वैदेशिक रोजगारीलाई सुधार्ने बेला

बुधबार, ०८ असार २०७३, १० : ३५ रुद्र खड्का , Kathmandu
वैदेशिक रोजगारीलाई सुधार्ने बेला

तीन महिनादेखि कास्की, थुमौका–५का झलक गुरुङ न राति सुत्छन्, न दिनमा चैनले बस्न सकेका हुन्छन् । थिलथिलो परेको घरको आर्थिक अवस्था सुधार हुने  आशाले छोरा राजुलाई  वैदेशिक रोजगारीमा पठाएका झलक छोरा दुबईमा तीन महिनादेखि अलपत्र परेको खबर पाउँदा बेचैन भएका हुन् । दीपगेस्ट म्यानपावरलाई एक लाख रुपैयाँ बुझाएर छोरालाई  वैदेशिक रोजगारीमा पठाएका झलकले केही महिनामै विदेशबाट रकम प्राप्त गर्ने आशा गरेका थिए । ‘दुबई गएको एक महिनादेखि नै छोराले कमाउन थाल्ने आशा थियो,’ ५८ वर्षीय झलकले भने, ‘कमाई पठाउँला भन्ने आशा गरेको उल्टै छोरा दुबईमा अलपत्र परेको खबर आयो । अब कसरी छोरालाई उद्धार गर्ने र म्यानपावरलाई बुझाएको रकम फिर्ता गर्ने भन्ने समस्या आइलागेको छ ।’
दुबई पुगेदेखि नै रोजगारदाताले काम नदिएको खबर सुनेपछि छोराको उद्धारमा सहयोग जुटाउन पोखराबाट पटकपटक काठमाडौँ आवतजावत गर्दा थप ५० हजार रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ । राजुको उद्धारका लागि म्यानपावर, वैदेशिक रोजगार विभागलगायत निकायमा धाउँदा पनि कसैले सहयोग नगरेको उनको गुनासो छ । ‘भेट्ने जतिलाई छोराको उद्धारमा सहयोग पु¥याउन आग्रह गरिरहेको छु,’ उनले भने, ‘उद्धारका लागि जति रकम चाहिन्छ जग्गा बेचेर जुटाउँछु भन्दा पनि कसैले टेरपुच्छर लगाउँदैनन् ।’
कास्की, फेवातालको तालवारि बस्दै आएका लालबहादुर गुरुङको हालत पनि यतिखेर झलकजस्तै छ । रोजगारीका लागि तीन महिनाअघि दुबई उडेका उनका छोरा विवेकले पनि अहिलेसम्म त्यहाँ रोजगारी पाउन सकेका छैनन् । राजुसँगै दुबई उडेका विवेक पनि अलपत्र परेको खबर पाएपछि सबै काम छाडेर लालबहादुर यतिखेर काठमाडौँमा छोरा उद्धारमा सहयोग गर्नेको खोजीमा छन् । ‘कमाई थाप्ने बेला उल्टै छोरा अलपत्र परेको सुन्दा मराँै कि बाचौँ जस्तो भइरहेको छ,’ लालबहादुरले भने, ‘तर, यस्तो बेला म्यानपावर र विभागका कर्मचारी सहयोग गर्नुको साटो रमिते जस्तै भएका छन् ।’ लालबहादुरका अनुसार दुबईमा अलपत्र परेका विवेक र राजुले छिटो उद्धार गरिदिन भन्दै दिनमा चारपाँच पटक फोन गरिरहेका हुन्छन् । दुबईमा अलपत्र परेका उनीहरूले दुबईमा चिनेजानेका व्यक्तिले दिएको ऋणबाट गुजारा चलाइरहेको पीडितले जनाएका छन् । झलकका अनुसार नेपालबाट म्यानपावरले क्लिनरको काम भनेर दुबई पठाए पनि त्यहाँ रोजगारदाता कम्पनीले कामै दिन मानेको छैन ।
