चामल

आइतबार, ०२ असोज २०७३, १० : ०८ ईश्वर दाहाल , Kathmandu
चामल

अक्सर नगद चर्चित भइरहने हाम्रो देशमा बेलाबेलामा जिन्सी पनि चर्चित बन्न पुग्छ । पञ्चायतकालमा मन्दिरका मूर्ति, सर्पका छाला र कार्पेटजस्ता जिन्सी उल्कै चर्चित थिए । हुन त बहुदल आएपछि पनि लाउडा, धमिजा र रासायनिक मलजस्ता जिन्सी प्रकरणले सदन र सडकलाई चर्कैगरी उचालेको थियो ।
हाम्रो दैनिकचर्या भने नगदकै परिधिमा चक्कर लगाइरहेको हुन्छ । मालपोत कार्यालयमा जग्गा पास गर्न जानुस्, टेबलमुनिको नगदको बात हुन्छ, जिन्सी चल्दैन । नागरिकता बनाउन जाँदा एउटा सानो सिफारिस छुटाउनुस्, सिफारिस व्यवस्थापन पनि नगदले नै गर्नुपर्छ । सेवा पाउने जुनजुन अखडा छन्, त्यहाँ हाकिमदेखि कारिन्दासम्मलाई नगदरूपी मेवाको ग्यारेन्टी नगरुञ्जेल तपाईंले सेवा पाउन असम्भव नै छ ।
हाम्रा सम्माननीय प्रधानमन्त्रीले सदनमा घण्टौँ उभिएर राष्ट्र र जनतालाई सम्बोधन गर्नुभयो । उहाँले ठूलठूला विकास निर्माणदेखि जनजीविकासँग सम्बन्धित सानातिना विषयमा सरकारका लक्ष्य तथा कार्यक्रम पनि सार्वजनिक गर्नुभयो । उहाँका जेजति घोषणा थिए, प्रायः नगदमा थिए । राष्ट्रिय गौरव आयोजना नगदमै थिए । भूकम्पपीडितलाई थप राहत प्याकेज नगदमै थियो । सबै नगदमा गर्दागर्दै पनि प्रधानमन्त्रीले कर्णालीसँग सम्बन्धित एउटा महŒवपूर्ण विषय भने जिन्सीमा घोषणा गरिदिनुभयो । कर्णालीका जनतालाई जन्म–मरणका संस्कार सञ्चालन गर्न चामल दिने उहाँको घोषणा हिजोआज चर्चाको केन्द्रमा छ ।  
प्रधानमन्त्रीले चामल दिने घोषणा गरेपछि कर्णाली उल्कै रिसायो । कर्णालीका जनतामात्र होइनन्, कर्णालीबाट क्याबिनेटमा एकछत्र प्रतिनिधित्व गर्नुहुने मन्त्री पनि असन्तुष्ट हुनुभयो । यो असन्तुष्टि साँच्चै अचम्मलाग्दो छ । अझ यसो भनौँ, यो असन्तुष्टि हामी नेपालीहरूको सनातनी चरित्र र स्वभावविरुद्ध छ । हामी पाउँदा होइन, नपाउँदा असन्तुष्ट हुने जात हौँ । अर्काेले पाएर आफूले पाएनौँ भने भीषण रुष्ट हुने प्राणी हौँ । छिमेकीको छोराले कक्षामा राम्रो अंक प्राप्त गरोस्, हामी असन्तुष्ट । साथीले आफ्नोभन्दा भव्य मोबाइल बोकोस्, हामी असन्तुष्ट । गाउँलेका करेसामा सागसब्जी फस्टाऊन्, हामी असन्तुष्ट । यसरी अरूको भएर आफ्नो भएन भने असन्तुष्ट हुने संस्कारलाई यसपाला कर्णालीले किन धावा बोलेको हो ? बुझिसाध्य छैन । प्रधानमन्त्रीले दिनै नहुने दिन्छु भन्नुभएको पनि होइन । प्रष्ट बुझिने भाषामा चामल दिन्छु भन्नुभएको हो । बरु चामल नपाउने अरू भूगोलहरू असन्तुष्ट हुनुपर्ने हो । कर्णालीले पाएर आफूहरूले नपाएको विषयमा अन्य क्षेत्रबाट आक्रोश आउनुपर्ने हो । तर, अचम्म ! पाउने कर्णाली नै रिसाएर उत्पात छ ।
