रंगमञ्चमा नयाँ पुस्ता

शनिबार, ०१ असोज २०७३, १२ : १३ गोपाल दाहाल , Kathmandu
रंगमञ्चमा नयाँ पुस्ता

रंगमञ्चमा दुई वर्षअघि पाइला टेकेकी प्रेसिका निरौला राम्रो सम्भावना बोकेकी कलाकारका रूपमा देखिएकी छिन् । ‘किनाराका स्वरहरू’ नामको सडक नाटकबाट अभिनय थालेकी उनले महिलाविरुद्ध हुने हिंसाका सडक नाटक र ‘अब टाउको कहिले हल्लिन्छ’ नाटकमा अभिनय गरेकी छिन् । अहिले ‘पुच्छर मान्छे’ नाटकको अभ्यास गरिरहेकी छिन् । दुई वर्षको अवधिमा दर्जनभन्दा बढी म्युजिक भिडियो र फिल्ममा अभिनय गरिसकेकी प्रेसिका भन्छिन्, ‘भिडियो र फिल्मभन्दा नाटकमै मज्जा लाग्छ । किनकि, यसमा आफ्नो सिर्जनशीलता देखाउन पाइन्छ ।’

विष्णु मोक्तान धरान रंगमञ्चमा अर्को आशलाग्दा कलाकार हुन् । सडक नाटक र मञ्चीय नाटकमा अभिनय गरिरहेका विष्णुले धरानमा रंगभूमि कलालय खोलेर अभिनय प्रशिक्षणसमेत गराइरहेका छन् ।

अर्का युवा दीपेन्द्र सिंह दर्नाल धरानको रंगमञ्चमा अर्का आशलाग्दा युवा हुन् । सडक, कचहरी र मञ्चमा गरेर ३० भन्दा बढी नाटकमा अभिनय गरिसकेका उनी धरानको रंगमञ्चको भविष्य राम्रो भएको बताउँछन् ।

रंगमञ्चमा आकर्षित हुने युवा पुस्ताको संख्या बढ्दो छ धरानमा । अनाम धरानका पूर्वअध्यक्ष रंगकर्मी विशाल भण्डारीका अनुसार कलेज पढ्दै गरेका युवा पुस्ता रंगमञ्चमा आकर्षित भइरहेका छन् । तर, विश्वासिलो रंग संस्था नहुँदा उनीहरू अझै अन्योलमा छन् । उनी भन्छन्, ‘अहिले नयाँ पुस्ताको रंगमञ्च आकर्षण साँच्चै लोभलाग्दो छ । त्यसलाई व्यवस्थित गर्न सक्ने हो भने धरानको रंगमञ्च फेरि पुरानो अवस्थामा फर्किन सक्छ ।’

एक दशकअघिसम्म सक्रिय धरानको रंगमञ्च बीचमा लथालिंग अवस्थामा पुग्यो । रंगकर्मबाट व्यावसायिक बन्न नसक्दा केही रंगकर्मी विदेश पलायन भए, कोही अन्य व्यवसायतिर लागे । तर, केही समययता रंगमञ्चका गतिविधि बढ्न थाले र युवा पुस्ताको आकर्षण यसतर्फ देखिएको छ । रंगमञ्चमा आएकामध्ये केही युवाको आशलाग्दो काम र सक्रियताले नयाँ पुस्ताले फेरि धराने रंगमञ्चलाई पुरानै अवस्थामा सक्रिय बनाउने आशा गर्न थालिएको छ ।

केही समययता पुराना नाट्य संस्थाहरू पुनर्गठन हुँदै सक्रिय बन्न थालेका छन् । ती संस्थाको सक्रियतासँगै नयाँ पुस्ता पनि बढिरहेका छन् । अहिले धरानमा दुई दशक पुरानो संस्था आरम्भ नाट्य समूह पुनर्गठन भएर ‘आरम्भ नाट्य डबली’ नामबाट अभिनय प्रशिक्षण र नाटक अभ्यास गर्दै छ । पुराना रंगकर्मी गोपाल देवानको लेखन र सन्तोष थेवेको निर्देशनमा नाटक ‘अधुरो क्यानभास’ मञ्चनका लागि पानस गुरुङले अभ्यास गरिरहेकी छिन् । पहिला यो नाटकमा अहिलेका फिल्म निर्देशक सुरज सुब्बा नाल्बोले अभिनय गरेका थिए । पुनर्गठित आरम्भको कार्यालयमा केही दिनअघि आइपुगेका सुरजले भने, ‘धरानको रंगमञ्च जाग्दै रहेछ । पहिला मैले पनि संघर्ष गरेको ठाउँ ज्यादै खुशी लागेको छ ।’

दुई दशक पुरानो अर्को संस्था सहारा नाट्य समूह पनि पुनर्गठन हुँदै थिएटर सहारा बनेको छ । यसले कृष्ण साह यात्रीले लेखेको नाटक पुच्छर मान्छे असोज १५ गते धरान सभागृहमा प्रदर्शन गर्ने लक्ष्यसाथ दैनिक अभ्यास गरिरहेको छ । नवीन मेन्याङ्बो र रविन श्रेष्ठले निर्देशन गरिरहेको नाटक पुच्छर मान्छेमा पुरानासँगै नयाँ पुस्ताका कलाकारहरूले अभिनय गर्दै छन् ।

आरम्भ र सहाराबाहेक नाट्यकर्मी महासंघ पनि धरानमा सक्रिय छ भने लामो समय विवाद र मुद्दामामिलामा अल्झिएको अनाम पनि अदालतबाट विवाद टुंगो लागेपछि पुनः सक्रिय हुने रंगकर्मीहरूको आशा छ । यसरी केही महिनायता धरानमा बाक्लै रंगमञ्चीय गतिविधि हुन थाल्नु र नयाँ पुस्ताका आशलाग्दा अनुहार देखिन थाल्नुले आशावादी बनाएको छ, रंगकर्मी रविन श्रेष्ठलाई । विभिन्न नाटकको लेखन, निर्देशन र फिल्म ‘पार्सल’को निर्देशन गरिसकेका रविन भन्छन्, ‘केही चुनौतीसँगै रंगमञ्चमा राम्रो सम्भावना देखिएको छ । त्यसलाई व्यावसायिक र व्यवस्थित गरेर अघि बढ्न सके भविष्य राम्रो हुन्छ ।’
धरानको रंगकर्मलाई नाटक देखाउने राम्रो हल नहुनु मुख्य चुनौती छ । त्यसबाहेक नाटक लेख्ने मान्छे नहुनु र व्यावसायिक बनाउन सकिन्छ कि सकिँदैन भन्ने अन्योल चुनौतीका रूपमा देखिएका छन् । तर, युवा पुस्ताको उत्साजनक सहभागिता र रंगमञ्चप्रति चासो देखाउने दर्शकको बढ्दो संख्याले पुराना रंगकर्मीलाई पनि जोश बढेको छ । तर, अहिलेका रंगकर्म बुझ्ने दर्शकका अपेक्षा, मञ्चनका आधुनिक शैली चुनौतीका रूपमा छन् । लामो समय रंगकर्मबाट सुस्ताएर अहिले सक्रिय बनेका रंगकर्मी गोपाल देवान भन्छन्, ‘नयाँ र पुराना पुस्ता मिलेर धरानको रंगकर्मलाई पहिलाजस्तै सक्रिय बनाउन सकिन्छ । हामी त्यसैको अभ्यासमा छौँ ।’

 

Leave A Comment