‘फेरि केन्या जान्छौं, सके एयरपोर्टमा रोक’

सोमबार, ०२ भदौ २०७६, ११ : ५१ प्रजु पन्त
‘फेरि केन्या जान्छौं, सके एयरपोर्टमा रोक’

प्रहरीलाई उल्टै थर्काउँछन् पीडित:

‘हाम्रो आफ्नो इच्छाले केन्या गएका हौं, तिमीहरुलाई के मतलब ? हाम्रो यौन शोषण भयो भन्ने के प्रमाण छ ?’ केन्याको बारमा अवैध रुपमा पु-याएर मानव तस्करीमा परेको भन्दै अन्तर्राष्ट्रिय संस्थाले उद्धार गरी नेपाल फर्काएका १२ जना युवती मानव तस्करी नियन्त्रण ब्युरोको कार्यालय बबरमहलमा थिए।

ब्युरोको प्रहरीलाई आश थियो, कमसेकम उनीहरुले तस्करी गरेर केन्या पु-याउन संलग्न नेपाली दलालको नाम लिनेछन् र अनुसन्धान अगाडि बढ्नेछ। त्यही आशमा उनीहरु नेपाल आएलगत्तै विमानस्थलबाट सिधै ब्युरोको कार्यालयमा ल्याएका थिए। तर प्रतिक्रिया सोचे जस्तो आएन। उल्टो प्रहरीले गाली पो खाए !

‘तिमीहरु नेपालमा काम दिन सक्छौ ? काम पनि नदिने अनि बाहिर गएर गरीखाँदा पनि नानाथरिका आरोप लगाएर नेपाल ल्याउने,’ फर्किएकी एक युवतीको भनाइ उद्धृत गर्दैै ब्युरोका एक अधिकारीले भने, ‘हामी फेरि जान्छौँ, रोक्ने हिम्मत भए रोक्नू।’

प्रहरीले सत्य ओकल्न फकाउने प्रयास नगरेको हैन तर उनीहरु फकिने मुडमा थिएनन्। आफूहरु अन्तर्राष्ट्रिय मानव तस्करको फन्दामा परेर केन्या पुगेकोबारे उनीहरुलाई वास्तै थिएन। नेपाल फर्कनु परेकोमा उल्टो आक्रोश पो थियो !

‘उनीहरु आफूमाथि अपराध भएको स्वीकार्ने पक्षमा थिएनन्,’ अनुसन्धानमा संलग्न ब्युरोका ती अधिकारीले भने, ‘उनीहरुलाई नेपाल फर्काउनु नै अपराध जस्तो गरिरहेका थिए।’

नेपाल फर्किएर अस्विकार गरे पनि उनीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय मिडियामा आएको समाचारमा भने उनीहरुले दुख पाएको स्विकारेका छन्। हालै  रोयटर्स फाउन्डेसनमा  प्रकाशित समाचारमा केन्यामा उद्धार गरिएकी नेपाली युवती सोनियाको भनाई लेखिएको छ ‘कहालीलाग्दो अवस्था छ। म यहाँ आउनै नहुने थियो। आउनु ठूलो भूल भयो। हामी सबै घर फर्कन चाहछौँ र केन्या कहिल्यै आउन चाहन्नौँ।’

तर नेपालमा प्रहरीको केही सीप लागेन। उनीहरु कसैले पनि न बयान दिए, न त जाहेरी नै। नेपाली युवतीहरुलाई केन्या पु-याउने जालोसम्म पुग्ने प्रहरीको आशा त्यसै तुहियो।

ती १२ युवतीलाई केन्याको मोम्बासा क्लबबाट उद्धार गरी नेपाल फर्काइएको थियो। नेपाली युवतीलाई जबर्जस्ती अवैध रुपमा काममा लगाइएको भन्दै उतैको प्रहरीले छापा मारेर क्लबका सञ्चालक आसिफ अमिरअली अलिभाइ जेठालाई पक्राउ गरेको थियो।

प्रहरीले संकलन गरेको विवरणअनुसार केन्या पुगेका १२ जना महिला नेपालमा विभिन्न रेस्टुराँ र बारमा काम गर्थे। उनीहरुलाई नेपालकै एक जना साथीले केन्यामा काम गर्ने साथीसँग फेसबुकमार्फत भेटाइदिएका थिए। फेसबुक कुराकानीमा नेपालमा भन्दा केन्यामा राम्रो आम्दानी हुने भनेपछि उनीहरु केन्या जान राजी भएका थिए।

क्यानडा र ब्रिटिस नागरिकताधारी जेठालाई गैरकानुनी रुपमा नेपाली युवती केन्या ल्याएर यौन शोषण गरेको, श्रम स्वीकृति नलिई काममा लगाइएको जस्ता आरोप लगाइएको थियो। उनी अहिले अनुसन्धानकै दायरामा छन्। उनीद्वारा प्रताडित भएका भनिएका नेपाली युवतीहरु भने आफूमाथि भएको अपराध स्वीकार्ने पक्षमा नै छैनन्।