प्रधानमन्त्रीको चामल घोषणा सार्वजनिक भएपछि कर्णालीबाटै प्रधानमन्त्रीलाई चामल उपहार पठाउने अभियान चल्यो । अभियान देख्दा यस्तो लाग्थ्यो, काठमाडौँको नजरमा दरिद्र र दीनहीन कर्णाली, आफ्नै सामथ्र्यमा उभिन सक्षम छ । मानौँ, हिजोआज कर्णालीमा स्रोतसाधन फालाफाल छ । कर्णालीवासीहरू प्रधानमन्त्रीले अरू सबै योजना र घोषणा नगदमा गरेर आफूहरूसँग सम्बन्धित विषयचाहिँ जिन्सीमा गर्नुभएकोमा आक्रोशित छन् । उनीहरू आफू अपमानित भएको महसुस गरिरहेका छन् । चामल उपहार अभियानका पछाडि अपमानको बदलाले काम गरिरहेको छ ।
पहिलोपटक प्रधामन्त्री हुँदा सम्माननीय प्रधानमन्त्रीले देश र जनतालाई केही दिन पाउनुभएन । रुकमांगद कटवालसँग लिने दाउ गर्दागर्दै उहाँले बालुवाटार छोड्नुप¥यो । बालुवाटार छोडेपछि मात्र उहाँले दिनुको महŒव बुझ्नुभयो । त्यसैले यसपाला उहाँको समग्र ध्यान दिनमै केन्द्रित छ । देश र जनतालाई दिन हतारिनुभएका प्रधानमन्त्रीले कर्णालीलाई पनि केही न केही दिनुपर्छ भन्ने सोचेर चामल दिने घोषणा गर्नुभएको हो । कर्णाली कथामा चामल र महामारी मुख्य विषय हुन् । सायद प्रधामन्त्रीलाई लाग्यो– सम्बोधनै गर्नुपर्छ भने मुख्य विषयमा सम्बोधन नगरेर शाखा विषयमा किन गर्ने ? आखिर कामाडौँका लागि कर्णाली भनेको चामल नदेख्नेहरूको दुःखपुर हो । जहाँ चार किलो चामलका लागि मानिसहरू चालिस कोस हिँड्न बाध्य छन् । काठमाडाँैलाई लाग्छ– कर्णालीमा बाटो खनाउनु छ भने चामल दिए पुग्छ । कर्णालीमा आफ्नो राजनीतिक भविष्य बनाउनु छ भने चामल दिए पुग्छ । विश्व खाद्य कार्यक्रम होस् वा नेपाल खाद्य संस्थान, सबैले कर्णालीको दुःख देखेका छन् भने चामलमै देखेका छन् । कर्णालीको खुशी सोचेका छन् भने चामलमै सोचेका छन् । सबैलाई लागेको कुरा हाम्रा क्रान्तिकारी प्रधानमन्त्रीलाई पनि लाग्यो । यसमा के अन्यथा भयो र ? प्रधानमन्त्रीले पनि सोच्नुभयो होला, कर्णालीमा सबैभन्दा सुनिने विषय चामल नै हो । यदि चामललाई केन्द्रमा राख्न सकियो भने आफ्नो नौमहिने म्यादी कार्यकाल कर्णालीको हकमा सफलीभूत हुनेछ ।
कर्णालीमा बल्छी होइन, माछा दिने सनातनी परम्परालाई हाम्रो प्रधानमन्त्रीले निरन्तरता मात्र दिनुभएको हो । सबैले माछा दिँदा हुन्छ भने आफू र आफ्नो सरकारले पनि किन बल्छी दिने झन्झट बेसाउने ? सायद प्रधानमन्त्रीलाई यस्तै लाग्यो । कर्णालीमा आधुनिक कृषि अभ्यास वा जुम्लाको मार्सीधान फल्ने फाँटमा आधुनिक धानखेतीभन्दा तयारी चामलको बोरा नै अर्थपूर्ण मान्ने परम्पराबाट हाम्रा प्रधानमन्त्री पनि कसरी अछुतो रहन सक्नुहुन्छ ? किनकि, यो कार्यकाल उहाँको पहिलो कार्यकाल होइन । पहिलो कार्यकालमा उहाँ परम्परा तोड्न आउनुभएको थियो । यो कार्यकालमा परम्परा धान्न आउनुभएको छ ।

Leave A Comment