भ्यालेन्टाइन्स दिवसको चस्काले छोइसकेको थियो तुलसा सापकोटालाई । २०७३ को भ्यालेन्टाइन्स दिवस प्रेमी सुनील कोइरालासँग मिलेर अविस्मरणीय बनाउने सोचमा थिइन् उनी तर विडम्बना उनै प्रेमीको आपराधिक सोचले भ्यालेन्टाइन्ससम्म उनको जीवन नै रहेन ।
भ्यालेन्टाइन्स फागुन ३ मा थियो । उनीहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । त्यसको १० दिन अगाडि नै सामान्य विवादमा प्रेमीले छ्यापेको एसिडका कारण तुलसाको मृत्यु भयो । धादिङका कोइरालाले नवलपरासी गैँडाकोटकी तुलसालाई बुटवलको एक होटलमा बोलाएका थिए ।
उनीहरु बुटवलको मेरिडियन होटलको कोठा नम्बर १०३ मा बसे । खाना खाएर उनीहरु एउटै कोठामा गए । बेलुका एक्कासि महिला चिच्याएको स्वर सुनेर होटलका स्टाफ कोठामा पुग्दा महिला घाइते भएको देखेपछि उनीहरुले होटलको सबै ढोका बन्द गरिदिए । सुनिल भाग्न पाएनन् र पक्राउ परे ।
अनुहार, टाउकोसहित शरीरका विभिन्न भागमा एसिड परेकी तुलसालाई लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगियो तर सम्भव भएन । भैरहवा मेडिकल कलेजमा समेत उपचार सम्भव नभएपछि उनलाई काठमाडौं ल्याउने तयारी गर्दागर्दै उनको मृत्यु भयो ।
आखिर प्रेम घृणामा कसरी बदलियो ? बताउन तुलसा जीवित रहिनन् । पक्राउ परेका उनका प्रेमीले दोष उनैलाई दिए । कोइरालाले बयानमा भने, ‘उनी अर्कैसँग लागेका थाहा पाएपछि कुरुप बनाउन एसिड हानेँ ।’
ठ्याक्कै भ्यालेन्टाइन्स दिवससँग नजोडिए पनि प्रेमले निम्त्याएको आपराधिक घटनाका रुपमा अहिले ‘ल्याण्डमार्क रेप केस’ चर्चामा छ ।
काठमाडौंको दरबारमार्गमा रहेको होटल ल्यान्डमार्कमा भएको दाबी गरिएको यस घटनाले प्रेमको आवरणमा हुने अपराधको प्रकृति मात्रै देखाएको छैन, मिलेमतोमा गम्भीर अपराध सल्टाउने शैलीसमेत देखाएको छ । भिलेनको रुपमा देखिएका छन्, २४ वर्षीय शैलेश कार्की ।
सार्वजनिक भएको घटना विवरणअनुसार ललितपुर बस्ने २० वर्षीया एक युवती र शैलेशबीच डिजिटल माध्यममार्फत सम्बन्ध जोडियो । सम्बन्ध आत्मिए भएपछि दुवै निकट भए । माघ ७ मा शैलेशले ती युवतीलाई भेट्न बोलाए । उनीहरु होटलको कोठा नम्बर ४०५ मा पुगे ।
दुवैबीच सहमतिमा यौन सम्बन्ध भयो तर शैलेशको योजना अर्कै थियो । सोही होटलको अन्य कोठामा रहेका उनका साथीहरुसमेत शैलेश र ती युवतीको रसरङमा सहभागी बन्न पुगे । उनीहरु समेत ती युवतीसँग यौन सम्बन्ध राख्ने प्रयास गरे । युवतीले अस्वीकार गर्दा सबै मिलेर बलत्कार गरे ।
घटना गुपचुप राख्दै प्रहरीले नै मिलापत्र गराएर केस लुकाएको सार्वजनिक भएपछि अहिले प्रहरी विशेष अनुसन्धानमा जुटेको छ । अनुसन्धानका क्रममा युवतीबाट फरक–फरक बयान आइरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । उनको खातामा अस्वाभाविक रकम रहेको समेत देखिएको छ ।
पीडित परिवार र कार्की परिवारबीच सहमति भएको कागजसमेत सार्वजनिक भएको छ । जसमा युवतीले झगडा परेपछि शैलेशले होटलको कोठामा एक्लै छाडेर हिँडेकाले रिसमा कमलपोखरी प्रहरी वृत्तमा पुगेर बलात्कार भयो भनेर झूटो बयान दिएको उल्लेख छ ।
यसले गम्भीर घटना पैसाको प्रलोभनमा मिलाउने प्रयास भएको निष्कर्ष निकाल्दै महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीको प्रयासमा बल्ल–बल्ल युवतीले चार जनाको नाम किटेर जाहेरी दिएकी छन् । बलात्कार जस्तो गम्भीर अपराध मिलेमतोमा सल्टाउन संलग्न महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रहरी अनुसन्धानको दायरामा तानिएका छन् ।
