ल्यापटपको ब्याट्री सकिनै लाग्यो ?

सोमबार, ०३ असोज २०७३, १२ : ५८ शुक्रवार , Kathmandu
ल्यापटपको ब्याट्री सकिनै लाग्यो ?

तपाईं कुनै जरुरी बैठकमा हुनुहुन्छ, बाटोमा हुनुहुन्छ वा कक्षाकोठामा । महŒवपूर्ण काम छ तर ल्यापटपको ब्याट्रीको चार्ज सकिनै थाल्यो । ब्याट्री चार्ज गर्न एडप्टर पनि ल्याइएको छैन वा एडप्टर भए पनि चार्ज गर्ने ठाउँ छैन । काम थुप्रै भए पनि ब्याट्री सकिएर ल्यापटप बन्द हुने अवस्था आउँदा कसलाई चिन्ता नहोला र ? तर, यस्तो हुँदा आशा मारिहाल्नु पर्दैन । चार्ज सकिएर मर्नै लागेको ब्याट्रीबाट समेत केही काम गर्न सकिन्छ ।
यस्तो बेलामा केही उपाय अपनाउन सकिन्छ । छोटो समयका लागि ब्याट्री खपाउने तरिका निम्नानुसार छन्ः
– ल्यापटपको ब्याट्री सेभर मोड अर्थात् इको मोडलाई सक्रिय पार्नुहोस् ।
– विभिन्न आउटर डिभाइस, पोर्ट तथा हार्डडिस्क र युएसबी माउस भए निकाल्नुपर्छ, तत्काल काम नलाग्ने एप्स तथा प्रोसेस बन्द गर्ने गर्नुपर्छ । वाइफाइसमेत अफ गर्नुस् । तत्काल काम नगरिएका डिभाइस निस्क्रिय पार्नका लागि ल्यापटपको कन्ट्रोल प्यानलमा गएर डिभाइज म्यानेजरमा देखिने डिभाइसमा राइट क्लिक गर्दै डिसएबल गर्नुपर्छ ।
– ब्याट्री सकिनै लाग्दा पनि डिस्प्ले र किबोर्ड प्रयोग नगरी नहुने छ भने ऊर्जा खपत घटाउने गरी सेटिङ मिलाउनुपर्छ । यसका लागि किबोर्डको ब्याकलाइट अफ गर्ने, स्क्रिनको ब्राइटनेस र रिजोलुसन कम गर्ने, आवाज कम वा बन्द गर्ने, आवाज नसुनी नहुने छ भने ल्यापटपको स्पिकरको साटो एयरबडबाट सुन्ने गर्नुपर्छ ।
– हार्डवेयरमात्र होइन विभिन्न खाले एप्स र प्रोसेस (ड्रपबक्स, गुगल ड्राइभ आदि) लगायत सफ्टवेयरले समेत ऊर्जा खपत गर्छन् । त्यसैले तत्काल प्रयोगमा नरहेका यस्ता सफ्टवेयरसमेत बन्द गर्नुपर्छ ।
– ल्यापटपको कामलाई सरलीकरण गर्दा पनि ऊर्जा खपाएर ब्याट्री केही बढी टिकाउन सकिन्छ । ल्यापटपको ब्याट्रीको चार्ज प्रशस्त छ र रिचार्ज गर्न पनि तत्काल सम्भव छ भने एकैचोटिमा धेरै प्रोग्राम खोलेर काम गर्न सकिन्छ । यसो गर्दा प्रोसेसरमा धेरै लोड पर्छ र ऊर्जा पनि धेरै खपत हुन्छ । त्यसैले ब्याट्री सकिनै लागेको बेला कमभन्दा कम ऊर्जा खपत गर्न एक पटकमा एउटा मात्र एप्लिकेसन प्रयोग गर्ने र बढी स्रोतको खोजी गर्नुपर्ने र ऊर्जा खपत गर्ने प्रोग्राम नखोल्ने गर्नुपर्छ । कहिलेकाहीँ केही साधारण टुल्सको प्रयोग गरेर पनि ब्याट्रीको चार्ज टिकाउन सकिन्छ । जस्तै वर्ड डकुमेन्टको साटो सामान्य टेक्स्ट फाइल प्रयोग गर्ने । वर्ड फाइल खोल्दा के नै बढी ब्याट्री खपत होला र ? भन्ने लाग्न सक्छ । तर, त्यसो होइन । वर्ड फाइलमा हुने विभिन्न खाले अटोम्याटिक एक्सन, फोटो तथा भिडियो इडिटिङ टुल्सले प्रोसेसरमा लोड थप्छन् र बढी ऊर्जा खपत हुन्छ । त्यसैले सामान्य टेक्स्ट टाइप गर्नुछ भने वर्ड फाइल खोल्नुको साटो टेक्स्ट फाइल खोल्दा ल्यापटपको ब्याट्री बढी टिक्छ ।

 

Leave A Comment