देशको भविष्यमाथि कुत्सित प्रहार

बिहिबार, ०६ असोज २०७३, ११ : ४६ शुक्रवार , Kathmandu
देशको भविष्यमाथि कुत्सित प्रहार

बालबालिका विद्यालय पुग्ने समय पारेर मंगलवार राजधानीका विभिन्न विद्यालयमा गराइएको बम विस्फोटनको जति नै कडा शब्दमा निन्दा गरे पनि कम हुन्छ । कतिपय विद्यालयमा बालबालिका पुगिसकेका थिए भने कति विद्यार्थी विद्यालय जाँदै गर्दा विद्यालयमा बम राखिएको तथा दुइटा विद्यालयमा विस्फोटन भएको खबर सार्वजनिक भएको थियो । विद्यालयमा बम राखिएको थाहा पाएपछि विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण राजधानीवासी आतंकित थिए । ११ वटा विद्यालयमा बम तथा शंकास्पद वस्तु राखिएको भेटिएको थियो । जसमध्ये दुइटा विद्यालयमा बम विस्फोट भएको थियो । विस्फोटनमा मानवीय क्षति नभए पनि यो अक्षम्य अपराध हो । अबोध बालबालिका पढ्ने विद्यालयलाई निशाना बनाएर गरिने यस्ता हिंसात्मक गतिविधिको चौतर्फी भत्र्सना भइरहेको छ । बम राखिएका विद्यालयमा छरिएका पर्चामा शिक्षासम्बन्धी केही माग उल्लेख गरिए पनि त्यसैका आधारमा यो घटनालाई सामसुम पार्ने प्रयत्न भयो भने त्यो सबैभन्दा ठूलो विडम्बना हुनेछ । त्यसैले यस्तो आततायी घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । यो घटना कुनै पनि राजनीतिक आवरणमा छोपिनु हुँदैन । कसैले राजनीतिक संगठनजस्तो सुनिने नाम लिएकै भरमा विद्यालयमा बम राख्दै र विस्फोटन गराउँदै हिँड्ने छुट पाउन सक्दैन । यो आतंककारी क्रियाकलाप हो, हिंसाको चरम रूप हो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि असहमति जनाउँदै माओवादी कम्युनिस्ट केन्द्रका नाममा सक्रिय समूहले बम आतंक मच्चाएको खुलेको छ । यसमा माओवादीका पूर्वलडाकु समूह सक्रिय रहेको बुभिएको छ । बम बिस्फोटनमा संलग्न रहेको अभियोगमा शंकर लाखे र चन्द्रबहादुर तमाङ पक्राउ परेका छन् । लाखे बहिर्गमित लडाकु हुन् भने तामाङ २०६२ सालमा हतियारसहित भागेका लडाकु हुन् । केन्द्र आपराधिक गतिविधिमा संलग्न माओवादीका पूर्व बटालियन कमान्डर देवेन्द्रसिंह महतले खोलेका हुन् । उनले बहिर्गमनमा परेका र पूर्वलडाकुलाई समेटेर राजनीतिक आवरणमा आपराधिक गतिविधि गर्दै आएका छन् । मुख्य राजनीतिक दलभित्र पनि अपराध र राजनीतिलाई छुट्याउने स्पष्ट आधार छैन । पार्टी संगठनमा रहेका वा ठूला नेताद्वारा पालितपोषित अपराधीले पार्टीकै नाममा ठूलठूला अपराध गर्दा पनि उन्मुक्ति पाउने गरेको तीतो यथार्थ हामीसँग छ । राजनीतिक दल र संगठन भनेपछि कानुनभन्दा माथि गएर सर्वसाधारणमाथि हैकम जमाउन पाइन्छ, समाजमा आतंक मच्चाउन पाइन्छ भन्ने सोच भएका धेरै छन् । नेताहरूले आफ्नो स्वार्थका लागि अपराधी तथा गुन्डाहरूलाई संरक्षण दिने गरेका कारण पनि यस्ता घटना गराउनेहरू पनि राजनीतिक पार्टी वा संगठनको आड लिने कोसिस गर्छन् । राजनीतिक संगठन भनेपछि राज्यले पनि त्यसैअनुसारको व्यवहार गर्ने र गम्भीर प्रकृतिका अपराधमा कडा कारबाही नहुने भएकाले यस्ता निन्दनीय घटना गराउने सक्रिय हुन सकिरहेका हुन् । अपराध र राजनीतिलाई स्पष्टसँग छुट्याएर यस्ता घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्ने हो भने आगामी दिनमा यस्ता गतिविधि नियन्त्रण गर्न सकिन्छ । राज्यको सुरक्षा संयन्त्रले पनि कुन राजनीतिक संगठन हो र कुन अपराधका लागि राजनीतिको आड लिइरहेको समूह हो भनेर छुट्याउने काम गर्न सक्नुपर्छ । बम विस्फोटन भइसकेपछि बम राखेको थाहा पाउने, बम निष्क्रिय बनाउन सकियो भनेर आत्मसन्तुष्टि लिएरमात्रै सुरक्षा संयन्त्रले सुख पाउँदैन । राजधानीजस्तो व्यस्त ठाउँमा विद्यालयका गेट तथा कपाउन्डमा बम राख्दै हिँड्नेहरू रंगेहात पक्राउन पर्नुपर्ने हो । तर, हामीकहाँ यस्तो खबर बिरलै सुन्न पाइन्छ । चोकहरूमा प्रहरी लौरो लिएर उभिएका त हुन्छन् तर त्यही चोकबाट बम बोकेर हिँडिरहेका अपराधी पक्राउ पर्दैनन् । त्यसैले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्र निकै नै चनाखो हुनुपर्ने देखिन्छ ।
घटनामा संलग्नहरू प्रहरीको खोजीमा रहेका अपराधी भएको प्रहरीले जनाएको छ । बम विस्फोटन गराउने केन्द्रका प्रमुख महत दुई वर्षअघि आपराधिक गतिविधिमा पक्राउ परेर छुटेका थिए । विद्यालयको बस जलाएको अभियोगमा पक्राउ परेका उनी सामान्य धरौटीमा छुटेका थिए । पक्राउ परेका लाखे पनि एक महिनाअघि विद्यालयको बस जलाएको अभियोगमा पक्राउ परेका थिए । उनीसहितको समूहले साउन ६ गते डल्लुमा आइडियल मोडल स्कुलको विद्यार्थी बोक्ने बस जलाएको थियो । प्रहरीले उनीसहित आठजनालाई पक्राउ गरे पनि काठमाडौँ जिल्ला अदालतले साउन ३२ गते सामान्य तारिखमा छोडिदिएको थियो । विद्यालयमा आतंक मच्चाउने र चन्दा असुल्ने राणनीतिअन्तर्गत उनीहरूले यस्तो जघन्य अपराध गरेको स्वीकार गरेका छन् । आपराधिक गतिविधिमा संलग्न भएको यथेष्ट प्रमाण हुँदाहुँदै पनि अदालतले सजिलै उन्मुक्ति दिएका कारण अपराधीहरू हौसिएको देखिन्छ । राजनीतिक आडमा, अदालतको आदेशमा अपराधीहरूले उन्मुक्ति पाइरहने अवस्था कायम रह्यो भने हामी कहिल्यै भयमुक्त भएर बाँच्न सक्नेछैनौँ । विद्यार्थी भनेका देशका भविष्य हुन् । देशकै भविष्यमाथि कुत्सित प्रहार गर्ने अपराधीहरूले कुनै पनि हालतमा उन्मुक्ति नपाऊन् ।

Leave A Comment