सुरु भयो ‘पिक एन्ड ड्रप’

सोमबार, १० असोज २०७३, ११ : १६ शुक्रवार , Kathmandu
सुरु भयो ‘पिक एन्ड ड्रप’

काठमाडौँ उपत्यकामा मिटर ट्याक्सी चलाउँदै आएका केही चालकले ‘पिक एन्ड ड्रप’ सेवा सुरु गरेका छन् । ‘यात्रुले फोन गरेर बोलाएकै ठाउँमा लिन जाने र भनेको ठाउँमा पु¥याइदिने सेवा पिक एन्ड ड्रप सेवा हो,’ चालक सुरेश गोयन्काले भने, ‘यात्रुलाई सजिलो होस् भनेर हामीले यो सेवा सुरु गरेका हौँ ।’ सुरुमा चारसिटे दुईवटा ट्याक्सी, सातसिटे दुईवटा भ्यान र दुईवटा कार्गो भ्यानबाट सुरु भएको सेवा लगत्तै विस्तार गर्ने योजना रहेको उनले बताए । पहिलो चरणमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म यो सेवा दिइरहेको र चाँडै चौबिसै घण्टा सेवा दिने गोयन्काले बताए ।
गोयन्काका अनुसार चक्रपथभित्र जहाँ गए पनि पाँच सय रुपैयाँ भाडा तिर्नुपर्छ । रातमा सात सय र कार्गो सेवाको लागि एक हजार रुपैयाँ तिर्नुपर्छ । चक्रपथ बाहिर प्रतिकिलोमिटर थप ५० रुपैयाँ चार्ज लाग्नेछ । ट्याक्सी वा भ्यान दुवैमा एउटै चार्ज लाग्ने गोयन्काले जानकारी दिए । ‘यो हाम्रो व्यापार मात्र होइन,’ गोयन्काले भने, ‘ट्याक्सीबारे यात्रुहरूले गुनासो गर्न थालेपछि त्यही सेवालाई थप सुविधाजनक बनाएको हो । यसमा हामी सेवालाई ठूलो ठान्छौँ ।’
उनका अनुसार वृद्धवृद्धा र अपांग विशेष गरी आँखा देख्न नसक्नेलाई २० प्रतिशत छुट हुनेछ । फोन गरेर बोलाएको ठाउँमा ३० मिनेटभित्र पुग्ने गोयन्काले बताए । यो सेवामा प्रयोग भएका गाडीहरू प्रविधिमैत्री रहेको पनि उनले बताए ।

 

Leave A Comment