नेपथ्यको ‘रामा रामा’

बिहिबार, ३० भदौ २०७३, ११ : ४८ शुक्रवार , Kathmandu
नेपथ्यको ‘रामा रामा’

आइतवार नेपथ्यको ‘हो रामा रामा’ गीत युट्युबमा सार्वजनिक भएको छ । नेपथ्यका अधिकांश गीतझैँ लोकधुनसँग नजिक रहेर यो गीत तयार गरिएको हो । गायक अमृत गुरुङका अनुसार गण्डक क्षेत्रको घाटु र सोरठी भाकाको लयसँग मिल्दोजुल्दो भाका यो गीतमा रहेको छ । यो गीतलाई नेपथ्यले नै झन्डै दश वर्षअघि लेखेर संगीत भरेको थियो । सन् २०१४ मा दक्षिण कोरियाको राजधानी सिउलमा यो गीत पहिलो पटक गाइएको थियो । यस गीतको भिडियोलाई फेरि सिउलमै प्रदर्शनको निम्ति जानै लागेको बेला नेपथ्यले आमदर्शकका निम्ति युट्युबमार्फत् सार्वजनिक गरेको छ । २०१६ को सेप्टेम्बर १५ तारिखमा नेपथ्य सिउलमा गाउँदै छ ।


लछुमनको ‘अतीत’
गीतकार लछुमन गुरुङको नयाँ गीति एल्बम ‘अतीत’ सार्वजनिक भएको छ । आइतवार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले एल्बमको विमोचन गरेका थिए । एल्बममा ‘गाउँघरको हल्ला’, ‘भोजपुरको माटो’, ‘भुलेको छैन’ आदि बोलका छवटा गीत समावेश छन् । एल्बममा रीमा गुरुङ, भीषण मुकारुङ राई र मुस्कान मुकारुङ, गणेश रसिक, सुनिता थेगिम र सागरसंसार राईले स्वर दिएका छन् । एल्बमका सबै गीतमा पारस मुकारुङले संगीत दिएका छन् ।

सञ्जीव–टीकाको ‘तिमी मलाई मन पर्छ’
गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईंको ‘तिमी मलाईं मन पर्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बममा टीकाकै शब्द र संगीत रहेको छ । गीतको म्युजिक एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । जीवन रसाइलीले निर्देशन गरेको गीतको भिडियोमा रसना प्रधान र विशाल भारतीले अभिनय गरेका छन् ।

अनुपको ‘जब तिमीलाई देखेँ’
गायक अनुप रिजालको ‘जब तिमीलाई देखेँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी विकास लामिछानेको शब्द रहेको गीतमा अनुप स्वयंको संगीत रहेको छ । हरिशरण रिजालले निर्देशन गरेको गीतको भिडियोमा काजोल खनाल र करण विकको अभिनय रहेको छ ।

‘आनिइन हिलिहाङ’ सार्वजनिक
हिलिहाङ हाक्पारे पालम सयङ ‘समूह’ले ‘आनिइन हिलिहाङ’ नामक भीसीडी संग्रह ल्याएको छ । समाजसेवाको उद्देश्यले लिम्बू समुदायका युवाहरूको यो समूहले ऐतिहासिक हाङ हिलिहाङ दरबारको प्रवद्र्धन र संवद्र्धन गर्ने हेतुले भीसीडी ल्याएको हो । यस भीसीडीको शनिवार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्वकुलपति तथा कवि बैरागी काइँलाले विमोचन गरे । भीसीडी संग्रहमा जम्मा पाँचवटा गीत तथा भिडियो छन् । ती सबै भिडियोको निर्देशन लोकेन साँवा लिम्बूले गरेका हुन् । सीताकुमार सिंगक, राजेशपायल राई, मनु नेम्वाङ, जशोदा सुब्बा, ओम कुरुम्भङ, श्रेयसी चेम्जोङ र दीवश पयांगुको स्वर रहेको उक्त गीतको भिडियोमा पार्वती राई, निशा पोमुलगायत हिलिहाङ हाक्पारे पालम सयङकै कलाकारहरूको अभिनय रहेको छ ।

कर्णको ‘ह्याङ बनायौ’
गायक कर्णराज गिरीको ‘ह्याङ बनायौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नारायण बस्नेतले लेखेको गीतमा विकास चौधरीले संगीत भरेका छन् । अर्जुन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र मोडल गम्भीर विष्टले अभिनय गरेका छन् ।

 

Leave A Comment