वैदेशिक रोजगारीमा ठगी रोक्न चुनौती

बुधबार, २९ भदौ २०७३, १० : ३८ रुद्र खड्का , Kathmandu
वैदेशिक रोजगारीमा ठगी रोक्न चुनौती

देशमा काम गरेर खान सक्ने अवस्था नहुँदा यतिखेर युवा पुस्ताका लागि वैदेशिक रोजगारी बाध्यताको ‘स्वीकार’ भइसकेको छ । ‘देशमै केही गरौँ’ भन्नेका लागि एकातिर अवसर छैन भने अर्कोतर्फ जोखिमै मोल्दा पनि परिस्थिति अनुकूल नहुँदा बर्सेनि लाखौँ युवा वैदेशिक रोजगारीमा जानु परिरहेको यथार्थ हो । युवाका लागि वैदेशिक रोजगारी बाध्यता बनेपछि यतिखेर हरेक नेपाली कुनै नकुनै माध्यमबाट वैदेशिक रोजगारीसँग जोडिन पुगेको हुन्छ । सर्वसाधारणको निकै चासोको विषय बन्दा राज्यका विभिन्न निकायको ध्यान पनि वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नतर्फ जान थालेको छ । त्यसका लागि विभिन्न प्रयास भएको देखिन्छ । तर, वैदेशिक रोजगारीको क्रममा भएको ठगीको तथ्यांक हेर्दा भने त्यस्ता प्रयास केवल ‘हावादारी’ हुन् कि भन्ने लाग्छ ।
...
२०६८ साल मंसिर महिना । कपिलवस्तु, चन्द्रौटाका मुस्ताक कमाल वैदेशिक रोजगारीमा जाने निर्णय गरी काठमाडौँ आए । गाउँकै चिनेजानेका राजेश यादवले उनलाई राजधानीको नाम  चलेको म्यानपावर कार्यालयमा पु¥याए ।  वैदेशिक रोजगारीमा जान आतुर कमालसँग म्यानपावर कार्यालय पुगेकै दिन यादवले ५० हजार रुपैयाँ मागे । र, यादवले आश्वस्त पार्दै भने,  ‘साउदी पठाउने तयारी हुँदै छ । एक लाख रुपैयाँजति खर्च होला । ५० हजार अहिले र  बाँकी  ५० हजार रुपैयाँ जानेबेला दिनुपर्छ ।’
वैदेशिक रोजगारीमा आफ्नो उज्जवल भविष्य देखेका २२ वर्षीय (२०६८ सालमा) कमालले म्यानपावर कार्यालयबाटै चन्द्रौटामा रहेका सालोलाई फोन गररेर भने, ‘म्यानपावरले एक सातामै साउदी पठाउने भनेको छ । त्यसैले तुरुन्तै ५० हजार रुपैयाँ चाहियो ।’ भिनाजुको आम्दानीको स्रोत नहुँदा दिदीले भोगिरहेको पीडा झल्झली देखेका सालाले आफूसँग भएको १० हजार रुपैयाँ र छिमेकीसँग सयकडा दुई प्रतिशत ब्याज लाग्ने गरी ४० हजार जुटाएर अर्को दिन भिनाजुले भने अनुसार ५० हजार रुपैयाँ आईएमई गरेर काठमाडौँ पठाइदिए ।
५० हजार रुपैयाँ म्यानपावरलाई बुझाएपछि कमालको बसाइ गौशालाको एउटा होटलमा हुन थाल्यो  । रकम बुझाएको एक साताजतिमा साउदीको उडान हुने आश्वासन पाएका कमाल त्यतिबेला झसंग भए । जतिबेला रकम बुझाएको एक सातापछि रकम बुझ्ने यादव सम्पर्कविहीन भए । गाउँमा फोन गर्दा यादव नफर्केको जबाफ र म्यानपावरमा पुग्दा सम्पर्क नभएको जानकारी पाएपछि कमाललाई आफू ठगिएको भन्नेबारे अब शंका बाँकी रहेन ।
