नबोलाएसम्म कुनै पनि व्यक्ति कोरिया जान पाउँदैनन् । भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा सफल भएका व्यक्तिहरूको नाम कोेरियाको मानव संशाधन विभागले रोस्टरमा राखेपछि दुई वर्षभित्र ती व्यक्ति रोजगारीका लागि कोरिया पुगिसक्नुपर्छ । रोस्टरमा नाम प्रकाशित भएको दुई वर्षभित्र कोरिया जान नसके त्यस्ता व्यक्तिले पुनः भाषा परीक्षा लगायतका सबै प्रक्रिया सुरुवाती चरणदेखि नै पूरा गर्नुपर्छ ।
कोेरियाको मानव संशाधन विभागले सफल व्यक्तिको नाम रोस्टरमा प्रकाशित गरेपछि मात्र त्यहाँका रोजगारदाताले नेपालबाट कामदार बोलाउने अहिलेको प्रचलन हो । ‘त्यसैले हामीले भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी होइन भन्दै आएका छौँ,’ भण्डारीले भने, ‘भाषा परीक्षामा सफल भएकालाई कोरियन रोजगारदाताले नबोलाउन पनि सक्छन् ।’ कोरियन रोजगारदाता नेपाली कामदार बोलाउँदा त्यस्ता व्यक्तिले गर्ने कामको सैद्धान्तिक र प्रयोगात्मक सीप परीक्षण गर्ने व्यवस्था मिलाइएको हुन्छ । भण्डारीका अनुसार रोजगारदाताले चाहने हो भने कामदारले नेपालमा सिकेको भाषा परीक्षाको ज्ञान मात्र नभई सम्बन्धित कामप्रति उसको प्रयोगात्मक ज्ञान पनि भिडियोमार्फत जान्ने व्यवस्था मिलाइएको हुन्छ ।
‘कोरियामा सामाजिक सुरक्षा राम्रो छ’
बाबुराम खतिवडा
ईपीएस कोरिया शाखा प्रमुख
कोरिया रोजगारीका दृष्टिकोणले मात्र नभई बसाइ र सुरक्षाको दृष्टिकोणले पनि राम्रो छ । पछिल्लो समय उच्च आर्थिक वृद्धि गरेकाले अर्थतन्त्र सुधारेको त छँदैछ, त्यहाँ महिलाविरुद्ध हुने हिंसा पनि निकै कम भएको छ । त्यहाँको वातावरण स्वतन्त्र छ । आफूले के काम गर्ने हो, त्यतिमा ध्यान दिएपछि बाँकी कुराका लागि कोहीसँग हारगुहार गर्न पर्दैन । राम्रो प्रगति गरिरहेको देश भएका हुनाले त्यहाँ कामदारलाई विभिन्न सुविधा हुने नै भए ।

‘जाने प्रयासमा एक लाख सकियो’
मिनु मोक्तान, नुवाकोट
कोरिया जानका लागि लामो समयदेखि भाषा सिक्दा र अन्य व्यवस्थापनका लागि एक लाख रुपैयाँ सकियो । आफ्नो मान्छे नहुँदा  स्वदेशमा जागिर पाउन सकिएन । कोरिया जानुको उद्देश्य पैसा कमाउनु नै हो । गत वर्ष पनि कोरिया जाने प्रयास गरेको थिएँ । तर, भएन । यसपटक सफलता पाउने आशा छ । सुनिएअनुसार कोरिया अन्य मुलुकको तुलनामा राम्रो छ । त्यसैले अन्य काम छाडेर भए पनि कोरिया जाने प्रयासमा छु ।

‘विदेशिनुको विकल्प छैन’
विपना राई, ओखलढुंगा
गत वर्ष पनि कोरियन भाषा पढेकी थिएँ । यसपटक पनि पढेँ  । देशमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता आइपरेको हो । अन्य देशमा जानुभन्दा कोरिया जानु निकै राम्रो छ जस्तो लाग्छ । पहिलो त सरकारी निकायले नै पठाउने भएकाले ठगिने सम्भावना कम भयो । अर्को जाँदा लाग्ने लागत कम छ भने कोरियामा राम्रो पारिश्रमिक र करिब चार वर्षसम्म बस्न पाइने भएकाले पनि त्यहाँ जान आकर्षण बढेको हो ।
यति हुँदाहुँदा पनि स्वदेशमा काम पाइने भए परिवार छाड्ने रहर त कसलाई हुन्छ र ? देशका  नेता ठूला कुरामात्र गर्छन् ।  सुखसुविधामा लिप्त छन् । यस्ता नेता, कर्मचारीको मुखै देख्न नपाए हुन्थ्यो भन्ने लाग्छ । राम्रो नीति हुने हो भने नेपालमा धेरै गर्न सकिन्छ जस्तो लाग्छ । तर, के गर्ने नेता र कर्मचारी कमाउन मात्र खोज्छन् । युवा विदेशिनुको विकल्प छैन ।

कुन वर्ष कति महिला कोरिया पुगे ?

वर्ष (सन्मा)    भाषा परीक्षा उत्तीर्ण हुने महिलाको संख्या    कोरिया उडेका महिलाको संख्या
२००८     ३८०      ८१
२००९    –      ६४
२०१०     ४४६     ४२२
२०११    १,५९८     १३७
२०१२    –     ३९५
२०१३    ७१५     १८३
२०१४     २००     ४४१
२०१५    ७०१     ४०६
२०१६     ३३४     ५३५
जम्मा    ४,३७४    २,६६४


हालसम्म कोरिया जान खोज्ने र गएकाको विवरण
वर्ष सन्मा    भाषा परीक्षा प्रतिस्पर्धी    उत्तीर्ण    कोरिया उडेका
२००८    ३१,५२५    ६,७८६    २,८१४
२००९    –    –    १,९११
२०१०    ३६,२०३    ४,१८०    २,३३९
२०११    ५०,०४३    १५,६७८    ३,९८३
२०१२    –    –    ६,३३२
२०१३    ४४,१२२    ८,०५१    ५,०४६
२०१४    ५८,७४६    ३,६६३    ६,०२८
२०१५    ५१,१३७    ८,४९०    ५,८६६
२०१६    ६०,६२६    ३,५१७    ६,६२६
जम्मा    ३,३२,४०२    ५०,३६५    ४०,९४५
स्रोतः ईपीएस कोरिया शाखा

 

Leave A Comment