१२ नेपाली युवती तीन महिना केन्याकै रिह्याब सेन्टरमा बसे र उताको अनुसन्धान प्रक्रिया सकिएपछि नेपाल फर्काइए। नेपाल फर्काइएकाहरुमध्ये २० देखि ३५ वर्षसम्मका महिला थिए। उनीहरु अधिकांश जनजाति समूहका रहेको प्रहरीको भनाइ थियो। प्रहरीले नाम नखुलाए पनि गुरुङ, तामाङ, पोखरेल, आलेमगर, थापा, फियाक, खड्गी, धामी, दर्जी र बल थरका युवतीहरु केन्याबाट फर्किएका थिए। यी सबै झापा, सिन्धुपाल्चोक, काठमाडौं तथा धादिङ जिल्लाका युवती रहेको प्रहरीको भनाइ छ।

उनीहरुले नेपालमा बयान र उजुरी दिन नचाहे पनि अनुसन्धानको क्रममा केन्यामा बयान दिएका थिए। फर्किएका केही युवतीले भने कुरैकुरामा सेटिङ मिलाउने व्यक्तिको नाम र रुट खुलाए तर औपचारिक बयान र जाहेरी नहुँदा कार्बाही प्रक्रिया अगाडि बढाउन तत्काल सम्भव भने भएन।

प्रहरीले संकलन गरेको विवरणअनुसार केन्या पुगेका १२ जना महिला नेपालमा विभिन्न रेस्टुराँ र बारमा काम गर्थे। उनीहरुलाई नेपालकै एक जना साथीले केन्यामा काम गर्ने साथीसँग फेसबुकमार्फत भेटाइदिएका थिए। फेसबुक कुराकानीमा नेपालमा भन्दा केन्यामा राम्रो आम्दानी हुने भनेपछि उनीहरु केन्या जान राजी भएका थिए।

उनीहरुलाई केन्या लैजान नेपालमा लोकमान राईले सेटिङ मिलाइदिएका थिए। राई मानव तस्करीका लागि विमानस्थलमा सेटिङ मिलाउन सक्रिय थिए। उनले नै ती युवतीहरुलाई भिजिट भिसामा केन्या जान त्रिभुवन विमानस्थलमा सेटिङ मिलाएर भारत उडाइदिए। उनीहरु भारत पुगेपछि उतैका दलालले दुबई उडाइदिए र दुबईमा रहेको दलालले केन्या पु-याइदिए।

ब्युरोको प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलिया केन्याको केसमा समेत तामाङले नै विमानस्थलमा सेटिङ मिलाएको देखिएको छ। राई नेपालमा एयरपोर्ट सेटिङ मिलाएको कसुरमा साउन १४ बाट केन्द्रीय कारागार सुन्धारामा छन् तर उनी केन्याको केसमा नभई अर्कै केसमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा परेका हुन्। 

भिजिट भिसामा विमानस्थल पुगेका यात्रुमाथि शंका लागे केरकार गर्न सकिने भए पनि दलालले पीडितसँग पहिले नै सेटिङ मिलाएका कारण भिजिट भिसाको आवरणमा जोखिमपूर्ण मुलुकमा काम गर्न हिँडेकाहरु पनि सहजै उम्किने गरेको अनुसन्धानमा देखिएको थपलिया बताउँछन्।

श्रम स्वीकृति नलिई कतार, दुबई लगायतका मुलुकमा जानेलाई बिचौलियासँग मिलेर प्रस्थान अनुमति दिएको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत कमलप्रसाद पराजुलीलाई साउन २२ मा पक्राउ गरेको थियो। उनीमाथि प्रस्थान अनुमति दिएपछि अभिलेखसमेत नराखी डिपार्चरको स्ट्याम्प लगाइदिने गरेको अभियोग छ। सो घटनाले दलालसँग विमानस्थलको कर्मचारीको सेटिङ खुलेको थियो।

उजुरी दिनै मान्दैनन् पीडित
मानव बेचबिखन अनुसन्धान ब्युरोले २०७६ वैशाखदेखि साउनसम्म मानव बेचबिखनका  १३ वटा केसको अनुसन्धान गरेको छ। पीडक ४२ जना खुले पनि १३ जना मात्र पक्राउ परेका छन्। फरारहरु कोही भारतमा छन्, कोही दुबई, लिबिया, बाङ्लादेश, पाकिस्तान, क्यानडा, कुर्दिस्तानसम्म छन्। विदेशमा रहेका फरारको संख्या २९ रहेको ब्युरोको तथ्यांकमा देखिन्छ।