काठमाडौं दरबारमार्गको घटना सेलाउन नपाउँदै पर्वतमा प्रेमको आवरणमा भएको जघन्य अपराध सार्वजनिक भयो । माघ १७ मा गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेमा रहेको कालीगण्डकीको किनारमा एक युवतीको शव फेला प¥यो तर ती युवती को हुन्, प्रहरीले पहिल्याउन सकेन ।
अनुसन्धानको चरणमा बाग्लुङ जैमुना बस्ने २२ वर्षीया युवती हराएको सूचना आयो । खोजी अगाडि बढाउँदा किनारामा फेला परेको शव हराएकी युवतीको रहेको खुल्यो । युवती पहिल्याउन करिब १५ दिन बितिसकेको थियो । शंकाको सुई पर्वतका २३ वर्षीय प्रदीप पराजुलीतिर घुमेपछि माघ २२ मा प्रहरीले पक्राउ ग¥यो । पक्राउपछि मृत युवती प्रदीपकी प्रेमिका रहेको खुल्यो ।
प्रेम सम्बन्ध, यौनमा पुगेपछि युवती गर्भवती भइन् । विवाहका लागि दबाब बढाएपछि उनले विहादी गाउँपालिका–२ बगरस्थित बाँझो खेतमा युवतीको हत्या गरेर कालीगण्डकी नदीमा फालेको खुल्यो ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्द भ्यालेन्टाइन्स दिनकै दिन यसैसँग जोडिएर गम्भीर प्रकृतिको आपराधिक घटना भएको नदेखिएको तर प्रेमको आवरणमा विश्वासमा पारेर हुने अपराध गम्भीर बन्दै गएको बताउँछन् ।
‘भ्यालेन्टाइन्स दिनकै दिन गम्भीर प्रकृतिको आपराधिक घटना घटेको देखिन्न,’ चन्दले शुक्रबारसँग भने, ‘तर सामाजिक सञ्जाल लगायतका माध्यमबाट सम्बन्ध बनाउने, विश्वासमा पार्ने र पछि अपराध नै घटाउने प्रकृति भने देखिएको छ । यसमा डिजिटल पुस्ता सचेत हुन आवश्यक छ ।’
‘भ्यालेन्टाइन्स डे केन्द्रित सुरक्षा योजना ल्याउँछौं’
जयबहादुर चन्द,
प्रमुख, महानगरीय प्रहरी कार्यालय
भ्यालेन्टाइन्सस डे कै दिन उपत्यकाका गम्भिर प्रकृतीको आपराधिक घटना घटेको देखिएको छैन । तर अपराध हुने जोखिम भने कम छैन । यो दिन नियमित भेटघाट भइरहेका युवा–युवतीसँगै पहिलो पटक भेट हुने जोडी पनि हुन्छन् । उनीहरु प्रायः एकान्त स्थानमा जान रुचाउने हुँदा बलात्कार या यौन दुव्र्यवहारका घटनाको जोखिम देखिन्छ ।एकान्त र अलि टाढा जाँदा आफ्नो जोडीबाट अपराध नभए पनि त्यस्ता स्थानमा आपराधिक मनोवृत्तिका व्यक्तिहरुसमेत मौकाको खोजीमा बसेका हुन सक्छन् । सहरी क्षेत्रमा भ्यालेन्टाइन्स डे मनाउन डिस्को र होटलमा गएर अत्यधिक मदिरा पिउने गरेकोसमेत देखिन्छ । अवसरको मौकामा रहेका आपराधिक मनोवृत्ति भएकाहरुले यस्तै मौकाको फाइदा उठाउन सक्छन् ।
प्रेमको आवरणमा भइरहेका अपराध नियन्त्रणमा प्रहरी सचेत छ । अभिभावकले समेत केही चासो राखिदिने हो भने प्रहरीलाई सहज हुन्थ्यो । अहिलेको पुस्तालाई भ्यालेन्टाइन्स डे मनाउनबाट रोक्न सकिन्न तर उनीहरु त्यस दिन के गर्दैछन्, कहाँ जाँदैछन् भन्ने जानकारी दिएर सुझाव दिन सके सम्भावित घटनाबाट बचाउन सकिन्छ ।
यो दिनमा त्यत्ति गम्भीर प्रकृतिका आपराधिक घटना नभएकाले प्रहरीले भिडभाड हुने स्थानमा प्रहरीको संख्या बढाउने गर्दै आएको छ । अन्य विशेष सुरक्षा प्रबन्ध भने हुने गरेको छैन । प्रेमको आवरणमा भइरहेका गम्भीर आपराधिक घटनाका कारण भ्यालेन्टाइन्स डेको दिन केन्द्रित गरेर सुरक्षा योजना बनाउनुपर्ने देखिएको छ । यसमा गृहकार्य सुरु गरिसकेका छौं ।
Leave A Comment