सात वर्षको बचतले एउटा एल्बम

शुक्रबार, १४ असोज २०७३, ०९ : ४६ गोपाल दाहाल , Kathmandu
सात वर्षको बचतले एउटा एल्बम

गायक सुमन श्रेष्ठ ‘संगम’ धनकुटाको चानुवा–७ मा किसान परिवारमा जन्मेका हुन् । रामबहादुर र शान्ति श्रेष्ठका माइला छोरा सुमन सानैदेखि गीतसंगीत भनेपछि हुरुक्क हुन्थे । धनकुटाकै घोर्लिखर्कस्थित ग्रामीण सामाजिक माविमा पढ्दा आफूले शम्भू राईको गीत ‘चलेछ बतास सुस्तरी’ खुब गाउने बताउँछन् उनी । उनको गायनप्रति आकर्षणले शिक्षक पनि खुशी हुन्थे । रेडियोमा बजेका गीत सुनेर कपीमा सार्ने र कण्ठ पार्ने सुमनलाई शिक्षकहरूले विद्यालयको वार्षिक कार्यक्रम, बालदिवस, अभिभावक दिवसजस्ता अवसरमा गाउन लगाउँथे । आफ्नो स्वरलाई निखार्न चाहन्थे उनी तर नजिकै संगीत सिक्ने ठाउँ थिएन । धनकुटा पढुञ्जेल सुमनको गायन विद्यालयका कार्यक्रम र साथीभाइमाझ मात्र सीमित रह्यो ।
एसएलसीपछि इन्जिनियरिङ पढ्न उनी इटहरीको सुषमा इन्जिनियरिङ कलेज भर्ना भए । त्यहाँ रामकुमार धामीसँग संगीत सिक्न थाले । इटहरीमा डेढ वर्ष संगीत सिकेपछि धरानमा ओमप्रकाश राईसँग केही समय संगीत सिके । त्यसपछि काठमाडौँमा सारेगममा पनि केही समय संगीतको कक्षा लिए । संगीत सिक्दा गीत रेकर्ड गराउने रहर थियो तर आर्थिक अभावले सात वर्षसम्म रहरलाई मनमै सीमित राखेको सुमन बताउँछन् । डिप्लोमा इन्जिनियरिङ सकेपछि एउटा सरकारी जागिरको अवसर आएको तर त्यहाँ संगीत सिक्ने ठाउँ नभएपछि आफूले त्यो अवसरै छाडिदिएको उनी बताउँछन् । कलेज पढ्दै संगीत सिक्दै गरेका उनले २०६३ मा कन्सल्ट्यान्सीमा जागिर पाए । त्यसपछि भने जागिरबाट बचाएको पैसाले एल्बम निकाल्ने अठोट गरे । २०६३ देखि २०७० सालसम्म एल्बमका लागि भनेर छुट्याएको पैसा दुई लाख बचत भएछ । ‘त्यसपछि एल्बम निकाल्ने आँट आयो,’ सुमनले भने ।
सुमनले २०६८ सालमा धरानमै ‘भन्छौ तिमी’ बोलको गीत रेकर्ड गराएका थिए तर त्यति राम्रो भएन । अहिले त्यही गीतमा टीका भण्डारीले संगीत भरेका छन् । २०७० सालमा उनले आफ्नै नामको एल्बम सार्वजनिक गरे ‘सुमन’ । एल्बमको गीत ‘एक नजर’ हिट भयो । त्यही गीतले उनलाई  गायकका रूपमा चिनायो । ‘पहिला अरूका गीत रेडियोमा सुन्दा आफूले पनि गाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो,’ उनले भने ।
आफ्ना गीतले बजारमा राम्रो चर्चा कमाएपछि संगीतबाटै पनि केही गर्न सकिन्छ भन्ने आशा पलाएको छ सुमनमा । तर, पाइरेसीलगायत समस्याले संगीतले उद्योगको रूप लिन नसकेकाले गायन र इन्जिनियरिङ दुवैलाई सँगै अगाडि बढाउने योजना आफूले बनाएको सुमन बताउँछन् । व्यवस्थापनमा बीबीएस गरेका सुमन अहिले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दैछन् । संगीतकार टीका भण्डारी, वसन्त सापकोटा, हरि लम्साललगायतको संगीतमा सुमनले गाइसकेका छन् । हालै, उनले अञ्जु पन्तसँग मिलेर ‘धागो चर्खाको’ बोलको गीत सार्वजनिक गरेका छन् ।
 

 

Leave A Comment