राजेशपायलको ‘दर्शन नमस्ते–३’

बिहिबार, १३ असोज २०७३, १२ : ०७ शुक्रवार , Kathmandu
राजेशपायलको ‘दर्शन नमस्ते–३’

गायक राजेशपायल राईले एल्बम ‘दर्शन नमस्ते’को तेस्रो शृंखला ‘दर्शन नमस्ते–३’ सार्वजनिक गरेका छन् । सोमवार राजधानीमा एक कार्यक्रमबीच आफ्ना आमाबुबाको हातबाट उनले एल्बमको लोकार्पण गराएका हुन् । यो एल्बममा नौवटा गीत समावेश छन् । गीतमा महेश खड्का, हरि लम्साल, सन्तोषराज, विनोद खम्बु, राई नवीन र इन्दिरा जोशीको संगीत रहेको छ । त्यस्तै, एल्बमका लागि रत्नशमशेर थापा, महेश खड्का, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई र केदार सुनुवारले गीत लेखेका छन् । एल्बममा ‘दर्शन नमस्ते’, ‘कुल्ची हिँड्’, ‘लभ यू’ लगायत गीत समावेश छन् ।

प्रेमध्वजको ‘ती आँखामा’
‘पर लैजाऊ फूलहरू’, ‘घुम्तीमा नआऊ है’ जस्ता लोकिप्रिय गीतमा आफ्नो स्वर दिएका वरिष्ठ गायक प्रेमध्वज प्रधानले झण्डै एक दशकपछि आफ्नो स्वर रेकर्ड गराएका छन् । उनले जुगोल डंगोलको संगीत तथा एरेन्ज, डब्बु क्षत्रीको शब्द रहेको ‘ती आँखामा’ बोलको गीतमा स्वर दिएका हुन् । गीतमा गायिका केञ्जुमा सुब्बाको पनि स्वर रहेको छ । मोहनराज आचार्यको निर्देशनमा बनेको भिडियोमा मोडलद्वय विकास लामिछाने र विनिता वलीले अभिनय गरेका छन् ।

साहिलको ‘त्यो मनमा’
गायक साहिल खड्काले ‘त्यो मनमा’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनको दोस्रो एलबम ‘प्रियसी–२’मा यो गीत समावेश हुनेछ । गीतको शब्द र संगीत साहिल स्वयंले गरेका हुन् । म्युजिक एरेन्ज संगीतकार टंक बुढाथोकीको हो । गीतको सम्पूर्ण भिडियो छायांकन अस्ट्रेलियामा गरिएको छ । सन्तोष गुरुङले निर्देशन गरेको गीतको भिडियोमा सम्झना तामाङ र केदार बरुवालले अभिनय गरेका छन् ।


धनबहादुरको ‘मायाको संसार’
बेलायतमा बस्दै आएका गीतकार धनबहादुर थापामगरको नयाँ गीति एल्बम ‘मायाको संसार’ सार्वजनिक भएको छ । एल्बममा ‘आउँछु भन्ने’, ‘भमरा र फूलविना’, ‘त्यागेँ मैले’, ‘नेपाली माटो’ लगायता छवटा गीत समावेश छन् । एल्बममा राजेशपायल राई, श्रेयसी चेम्जोङ, स्वरूपराज आचार्य, टीका प्रसाईं, मिलन अमात्य, सञ्जय तुम्रोक र तारा श्रीसमगरले स्वर दिएका छन् । एल्बममा संगीतकार पावल चाम्लिङको एकल संगीत रहेको छ ।

सन्दिपको ‘अनिरुद्ध’
विगत आठ वर्षदेखि नेपाल बस्दै आएका भारत आसामका गायक सन्दिप सेन गुप्ताले नयाँ नेपाली गीति एल्बम ‘अनिरुद्ध’ बजारमा ल्याएका छन् । एल्बमको राजधानीमा शनिवार एक कार्यक्रमबीच गायक दीप श्रेष्ठले विमोचन गरेका थिए । गायक गुप्ताले आफ्नो छोराको नामबाट एल्बमको नाम निकालेको भन्दै खुशी व्यक्त गरे । एलबममा छवटा गीत समावेश छन् । पाँच गीतमा संगीतकार अनिल शाहीको संगीत तथा शब्द रहेका छन् भने एक गीतमा गायक गोपाल श्रेष्ठको शब्द तथा संगीत रहेको छ । एल्बमभित्र रहेको ‘मेरो नेपाल’ बोलको गीतको म्युजिक भिडियोसमेत बनेको छ ।

Leave A Comment