यसरी बच्न सकिन्छ यौनरोगबाट

सोमबार, १० असोज २०७३, ११ : १२ शुक्रवार , Kathmandu
यसरी बच्न सकिन्छ यौनरोगबाट

नेपालका गाउँघरदेखि शहरी क्षेत्रसम्म सबैतिर यौन सम्पर्कको माध्यमबाट सर्ने रोग व्याप्त छ । मानिसको यौन स्वभावमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ । यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छाैं ।
नेपालमा सिफिलिस, गोनेरिया, क्याइमेरिया र कहिलेकाहीँ जेनाइटल हर्पिसको समस्या देखिन सक्छ । त्यसैगरी जेनाइटल वार्ट भनिने रोग, जसलाई हामी चलनचल्तीको भाषामा मुसा भन्छौँ, त्यो पनि यौन सम्पर्कको माध्यमबाट सर्ने रोग हो । फंगल इन्फेक्सन पनि यौन माध्यमबाट सर्छ । तर, यो यौनरोगमा पर्दैन ।
कतिपयको हात र खुट्टामा देखिने मुसा यौनरोग होइनन् । यौनरोगका रूपमा परिचित मुसा भने स–सानो गिर्खाजस्तो देखिन्छ । अक्सर पुरुषको यौनांगमा मुसा हुन्छ भने महिलाको योनी वा वरपर यस्ता मुसा देखिन्छन् ।
नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो । यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । कुनै समुदाय विशेषलाई आक्षेप लगाउन खोजेको होइन, तर नेपालमा पेशाकर्मी सवारीचालकमा यो रोग बढी देखिएको छ । त्यसमा पनि ट्रक चालकहरू प्रायः सिफिलिसबाट पीडित भइरहेका हुन्छन् । यात्राका क्रममा घुमिरहने र अनुकूल पर्नासाथ असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले उनीहरूलाई सिफिलिस हुने गरेको छ ।
सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउ जस्तो देखापर्छ । केही दिनमा कतिपयको आफैँ निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ । पुरुषका कारणले महिलामा पनि भिरिङ्गी सर्छ । उनीहरूको यौनांगवरपर घाउ देखिन्छ । प्रारम्भिक चरणमा आए एक दिनको एन्टिबायोटिक वा इन्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ ।
सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ । उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुमा सर्न सक्छ । तर, तुलनात्मक रूपमा पुरुषलाई भने समस्या हुँदैन । यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ । घाउ नै छ भने जोखिम ज्यादा हुन्छ ।
यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुनसक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ । कतिपयको यौनांग अति गनाउने हुन्छ । सिफिलिसमा घाउ नै हुन्छ भने गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुनसक्छ । महिलामा यस रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया सरेर आँखामा समस्या ल्याउने हुनसक्छ ।
जेनाइटल हर्पिज पनि यौनरोग हो । यसका धेरै प्रकार र लक्षण छन् । केहीको ओठमा पनि निस्कन सक्छ, जसलाई हामी ‘जुठो खटिरा’ भन्छौँ । हर्पिज रोस्टर अर्को प्रकारको हो, शरीरको एक भागमा फोकाहरू निस्किएर पीडा हुन्छ, जसलाई हामी जनै खटिरा भनेर बुझ्छौँ । कतिपयलाई लिंगमा फोका र पानीफोका निस्कने र पोल्ने गर्छ । जेनाइटल वार्ट भने मुसाहरू हुन् । जुन सामान्य मानिसमा लामो समय रहने मुसाभन्दा केही फरक खालका हुन् ।
कसैलाई घाउ, चोट छ भने शारीरिक सम्पर्कको बेला निस्कने यौनरसबाट यस्ता रोग सर्छन् । यौनसम्पर्कका क्रममा योनी र लिंगका भाग घर्षण हुँदा यौनरसमा रहने जीवाणु एकजनाबाट अर्कोमा सहजै पुग्छन् । पानीफोका फुट्दा वा रस निस्कँदा पनि जीवाणुहरू स्थानान्तरण हुन्छन् । यस्ता यौनरोग पुरुषबाट महिलामा सहजै सर्ने भए । यौनसम्पर्कका क्रममा महिलाको यौनांगबाट पनि रस निस्कने भएकाले जीवाणुहरू संसर्गका क्रममा पुरुषको यौनांगमा पुग्छन् ।
यस्ता रोगबाट जोगिने उपयुक्त उपाय नै सुरक्षित यौन अभ्यास हो । सम्भव भएसम्म एकजना यौन साथीबाहेक अरूसँग संसर्ग नगर्नु उपयुक्त हो । रोग लागिसकेको छ भने दुईजनामध्ये एउटाले मात्रै उपचार गरेर पुग्दैन । पति÷पत्नीमध्ये कसैमा रोग लागिसकेको छ भने निको नहुञ्जेल शारीरिक सम्पर्क नगर्नु उपयुक्त हुन्छ ।
यौनरोग लागेको व्यक्तिले निको नहुञ्जेल कन्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्न मिल्छ वा मिल्दैन भन्ने प्रश्न धेरैको हुने गर्छ । पक्कै मिल्छ, तर सर्ने जोखिम भने केही मात्रामा भए पनि रहन्छ । यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा रहन्छ । यौनरोग लागेका दम्पतीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि सर्ने सम्भावना रहन्छ । कसैको मुखमा जुठो खटिरा छ भने मुखमैथुनका कारण अर्को यौनसाथीको यौनांगमा जेनाइटल हर्पिज अर्थात् मुसा देखापर्न सक्छ ।
समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडित छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ । कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय भने आफू अनुकूलको डाक्टरलाई देखाउँछन् । पुरुषहरू पुरुष र महिलाहरू महिला डाक्टरकोमा जान्छन् । त्यसले यौनरोगबाट महिला या पुरुष को बढी प्रभावित छ भनी सहजै भन्न सकिँदैन ।
शहरी क्षेत्रमा अनुमान नै गर्न नसक्ने मानिसलाई पनि यस्तो समस्या पर्न सक्छ । समाजमा आएको खुला सोच र मानसिकताले मानिसहरू विवाहपूर्व नै शारीरिक सम्पर्क राख्छन् । कतिपय मानिस व्यावसायिक यौनकर्मीसँग असुरक्षित सम्पर्क राख्छन् । जसले गर्दा यस्ता रोगको जोखिम झनै बढाएको छ । किशोर÷किशोरी पनि यौनरोगका हुन्छन् ।
स्थायी यौन साथीसँग मात्रै शारीरिक सम्पर्क गर्ने र सुरक्षाको उपाय अवलम्बन गरेमा यस्तो रोगको जोखिम निकै कम हुन्छ ।

Leave A Comment