‘आमाको चड्कन सम्झाउने सुर्केथैली’

सोमबार, २४ जेठ २०७३, १२ : ३५
‘आमाको चड्कन सम्झाउने सुर्केथैली’

तपाईं आएपछि भेलबाढी जस्तो चर्चामा आउनुहुन्छ । अनि, फेरि सुस्ताउनुहुन्छ । ‘वार्ता गराइदेऊ’ हिट भएपछि हराउनुभएको थियो । फेरि, ‘सुर्केथैली’बाट चर्चामा आउनुभयो । यस्तो किन ?
गर्न त म काम गरिरहेको हुन्छु । तर, विशेष गीतका लागि चाहिँ केही समय ‘एक्सरसाइज’ गर्छु । ‘वार्ता गराइदेऊ’ गीतअघि एल्बम ‘पञ्चामृत’ ल्याएको थिएँ । त्यो पनि चलेकै थियो । विशेष गीत चाहिँ योजना बनाएरै गरिरहेको हुन्छु । अबको दुई वर्षपछि ल्याउने गीतका लागि म अहिलेदेखि नै वर्कआउट गरिरहेको छु ।

भनेपछि केही वर्षको अन्तरालमा एउटा बजार पिट्ने गीत ल्याउनैपर्छ भन्ने मानसिकताअनुसार चल्नुहुन्छ, हो ?  
बजार पिट्नेभन्दा पनि राम्रो गीत ल्याउने योजनामा हुन्छु । ‘सुर्केथैली’ गीत पनि मेरो पाँच वर्षअघिको प्लानिङ हो । तर, सोचाइ चाहिँ १० वर्ष अघिको थियो । यो गीतको शब्द र संगीत मैले साढे चार वर्ष लगाएर पूरा गरेको हुँ ।

गीतलाई युट्युबमा ७८ लाखभन्दा बढी पटक हेरिसकियो । सम्भवतः सबैभन्दा बढी हेरिएको नेपाली गीत यही होला । प्रयोग हुन छाडिसकेको ‘सुर्केथैली’ कसरी आयो दिमागमा ?
सुर्केथैली मेरो हजुरआमा, आमाले बोकिराख्नुहुन्थ्यो । हाम्रा पुर्खाले बनाएको एउटा वैज्ञानिक ब्याग हो यो । त्यसको जुन चारवटा तुना हुन्छ, त्यसलाई दुइटा तुना मिलाएर खोल्न जानेन भने खुल्दैन । मैले एक दिन आमाको सुर्केथैलीबाट पैसा चोर्न खोज्दा त्यो दुइटा तुना खोल्न जानिनछु । थैली नै च्यातियो । त्यो थैलीको त्यतिबेला निकै महŒव थियो । आमाहरूका लागि ठूलो सम्पत्ति हुन्थ्यो त्यो । किनकि, त्यहाँ पैसा, गरगहनाजस्ता महŒवपूर्ण सामान राखिन्थे । त्यसैले थैली च्यातिएपछि मैले पनि नराम्रोसँग चड्कन खाएँ । त्यो चड्कनले मलाई सुर्केथैली सम्झाइरह्यो । बेला–बेलामा भक्तपुर घुम्न जाँदा टुरिस्टलाई बेच्न राखेको सुर्केथैली देख्ने गर्थें । तर, मान्छेले सुर्केथैली भन्ने शब्द बिर्सिसकेको लाग्यो । गीतमा राखेँ । आमाको त्यो चड्कन अहिले मेरो जीवनका लागि महŒवपूर्ण कुरो बन्यो ।

त्यो गीतमा तपाईंले ठेट शब्द बढी प्रयोग गर्नुभएको छ । बुझिएन भन्ने गुनासो कत्तिको आयो ?
सबैले यो गीत हेरे, सुने र मन पराए । तर, शब्दमा राम्रोसँग ध्यान निकै कमले दिएको जस्तो लागेको छ । मैले स–सानो शब्द प्रयोग गर्दा पनि सकेसम्म असभ्य नसुनियोस् भनेर ध्यान दिएँ । किनभने, गीत लामो समयसम्म टिकोस् भन्ने मलाई लाग्छ ।

