सञ्जेल पत्नीलाई धरौटी, पीडितका आफन्त असन्तुष्ट

आइतबार, १२ साउन २०७६, ११ : २६ प्रजु पन्त
सञ्जेल पत्नीलाई धरौटी, पीडितका आफन्त असन्तुष्ट

समता अस्पतालमा मृत भेटिएकी विमला तामाङको मृत्यु प्रकरणमा आत्महत्या गर्न प्रोत्साहित गरेको अभियोग लागेका तीनजना धरौटीमा छुटेका छन्। असार २ गते अस्पतालको एक कोठामा तामाङको शव झुण्डिएको अवस्थामा फेला परेपछि समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेलसहित अस्पतालकी सह–सञ्चालक एवं उत्तमकी श्रीमती कला सञ्जेल, अस्पतालका कर्मचारी संगीता केसी र तीर्थ श्रेष्ठविरुद्ध जाहेरी परेको थियो।

उत्तमविरुद्ध अभियोग लागेन। अन्य तीन अभियुक्त बनेका थिए। उनीहरुलाई काठमाडौं जिल्ला अदालतले प्रतिव्यक्ति तीन लाख धरौटी मागेर साउन २ मा मुक्त ग-यो। 

काठमाडौं जिल्ला अदालतको २ नम्बरको इजलास न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले साउन २ गते थुनछेक आदेश दिएको थियो। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले दिएको लिखित जानकारीअनुसार यी तीनजनालाई लगाइएको अभियोग कसुरको प्रकृतिको अवस्था थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने नदेखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम धरौटी र जमानत माग गरेको थियो। जमानत रकम दिन नसके थुनामा पठाउने आदेश भएको थियो तर तीनै जनाले धरौटी बुझाएर मुक्त भइसकेका छन्।

उनीहरु धरौटीमा मुक्त भएपछि तामाङका आफन्तले विरोध प्रदर्शन गरेका थिए। सञ्जेल समर्थकहरुले सामाजिक सञ्जालमा उनको पक्षमा टिप्पणी गरिरहेका छन्।

कसुर बदलियो– आत्महत्या दुरुत्साहन
मृतक तामाङका श्रीमान् बुद्धि मोक्तानले महानगरीय प्रहरी वृत्त गौशालामा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका थिए। जाहेरीमै उत्तम सञ्जेलको नाम राख्न प्रहरी नमानेपछि जाहेरीको विवरणमा उनको नाम खुलाइएको थियो भने बाँकी तीनजनालाई आरोपी बनाइएको थियो।

तर केस अदालतमा पुग्दा कसुर बदलिएर आत्महत्या दुरुत्साहन भयो। तामाङको शव शंकास्पद अवस्थामा फेला परे पनि पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण झुण्डिनु उल्लेख थियो। उनको गोजीमा फेला परेको चिटमा उत्तम पत्नीसहित तीनजनाको नाम थियो। त्यसैलाई प्रमाण बनाएर कसुर कर्तव्य ज्यानबाट आत्महत्या दुरुत्साहन बनेको थियो।

समता स्कुल प्रकरण : समाजसेवी उत्तम सञ्जेलको समता अस्पतालमा शंकास्पद अवस्थामा कामदारको शव भेटिएको घटनाका तीन अभियुक्त तीन–तीन लाख धरौटीमा मुक्त।
 

यसअघि आत्महत्या गर्न उक्साउने या बाध्य पार्नेलाई कार्बाहीको प्रक्रियामा ल्याउने कानुनी व्यवस्था थिएन। मुलुकी अपराध संहिता आएपछि भने आत्महत्या गर्न उक्साउने, बाध्य बनाउनेलाई तीन वर्ष कैद सजाय हुन सक्ने सम्मको सजायसहितको कार्बाही प्रक्रिया राखियो।

‘मृतकलाई समता अस्पतालमा नियुक्ति भएदेखि तलब नदिएको अवस्था देखिएको, मृतकको शरीरबाट सुसाइड नोट प्राप्त भएको, घटना आफू कार्यरत अस्पतालमा भएको, मृतकले मोबाइल छाडी गएको, जाहेरीवालालाई फोन गरेर विमला तामाङबारे जानकारी गराएको मिसिलमा प्राप्त भएको,’ आदेशमा उल्लेख छ।

