दुःख गर्न नडराउने ‘आउटसाइडर्स’

शनिबार, ०८ असोज २०७३, ११ : ४२ हिमाल लम्साल , Kathmandu
दुःख गर्न नडराउने ‘आउटसाइडर्स’

धरानमा आयोजना हुने सांगीतिक कार्यक्रममा आयोजकले थुप्रै ब्यान्डलाई बोलाउँथे । कार्यक्रममा प्रस्तुति दिने अवसर भने नाम चलेकाले मात्र पाउँथे । यस्तै सांगीतिक परिस्थितिमा जन्मियो– दी आउटसाइडर्स नेपाल ।
‘कार्यक्रममा प्रस्तुति दिन कु¥यो, कु¥यो, अन्तिममा आयोजकले ‘अर्काे पटक दिउँला है’ भनेर फर्किइदिन्थे । दुःखी भएर फर्किन्थ्यौँ,’ सुरुवात ताकाका क्षण सम्झँदै ब्यान्डका लिड गिटारिस्ट सुमन प्रधानले भने, ‘सबैतिरबाट खेदेको महसुस भएर नै आउडसाइडर्स नाम राखेका हौँ ।’
ब्यान्ड बनाउँदा भोकलमा राजा राई, लिड गिटारमा सुमन प्रधान, ड्रममा सजेन प्रधान, बेस गिटारमा मनु राई र रिदम गिटारमा राजा तामाङ थिए । ब्यान्ड सुरु गर्दा म्युजिक इन्स्टुमेन्टको अभावमा व्यक्तिगत खर्चले ब्यान्ड सञ्चालन गरेको ड्रमर सजेन तामाङ बताउँछन् । ‘ब्यान्डको सुरुवात गर्दा घरपरिवारको खासै सपोर्ट थिएन । संगीतमा भन्दा अन्य क्षेत्रमा लागिदिए हुन्थ्यो भन्ने परिवारको चाहना थियो,’ उनले भने, ‘त्यसैले आफ्नो व्यक्तिगत खर्च कटाएर म्युजिक इन्स्ट्रुमेन्ट किन्थ्यौँ ।’
जेनतेन ब्यान्ड अघि बढिरहेको थियो । मेन भोकलिस्ट राजा राईले छोडेपछि ब्यान्ड केही समय सुस्तायो । ‘राजाले ब्यान्ड छोडेपछि हामी केही समय सुस्तायौँ,’ ड्रमर तामाङले भने । नयाँ भोकलिस्ट डिल्ली फोम्बोको आगमनपछि ब्यान्ड फेरि जुर्मुरायो ।
स्थापनाको ११ वर्षपछि ब्यान्ड दर्शक÷स्रोतामाझ एल्बम ‘माइली’ लिएर आएको छ । एल्बममा ‘आउँछु म’, ‘सम्बन्ध’, ‘माइली’  ‘सेप्माङ’ ,‘हँसिलो मुहार’, ‘बेगारी’लगायत गीत रहेका छन् । ‘हँसिलो मुहारमा’ लिड गिटारिस्ट सुमन प्रधानले स्वर दिएका छन् । अन्य पाँचवटा गीत मेन भोकलिस्ट डिल्लीले गाएका छन् ।
आउटसाइडर्सले धरान, हिले, भेडेटार, इटहरी, विराटनगर, दमक, बेलबारी, गक्षा, उर्लाबारीका साथै चितवन, हेटौडा र पोखरामा कन्र्सट गरिसकेको छ । ब्यान्डको मुख्य जन्रा लोकपप हो । ‘धेरैजसो ब्यान्डमा पश्चिमी संगीतको प्रभाव देखिन्छ । तर, हाम्रो ब्यान्डले मौलिक गीतसंगीतलाई प्राथमिकता दिँदै आएको छ,’ भोकलिस्ट डिल्ली फोम्बोले भने ।
चार वर्षअघि कान्तिपुर टेलिभिजनले आयोजना गरेको ‘कृपा अनप्लग्ड’मा ब्यान्डले प्रस्तुति दिने अवसर पाएको डिल्लीले जानकारी दिए । ‘शोमा ‘आउँछु म’ भन्ने गीत प्रस्तुत गरेका थियौँ,’ उनले भने ।
ब्यान्डले आफ्नै प्रयासमा धरानमा ‘आउडसाइडर्स जाम हब प्य्राक्टिस सेन्टर’ सञ्चालनमा ल्याएको छ । सेन्टरबाट उठेको भाडा नै ब्यान्डको मुख्य आयस्रोत रहेको रिदम गिटारिस्ट राजा तामाङले बताए । राजधानीमा रेस्टुरेन्ट, बार, पबहरूमा ब्यान्डले लाइभ म्युजिक गरेर जीविका धान्न सकिने अवस्था भए पनि मोफसलमा गाह्रो रहेको तामाङ बताउँछन् । ‘जिल्लामा अवसर कम र मेहनत ज्यादा गर्नुपर्ने अवस्था छ । संगीतमै लागेर बाँच्न चाहिँ अलि गाह्रो छ,’ उनले भने, ‘तर, हामी दुःख गर्न नडराउने ब्यान्ड हौँ ।’   

 

Leave A Comment