पलाउ जाने भन्दै ५ लाख ८० हजार रुपैयाँ दलाललाई बुझाएका दाङ, पुरन्धारा–२ हापुरेका डम्बर ओली रकम बुझाएको एक वर्ष बितिसक्दा वैदेशिक रोजगारीमा त जान पाएनन् नै । अहिले रकम लिने गोविन्द बस्नेत सम्पर्कविहीन भएपछि सहयोगको याचना गर्दै राजधानीका गल्लीगल्ली चहारिरहेका छन् । पलाउ जाने भन्दै बस्नेतले ओलीलाई साढे दुई महिनासम्म थाइल्यान्ड पु¥याएका थिए । मासिक एक लाख रुपैयाँ पारिश्रमिक पाउने जागिरको खोजी भइरहेको भन्दाभन्दै साढे दुई महिना बितेपछि ओली थाइल्यान्डबाट रित्तो हात घर फर्काइएका थिए । ‘थाइल्यान्ड लिएर राख्नु भनेको ठगी गर्नलाई रहेछ,’ उनले भने, ‘वैदेशिक रोजगारीमा बढिरहेको विकृति नरोक्ने हो भने समाजमा अपराधका घटना निकै बढ्छन् ।’  
राम्रो पारिश्रमिक पाइने वैदेशिक रोजगारीको लोभमा पर्दा भएको सम्पत्ति गुमाएका राजु, विवेक र डम्बर पीडितको सूचीमा रहेका केही उदाहरण मात्र हुन् । स्वदेशमा काम गर्ने अवसर र वातावरण सिर्जना हुन नसक्दा वैदेशिक रोजगारी अपरिहार्य  ठानेका युवायुवती वैदेशिक रोजगारीको आडमा दिनप्रतिदिन ठगिने क्रम बढे पनि सरोकारवाला निकायले समस्या समाधानका लागि पहल नगरेको भन्दै गुनासो गरिरहेका हुन्छन् । खास गरी म्यानपावर र एजेन्टद्वारा ठगीमा परेका युवायुवतीलाई सरोकारवाला निकायले न्याय र क्षतिपूर्ति दिलाउन नसकेपछि त्यसको असर समाजमा अपराधीकरण बढ्दै जाने धेरैको धारणा छ । महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी सिद्धिविक्रम शाहका अनुसार पछिल्लो समयमा वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै दैनिक सरदर १० वटा उजुरी प्रहरीमा पुग्ने गरेका छन् । ‘वैदेशिक रोजगारीको क्रममा ठगिएकाको विवरण हेर्दा त्यसले समाजमा अपराधीकरण वृद्धि हुने संकेत गर्छ,’ शाहले भने, ‘वैदेशिक रोजगारीका कारण परिवारमा समेत कलह निम्त्याएको पाइन्छ ।’ धेरैजसो ठगी र शोषण आफन्तबाटै हुने भएकाले अपराधको शृंखला वृद्धि हुन सक्ने प्रहरीको आंशका छ । वैदेशिक रोजगारीको क्रममा पीडित भएकाहरूलाई कानुनी सहायता उपलब्ध गराउँदै आएको पिपुल फोरमका अधिवक्ता कृष्णप्रसाद न्यौपाने वैदेशिक रोजगार विभागले कानुनले दिएको अधिकार प्रयोग गर्न नसक्दा वैदेशिक रोजगारीको क्षेत्र अस्तव्यस्त भइरहेको बताउँछन् । ‘गलत काम गर्नेलाई विभागले सशक्त रूपमा काम गर्न सक्ने हो भने बदमासी गर्न खोज्नेहरू हचकिन्थे,’ न्यौपानेले भने, ‘यहाँ त उल्टै गलत काम गर्नेलाई उन्मुक्ति र पीडितलाई झन् अन्यायमा पार्ने काम भइरहेको छ ।’ वैदेशिक रोजगारीकै क्रममा पीडित हुनेलाई मनोपरामर्श प्रदान गर्दै आइरहेको सीएमसी नेपालकी मनोविद् करुण कुँवर वैदेशिक रोजगारीले नेपालमा अवसरभन्दा बढी समस्या सिर्जना गरेको बताउँछिन् । वैदेशिक रोजगारीकै कारण ६० प्रतिशत परिवारमा कुनै न कुनै समस्या सिर्जना भएको उनको भनाइ छ ।