यही घटनाक्रमलाई आधार बनाएर तीन जनाविरुद्ध आत्महत्या गर्न उक्साएको अभियोग लागेको देखिन्छ। अभियोग पत्रमा मृतक तामाङलाई आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गरी अपराध संहिता २०७४ को दफा १८५ (१) को उपदफा २ बमोजिम सजाय गरी पाऊँ भनी माग गरिएको थियो। तर आरोपलाई अभियुक्त कला, संगीता र  तीर्थले इन्कार गरेका थिए।

श्रीमतीसहित २ कामदार धरौटीमा मुक्त भएपछि आफ्ना शुभेच्छुकमार्फत आफ्नो बिग्रिएको छवि सुधार्न उत्तम क्रियाशील देखिन्छन्। पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा उनको पक्षमा सामग्री आउने क्रम बढेको छ।

 

यो सरकारवादी मुद्दा भएकाले वादीको तर्फबाट वरिष्ठ अधिवक्ता छोनाम मोक्तानलगायत २१ जनाले बहस गरेका थिए। प्रतिवादी सञ्जेल लगायत तीनजनाको तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य लगायतले बहस गरेका थिए।

यस्तो थियो घटना
समता स्कुलका संस्थापक उत्तम सञ्जेलले खोलेको समता अस्पतालमा २ महिनादेखि काम गर्दै आएकी थिइन् तामाङ। भारतबाट आएर उनी सोही अस्पतालमा मासिक ८ हजार पारिश्रमिकमा काम गर्दै आएकी थिइन्। सरकारले न्यूनतम मासिक पारिश्रमिक १३ हजार ५ सय तोकेको छ तर समाजसेवी भनिने उत्तमले अस्पतालमा सरकारले तोकेको भन्दा कम पारिश्रमिक दिने गरेको यही घटनाले खुलाएको थियो।

सय रुपैयाँमा उपचार हुने भनिएको अस्पतालमा असार २ गते अस्पतालकी सफाई कर्मचारी तामाङ झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

श्रीमती हराएपछि खोज्न अस्पताल पुगेका उनका श्रीमान्ले टिफिन र मोबाइल फेला पारेका थिए तर श्रीमती फेला पारेका थिएनन्। उनीहरु जाँदा एक कोठामा ताल्चा लागेको थियो। ताल्चा खोल्न आग्रह गर्दा अस्पतालका कर्मचारीले मानेनन्।

भोलिपल्ट बिहान अस्पताल गएर सोही कोठा खोलेर हेर्दा झुण्डिएको अवस्थामा तामाङको शव फेला परेपछि उनका आफन्तले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका थिए। तामाङको गोजीमा तीन जनालाई पक्राउ गर्नु भनेर लेखेको चिट भेटिएको थियो। प्रयोगशाला परीक्षणमा सो अक्षर मृतक तामाङकै भएको खुलेको थियो।

आक्रोशित भिडले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले उत्तमसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। पछि उत्तमलाई तारेखमा छाडेर उनकी श्रीमती र २ जना कर्मचारीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको थियो। उत्तम प्रहरी निगरानीमा रहे पनि घटना अनुसन्धानकै क्रममा रहँदा आफ्नो पक्षमा माहोल बनाउन सक्रिय थिए।

श्रीमतीसहित २ कामदार धरौटीमा मुक्त भएपछि आफ्ना शुभेच्छुकमार्फत आफ्नो बिग्रिएको छवि सुधार्न उत्तम क्रियाशील देखिन्छन्। पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा उनको पक्षमा सामग्री आउने क्रम बढेको छ। उनका शुभेच्छुकहरुले धरौटीमा मुक्त भएकी उनकी श्रीमतीलाई निर्दोष भन्दै चोख्याउने प्रयत्न गरिरहेको देखिन्छ।

Leave A Comment