गीत भाकामा पनि ठेट ल्याउनुभयो । गाउँघरतिर सुनेकै हो कि ?
क का कि की कु कू के कै सानोमा पढ्दाखेरिको सम्झना हो । सरले खूब लय मिलाएर यसलाई घोकाउनुभयो । त्यो साह्रै मीठो लाग्थ्यो । संगीत कसैले आकाशबाट ल्याउने होइन । यहीँ भइरहेको कुरालाई यताउति चलाउने हो र त्यसलाई संयोजन गर्ने हो । जसले अरूको मन छुने गरी संयोजन ग¥यो त्यसको राम्रो हुने हो । मैले पुरानै कुरालाई केही नयाँ तरिकाले गर्न खोजेको हुँ । खासमा फाइभ स्टार होटेलमा गुन्द्रक र ढिडोलाई राम्रोसँग पस्केर दिएको जस्तो मात्रै हो यो । बाँकी सबै सुनेको, थाहा पाएको र बुझेको कुरा हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रेल गुडाउने सपना देखेका बेला तपाईंले नयाँ गीतमा ‘पूर्वपश्चिम रेल’ प्रयोग गर्नुभएछ । मौकाको सदुपयोग गरेको हो ?  
होइन, संयोग भयो । यो त तीन वर्षअघि लेखेको शब्द हो । फिल्मका लागि भनेर लेखेको पनि होइन । सांगीतिक जीवनमा संयोग यसअघि पनि भएको छ । मैले एउटा गीत निकालेँ, ‘हात्ती आयो हात्ती आयो फुस्स्मा’ । यो गीत निस्केको केही दिनमै संविधानका विषयमा कान्तिपुर दैनिकको ब्यानर समाचार यही हेडलाइनमा आयो । गीतलाई त्यसले सपोर्ट ग¥यो । त्यसअघि ‘वार्ता गराईदेऊ’ गीत ल्याउँदा पनि वार्ताकै कुरा धेरै भइरहेको समय थियो । गीत निस्केको एक हप्तापछि जनआन्दोलन सुरु भयो ।

नेपाली फिल्ममा लोकसंगीतको प्रयोग हराउन थालेको थियो । लोकसंगीत रहेको गीत हिट भएपछि फिल्मबाट खूब अफर आइरहेको होला, त्यस्तै गीतका लागि ?  
अफर त धेरै आइरहेको छ । संगीतमा हामी त धेरै सम्पन्न रैछौँ । कसैसँग सापटी लिनुपर्ने रैनछ । मैले यही माटोमा दुईचार कोदालो खन्ने प्रयास गरेँ । सबैले रुचाउन संगीत निस्कियो । हाम्रो सांगीतिक माटो निकै सुगन्धित रैछ । नेपालीमा मीठो शब्द छैनन् भन्ने गुनासो खूब सुनिन्छ । छन्, हामीले खोजेका रैनछौँ । हामी नेपालीलाई जहाँ गए पनि नेपालीपन मन पर्छ । नेपाली अर्थात् आफ्नो सुगन्ध र रङ बोकेको गीत झन् मन पर्छ  ।


तपाईंले अघि एउटै गीतका लागि चारपाँच वर्ष लागेको कुरा गर्नुभयो । गीत बनाएपछि आउने आयले यत्रो धैर्य गरेर सिर्जना गर्न दिन्छ र ?
म आफ्ना लागि काम गर्छु । सबैसँग मेरो जस्तै धैर्यता हुनुपर्छ भनेको पनि होइन । मेरो आफ्नै तरिका छ । म एउटा काम गरेपछि फेरि शून्यमा झर्न चाहन्छु । किन त्यसो गर्छु भने एउटै गीत हिट भयो भनेर ममा अहम्, दम्भ र घमण्ड पलाउला भन्ने पिर हुन्छ । यी चिजले सिर्जना गर्न दिँदैनन् अर्थात् एउटैको स्टारडममा रमाएर जीवन चलाउने स्वभावको होइन म । पुलपुलिएर वा मातिएर आफैँलाई सिध्याउन पनि चाहन्नँ ।