‘विभागमात्र पर्याप्त छैन’
गोविन्द्रप्रसाद उपाध्याय
कानुन निर्देशक, वैदेशिक रोजगार विभाग
वैदेशिक रोजगार ऐन २०६४ ले वैदेशिक रोजगारीको क्रममा पीडित भएकालाई न्याय र क्षतिपूर्ति प्रदान गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्र दिएको छ । वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या काठमाडौँवासीभन्दा अन्य जिल्लाका बढी हुन्छन् । तर, कुनै पनि युवायुवती वैदेशिक रोजगारीको क्रममा पीडत भए भने उजुरीको लागि विभागमा धाउनुपर्छ । हरेक जिल्लामा प्रहरी र अदालत छन् । तर, ती निकायले वैदेशिक रोजगारी पीडितका उजुरी टुंगो लगाउन सक्दैनन् । अन्य सबै प्रकारका ठगीका उजुरी हरेक जिल्लाका प्रहरी र अदालतले लिन सक्ने तर वैदेशिक रोजगारीको क्रममा पीडित भएकाको उजुरी प्रहरीले लिन नसक्ने कुरा ऐनमा उल्लेख भएकाले समस्या पारेको छ । देशभरिका वैदेशिक रोजगारी पीडितको उजुरी विभागले मात्र लिन पाउने व्यवस्था गरिए पनि विभागको आफ्नै संरचना कमजोर छ । पाँचजना कानुन अधिकृतले मात्र देशभरिका मुद्दाको टुंगो लगाउनु पर्दा कामको भार पनि त्यतिकै छ । अर्कोतर्फ पीडितले खोजेअनुसार समयमै उजुरीको टुंगो लगाउन सकिएको छैन । त्यसैले अब ऐन संसोधन गरेर भए पनि वैदेशिक रोजगारी पीडितका उजुरी हरेक जिल्लाका प्रहरी र अदालतले लिन पाउने व्यवस्था गर्नुपर्छ । यदि समयमा त्यसो नगर्ने हो भने पीडितलाई न्याय प्रदान गर्ने कुरा केवल हावादारी मात्र हुन्छन् ।

‘सहयोग गर्ने कोही छैनन्’


झलक गुरुङ, पीडित
कास्की, थुमौका–५
गाउँमा रोजगारीको कुनै अवसर फेला नपारेपछि छोरा राजु चैत पहिलो साता दुबई गएको हो । दीपगेस्ट म्यानपावरलाई एक लाख रुपैयाँ बुझाएर छोरालाई दुबई पठाएपछि आर्थिक बोझका दिन सकिए भन्ने लागेको थियो । म्यानपावरले विदेशमा महिनामा ४०–५० हजार रुपैयाँ पारिश्रमिक पाइने बताएकाले केही महिनामै आर्थिक अवस्थामा सुधार आउने आशा थियो । तर, त्यो आशा एक सातामै निराशामा बदलियो । छोरा दुबई पुगेदेखि नै काम गर्ने भनिएको कम्पनीका मान्छेले कामै दिएनन् । काम नदिएपछि यतिखेर छोरा राजु र उसको साथी विवेक दुबईमा अलपत्र परेका छन् । उद्धारका लागि विभिन्न निकाय धाउँदा पनि कसैले वास्ता गर्दैनन् । सहयोगको याचना गर्दै तीन महिनाको अवधिमा पटकपटक काठमाडौँ धाउँदा ५० हजार रुपैयाँभन्दा बढी खर्च भइसक्यो । छोरा विदेश जाने बेला ऋण लिएर म्यानपावरलाई बुझाएको रकम कसरी चुक्ता गर्ने भन्ने समस्या रहेको बेला अब छोरालाई दुबईबाट फिर्ता ल्याउने समस्या थपिएको छ ।

 

Leave A Comment