पछिल्लो समय ब्युरोमा इटाली लैजाने भन्दै लिबिया पु-याउने मानव तस्कर समूहको केस आइपुगेको छ। ज्यान जोगाएर नेपाल फर्किएका तीन जनामध्ये एक र उतै लिबियामा ज्यान गुमाएका सन्तोष श्रेष्ठका परिवार ब्युरोको सम्पर्कमा पुगेका हुन्। सो घटनाका आरोपीमध्ये सहयोगी नेपालमै भए पनि पक्राउ परेका छैनन्। एक जना नेपाली मकाओमा छन्।

कहाँ–कहाँ बेचिन्छन् नेपाली
भारत:
राष्ट्रिय मानव अधिकार आयोगको मानव तस्करीसम्बन्धी प्रतिवेदन २०७६ अनुसार आर्थिक वर्ष २०७५/७६ को तथ्यांकअनुसार भारतबाट एक हजार महिला तथा बालबालिकाको उद्धार भएको थियो।

भारतको यौन बजारका लागि नेपाली महिलाको बेचबिखन शुरु भएको हो। अहिले पनि सो कायम छ। यौनकर्मीका रुपमा काम गराउन युवतीको तस्करी हुने गरेको देखिन्छ भने सर्कस लगायतमा काममा लगाउन बालबालिकाको समेत बेचबिखन हुने गरेको देखिन्छ। पछिल्लो समय तेस्रो मुलुकमा लैजानसमेत भारतीय भूमि प्रयोग हुने गरेको देखिन्छ।

चीन:  नेपाल र चीनबीच सहज आवतजावत नभए पनि मानव तस्करीमा भने सो बाधा देखिन्न। सन् २०१३ सम्म चीनको खासा क्षेत्रको मनोरञ्जन क्षेत्रमा काममा लगाउन नेपाली महिलाको तस्करी हुने गरेको थियो। भूकम्पसँगै खासा प्रवेश मार्ग बन्द भयो र तस्करीको क्रमसमेत रोकियो। पछिल्लो समय विवाहको आवरणमा नेपाली महिलालाई चीन पु-याएर जोखिमपूर्ण काममा लगाउने गरिएको छ।

अफ्रिकी र खाडी मुलुक: वैदेशिक रोजगारीको आवरणमा अफ्रिकी र खाडी मुलुकहरुमा नेपाली महिलाको तस्करी भइरहेको छ। केन्यादेखि दक्षिण अफ्रिकासम्म नेपाली युवतीहरु पु-याइने गरेको छ। कतार, बहराइनका मनोरञ्जन क्षेत्रमा समेत नेपाली युवती पु-याइएको देखिन्छ। इराक, ओमान, अफगानिस्थान र सिरियामा वैदेशिक रोजगारीको आवरणमा नेपाली युवा र युवतीको तस्करी हुने गरेको देखिन्छ।

अमेरिका र युरोप: मानव तस्करीको सञ्जाल अल्पविकसित देशमा मात्रै हैन, विकसित देशमा समेत देखिन्छ। अमेरिका, युरोप र बेलायतमा समेत मानव तस्करले नेपाली युवा युवतीलाई विभिन्न बहानामा पु-याउने गरेका छन्। कतिपय स्थल मार्गबाट त कतिपय विभिन्न आवरणमा हवाई मार्गबाटै लाखौँ खर्च गरेर ती देश पुग्ने गरेका छन्। मानव अधिकार आयोगको प्रतिवेदनअनुसार पछिल्लो समय पोल्यान्ड, पोर्चुगल र ग्रिस पुग्ने नेपालीको संख्या बढेको देखिन्छ।

यसरी हुन्छ मानव तस्करी
मानव अधिकार आयोगको प्रतिवेदनअनुसार मानव तस्करी गिरोहको संगठित जालोले भिजिट भिसा, शैक्षिक भिसा, नक्कली वर्किंग भिसा तथा विवाह र आप्रवासी सहायताका नाममा नेपालीको तस्करी तथा बेचबिखन भइरहेको छ।

तस्करीको सञ्जाल काठमाडौं लगायत मुलुकका प्रमुख शहरमा व्यक्तिगत रुपमा सम्पर्क गर्ने, भारतको दिल्लीमा लगेर मानिसहरुलाई एक ठाउँमा राख्ने र त्यहीँबाट हवाइमार्ग, जलमार्ग वा विभिन्न सडक यातायातका मार्गहरुको प्रयोग गरी ती देशहरुमा पु-याउने गरेको देखिन्छ।मानव तस्करले आमरुपमा आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुसँग इमो, विच्याट तथा भाइबरबाट कुरा गर्ने तर भिडीयो च्याट नगर्ने गरेको पीडितहरु बताउँछन्। उनीहरुलाई सिंगो सञ्जालमा रहेका व्यक्तिहरु प्रत्यक्ष रुपमा नभेटेसम्म थाहा नहुने र अर्को व्यक्ति भेट्नेबित्तिकै पुरानो सम्पर्कको व्यक्तिसँग सम्पर्क नहुने गरेको बताउँछन्।

Leave A Comment