धेरै गीतको संगीत गर्नुहुन्छ । राम्रो लाग्यो भने आफँै गाउनुहुन्छ । नढाँटी भन्दा तपाईं गायक बन्न रहरले यो क्षेत्रमा आएको हो ?
सबैको बालापनदेखिको एउटा कथा हुन्छ । मैले एसएलसी गरिन्जेलसम्म गीतसंगीतको नामै लिइनँ । परिवारमा पढ्नुपर्छ भन्ने धारणा थियो । सुनिरहन्थेँ तर गुनगुनाउने काम मबाट भएन । गीत सुन्दा नारायण गोपाल, गोपाल योञ्जन, अम्बर गुरुङका सुनेँ । गोपाल योञ्जनबाट यति प्रभावित थिएँ कि काठमाडौँ आएर उहाँलाई एकपल्ट भेट्छु भनेर फोन गरेँ । उहाँ बिरामी हुनुहुन्थ्यो । निको भएपछि आऊँ भन्नुभयो । मेरो दुर्भाग्य उहाँ निको हुनु भएन, देहान्त भयो । उहाँको आवाज फोनमा भए पनि सुन्न पाएँ । मास्टर्ससम्म दायाँबायाँ नगरी पढेँ । एक वर्ष एअरपोर्टमा जागिर पनि गरेँ । २०५६ तिर हो, मलाई गीत गाउन मन लाग्यो । केही समय सिकेँ, माहोल बुझेँ । त्यसपछि २०५९ सालमा ‘मायालु आउने जाने बाटोमा’ पहिलो गीत रेकर्ड गराएँ । गीत हिट भयो । त्यो गीत चलेपछि दिनेश डिसी र नरेश भट्टराई दाइले ‘यो केटासँग प्रतिभा छ भनेर ममाथि लाखौँ पैसा खर्च गर्नुभयो । नवीन के भट्टराई, अनिल सिंह, सुगम पोखरेल सबैका लागि कम्पोज गरेँ । खासमा उहाँहरूको आवाजमा मेरो सिर्जना रेकर्ड गराउने लोभ थियो त्यो । गीत हिट भए, म संगीतकार भएँ । पछि त अरूलाई गाउन लगाउँदा आफूले गाउन बिर्सेछु ।

‘वार्ता गराइदेऊ’मा पनि टिपिकल थिम छ । गीतलाई तेहरी बनाउनुभयो । कसरी आयो आइडिया यो ?
सिर्जना भन्ने कुरा प्लान गरेर हुँदो रैनछ । मेरो एउटा दाइ काठमाडौँ युनिभर्सिटीमा पढाउनुहुन्थ्यो । उहाँले बस्न बोलाउनुभयो । केही दिन बस्न भनेर गएँ । हावा खान निस्किँदा ‘सम्धीज्यू, सम्धीज्यू’ दिमागमा आइरह्यो । मनमा शब्द खेलाएपछि म त्यहाँबाट सीधै कोठामा आइपुगेँ । लेख्न थालेँ, सरर लेखेको अगाडिको तीन लाइन आफैँ आयो । ‘जोईपोइको झगडा परालको आगो’ जस्ता टिपिकल शब्द आए । त्यसपछि गीत आफैँले घोत्लिएर हेरेँ । न दोहोरी हो, न लोक हो । के हो, के हो ? के चाँहि बन्यो त । दोहोरी भनूँ भने दुईजनाको सम्वाद हुन्छ । तेहरी हुन्छ भने ठानेँ । शब्दकोश पल्टाएर हेरेँ तीन पक्षको सम्वादलाई तेहरी भनिँदो रैछ । त्यसपछि त्यसलाई मैले तेहरी भनेँ ।


‘६क्का ५न्जा’को गीतले पनि रेकर्ड बनाउने छाँटकाँट देखायो त ?
गीत राम्रो होस्, मान्छेलाई मन परोस् भनेर बनाको हुँ । तर, रेकर्ड राखोस् सारा संसार पिटोस् भनेर बनाएको चाहिँ होइन । तर, सबैलाई मन परेछ । खुशी छु । यो सब टिमवर्कको प्रतिफल हो । सबैले ‘सुुर्केथैली’ अपेक्षा गरेका थिए । फरक आयो । सुरुमा मान्छेहरूले त्यति राम्रो प्रतिक्रिया दिएनन् । पछि दोहो¥याएर सुन्दा मन प¥यो भन्ने धेरै भेटिए ।

नेपाली फिल्ममा लोकगीत र लोकसंगीत ‘रिभाइभ’ हुन लागेको हो ?
यो उहिलेदेखि हुनुपथ्र्यो । म लोकसंगीतको प्रेमी हुँ र लोकगीतकै लोभी हुँ । अझै मसँग धेरै चिजहरू छन् । राखिराछु । लोक शैलीबाट आएका गीत लामो समयसम्म टिकिरहन्छन् ।

 

Leave A Comment