त्यतिबेलासम्म न उनीसँग खल्तीमा रकम बचेको थियो,  न होटलको बिल तिर्ने रकम थियो । उनले पुनः सालोलाई फोन गरी सबै यथार्थ बताएपछि १० हजार रुपैयाँ मगाए । चन्द्रौटाबाट पठाएको रकम हात पारेपछि उनलाई एकपल्ट म्यानपावर कम्पनी पुगेर घर फर्कन मन लाग्यो । चित्त बुझाउनैका लागि म्यानपावर पुगेका कमाललाई सोही कार्यालयमा भेटिएका सन्तोष गुरुङ नाम गरेका एक अधबैँसेले सल्लाह दिए, ‘यति थोरै रकम गुम्दा पनि चिन्ता गर्ने ? मैले भनेको मान्ने हो भने महिनामै ५० हजार रुपैयाँ कमाउन सक्छौँ ।’ गुरुङले यस्तो वाक्य मुखबाट निकालेको के थिए कमालले जबाफ फर्काए, ‘हुन्छ, भने अनुसार गर्छु ।’
सन्तोष गुरुङलाई ‘हुन्छ’ भन्ने जबाफ दिएपछि उनै सन्तोषको सहयोगी भएका कमाललाई यतिखेर न के खाऔँ न के लगाऔँ भन्ने चिन्ता छ । उनलाई महिनामा ५० हजार रुपैयाँ कमाउन कुनै गाह्रो छैन । वैदेशिक रोजगारीमा पठाउने भनी ५० हजार रुपैयाँ कुम्ल्याएका उनका पुराना साथी यादवसँगको सम्बन्ध पुनः सुध्रिसकेको छ ।  
...
झट्ट सुन्दा कमालको यस्तो बयान कुनै फिल्म या उपन्यासको कथाजस्तो लाग्न सक्छ । तर, यो कुनै कथा नभएर वास्तविक तथ्यमा आधारित घटना हो । घर खर्च टार्न वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीसँग जोडिएको भित्री पाटो हो ।
निकै लामो प्रयासपछि सम्पर्कमा आएका उनले वैदेशिक रोजगारीको क्रममा कसरी आफू ठगिएको र अहिले सोही ठगीलाई कसरी निरन्तरता दिइरहेका छन् भन्नेबारे एक÷एक घटना सुनाए । ‘सायद, २०६८ सालमा ५० हजार रुपैयाँ नगुमाएको भए म यतिखेर साउदीको कुनै कम्पनीमा मासिक २०÷२५ हजार रुपैयाँका लागि आठ घण्टा घोटिएको हुन्थेँ,’ कमालले भने, ‘जसरी म ठगिएँ । अहिले  म त्यसरी अरूलाई त ठगिरहेको छैन । वैदेशिक रोजगारीमा जानेहरूलाई सहयोग गरिरहेको छु । र, सहयोगबापत लिने रकमले महिनामा ५०÷६० हजार रुपैयाँ कमाउन गाह्रो छैन ।’ वैदैशिक रोजगारीमा जाने युवायुवतीलाई ‘सहयोग’ गरेकै कारण कसरी उनी महिनामा सहजै ५०÷६० हजार रुपैयाँ कमाउँछन् त ? कमाल भन्छन्, ‘गाउँबाट आउने युवायुवतीलाई म्यानपावरसम्म पु¥याउने । र, त्यसबाट प्रतिव्यक्ति १०÷१५ हजार रुपैयाँ लिँदा पनि जुटिहाल्छ त्यति रकम ।’
