धुवाँमा रुमल्लिएका विद्यार्थी

शनिबार, ०८ असोज २०७३, १२ : १९ सृजना खड्का , Kathmandu
धुवाँमा रुमल्लिएका विद्यार्थी

भक्तपुरको जोरपाटी उच्च माध्यामिक विद्यालय कक्षा १२ मा पढ्ने रुकेश भण्डारीलाई धूम्रपानको असरबारे राम्ररी थाहा छ । तर, भन्छन्, ‘मलाई यसको लत लागिसक्यो । दिनमा ८/१० वटा चुरोट नभई हुँदैन ।’ ओखलढुंगा घर भएका उनी एसएलसीलगत्तै भक्तपुर आएका हुन् । ‘गाउँमा हुँदा हजुरबाले चुरोट खानुहुन्थ्यो । उहाँले मलाई चुरोट सल्काएर ल्याउन लगाउनुहुन्थ्यो । बिस्तारै मलाई पनि बास्ना मीठो लाग्दै गयो,’ उनी भन्छन्, ‘अहिले चुरोटविना बाँच्नै नसक्ने भएको छु ।’
उनका साथीहरू पनि ‘चुरोटे’ छन् । ‘साथीबाट साथीले सिक्दै गयौँ । क्लासमा चुरोट नपिउने कमै छन्,’ रुकेश भन्छन, ‘सरहरूले चुरोट खाएको थाहा पाए त सिध्याउँछन् । त्यसैले कलेज आउने बेलामा हल्स वा ह्यापिडेन्ट मुखमा हालेर आउने हो ।’
रुकेशका साथी बलराम दुवाल बिहान उठ्नेबित्तिकै कलेज ड्रेसमा सीधै क्याफेतिर हानिन्छन् । कलेजभन्दा क्याफेको माहोलमा आफू बढी रमाउने उनी बताउँछन् । भन्छन्, ‘कलेज भनेको पढ्नका लागि मात्र होइन, साथीहरूसँग मोजमस्ती गर्ने ठाउँ पनि हो ।’ दिनभरिमा एक बट्टा चुरोट सिध्याउने दुवालले चुरोटका लागि खाजाको पैसा खर्च गर्ने गरेको बताए । ‘चुरोटको गन्धले मेरो कोठामा कसैलाई नलगेको छमहिना भइसक्यो,’ उनी भन्छन् ।
भक्तपुरमा पाँच वर्षयता किराना पसल चलाउँदै आएकी हरिकला महर्जन  आफ्नो पसलमा चुरोटको व्यापार बढी हुने बताउँछिन् । ‘चुरोट किन्न कलेज र स्कुलका विद्यार्थी बढी आउँछन्,’ उनी भन्छिन्, ‘अचेलका केटाकेटीको चुरोट लत देखेर अचम्म लाग्छ ।’
कक्षा ११ मा पढ्ने राज गिरी साथीहरूको संगतले चुरोटको लतमा फसेको बताउँछन् । ‘सुरुसुरुमा चुरोट तान्दा आफ्नो शान बढेको जस्तो लाग्दो रहेछ,’ उनी भन्छन्, ‘त्यस्तो सोच्दासोच्दै चुरोटविना बाँच्न नसक्ने भइसकिएछ ।’ चुरोट र चुइँगममा गरेर महिनामा हजार–बाह्र सय रुपैयाँ खर्च हुने उनी बताउँछन् ।
०००
विद्यार्थीहरू अल्लारेपन र साथीसंगीको संगतले कुलतमा लाग्ने गरेको वेलफेयर एकेडेमी, ठिमीकी शिक्षिका प्रिया मानन्धर बताउँछिन् । स्कुलका धेरै विद्यार्थीहरू ‘लभ अफेयर’मा पर्ने र साथीसँग खटपट हुँदा चुरोटको सहारा लिने गरेको उनको धारणा छ । विद्यार्थीहरूमा विशेष गरी छात्र अध्ययनमा भन्दा पनि रमाइलोमै आफ्नो समय व्यतीत गर्न क्याफेमा बसेर चुरोटमा रमाउने शिक्षक राम हाडा बताउँछन् । ‘साथीहरूसँग भेट हुनासाथ चुरोटमै रमाउन थाल्छन् । कक्षामा हुँदा सोझो देखिए पनि बाहिर ऊ फरक हुन्छ,’ उनी भन्छन् ।
‘कक्षाकोठामा सोझो भएर बस्ने धेरै विद्यार्थीले पनि कुलतको बाटो तताएको भेटेको छु,’ ख्वपः कलेजका शिक्षक श्रीप्रसाद त्यातजु भन्छन्, ‘शिक्षकको डरले स्कुल प्रांगणमा चुरोट खाने हिम्मत गर्दैनन् विद्यार्थी । तर, प्लस टू र कलेजका विद्यार्थी भने मौका परे कलेजमै चुरोट तान्न पनि बेर लाउँदैनन् ।’
०००
भक्तपुर झौखेलकी मुक्ता खत्री आफ्नो छोराले चुरोट खान थालेको दुई वर्षपछि मात्र थाहा पाएको बताउँछिन् । ललितपुर निवासी बाटुली तामाङ छोराले चुरोट खाएर उल्टो आफैँलाई हप्काउने गरेको दुखेसो पोख्छिन्, ‘आमाबुबाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुंगामाथि भन्थे । हो रहेछ । नखा भनेर सम्झाउँदा उल्टै हप्काउँछ,’ उनी भन्छिन् । छोरालाई कुलतबाट निकाल्न विद्यालयमा उजुरी गरेको तामाङ बताउँछिन् । ‘कति दिनसम्म छोरा बोलिनँ र खाना पनि दिइनँ । तैपनि, छोराको बानी सुध्रिएन,’ उनी भन्छिन् ।
०००
विद्यालय हाताभित्र अनैतिक क्रियाकलाप नहोस् भन्नका लागि उच्च माध्यमिक शिक्षा परिषद्ले बनाएको आचारसंहितामा ‘मदिरा, सुर्तीजन्य पदार्थ, पानपराग, गुट्खा, कानुनले वर्जित गरेका अन्य कुनै पनि पदार्थ प्रयोग गर्न विद्यार्थीले पाउँदैनन् । यदि, यस्तो गरेमा निजलाई प्रहरीको जिम्मा लगाउने प्रमुख कर्तव्य विद्यालय व्यवस्थापनको हुनेछ’ भनेर  उल्लेख गरिएको छ । तर, त्यसको कार्यान्वयन भने प्रभावकारी रूपमा हुन सकेको छैन ।
अभिभावक आफैँ बालबालिकाका अगाडि चुरोट पिउँदा विद्यार्थीहरूमा नकारात्मक असर पर्ने मनोविद् गोपीलाल न्यौपाने बताउँछन् । गलत संगतले पनि उनीहरूमा यस्ता खाले बानी बस्न जाने न्यौपानेको भनाइ छ । ‘विद्यार्थीहरूलाई चुरोटबाट टाढा राख्न परिवार आफैँ सजग हुनुपर्छ । अभिभावकले समय नदिँदा पनि बालबालिका कुलतमा फस्ने गर्छन्,’ उनी भन्छन्, ‘घरपरिवारभन्दा साथीभाइसँग बढी समय बिताउने भएकाले आफ्ना बालबालिकाहरू कस्तो संगतमा छन् भनेर अभिभावकले ध्यान दिन जरुरी छ ।’

Leave A Comment