दिनप्रतिदिन वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढिरहेकाले विदेश पठाउने युवायुवती खोज्न अहिलेसम्म गाउँगाउँ चहार्नु नपरेको उनको भनाइ छ । ‘मैले गर्ने काम भनेको हरेक दिन नयाँ बसपार्क पुग्नु हो,’ कमालले भने, ‘वैदेशिक रोजगारीमा जान खोज्ने तिनै युवायुवतीलाई म्यानपावरसम्म पु¥याइदिन्छु । धेरैजसो त गाउँबाटै एजेन्टको सेटिङमा आएका हुन्छन् । जो युवायुवती सेटिङविना आएका हुन्छन्, उनैलाई म्यानपावर पु¥याइदिन्छु ।’
उनका अनुसार यतिखेर देशभरि कम्तीमा पाँच हजारको गुजारा वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई म्यानपावरसम्म पु¥याइदिएकै भरमा चल्छ । ‘जसरी मिडियामा म्यानपावरवालाले युवायुवती ठगी गरे भन्ने खबर आउँछन् । त्यसमा सबै दोष म्यानपावरवालाको मात्र हुँदैन,’ उनले भने । वैदेशिक रोजगारीमा जानेमध्ये करिब आधाजसो दुई÷तीन एजेन्ट हुँदै म्यानपावरसम्म पुग्ने उनको भनाइ छ । कमालले भने, ‘एउटै एजेन्टले १५ हजार रुपैयाँ लियो भने पनि तीनजनालाई बुझाउनु पर्दा कामदारले ४५ हजार रुपैयाँ म्यानपावर नपुग्दै सक्छ । म्यानपावरलाई ५०÷६० हजार रुपैयाँ बुझायो भने पनि कामदारको एक लाख रुपैयाँ त भिसा प्रक्रियामै सकिन्छ ।’ वैदेशिक रोजगारीमा जानेमध्ये धेरैजसो आफन्त र चिनजानेकै व्यक्तिबाट ठगिने उनको भनाइ छ । ‘आफन्त या गाउँमा चिनेजानेसँग नै कामदारले वैदेशिक रोजगारीको बारेमा पहिला सोधपुछ गर्ने हो,’ कमालले भने, ‘त्यो व्यक्तिले जिल्ला सदरमुकामको एजेन्ट, जिल्लाको एजेन्टले काठमाडौँको एजेन्ट अनि काठमाडौँको एजेन्टले म्यानपावरसम्म कामदारलाई पु¥याउने अहिलेको प्रचलन हो ।’
...
तीन महिनाअघि गल्फ इनोभेसन म्यानपावरलाई १ लाख ४० हजार रुपैयाँ बुझाएर दुबईको मोटास कम्पनीमा पुगेका दीपक गुरुङको वैदेशिक रोजगारी  आठ दिनमै टुंगियो । यहाँको स्वास्थ्य परीक्षणमा ‘फिट’ भएर दुबई पुगेका गुरुङलाई  रोजगारदाता कम्पनीले स्वास्थ्य परीक्षण गर्दा ‘अनफिट’ भएको रिपोर्ट देखायो । र, गत अक्टोबर ५ तारिखमा नेपाल फर्काइदियो । स्वदेश फर्केलगत्तै एजेन्ट र म्यानपावरले ठगेको भन्दै गुरुङले वैदेशिक रोजगार विभागलगायत निकाय गुहारिरहेका छन् । तर, कतैबाट पनि सहयोग पाउन नसकेको उनको गुनासो छ । म्यानपावरले दुबई पठाउनुअघि गुरुङलाई स्वास्थ्य परीक्षण गराएको तथा नगद रसिद बुझेको कुनै पनि प्रमाण नदिएका कारण नियमणकारी निकायलाई यतिखेर उक्त विवाद टुंगोमा पु¥याउन कठिनाइ भइरहेको छ । ‘वैदेशिक रोजगारीमा जानुअघि नै म्यानपावरसँग स्वास्थ्य परीक्षणको रिपोर्ट मागेको थिएँ । तर, म्यानपावरले काम चाहिएको हो या रिपोर्ट भन्दै अल्झायो,’ गुरुङले गुनासो गरे ।
वैदेशिक रोजगारीको क्रममा हुने गरेका विभिन्न ठगीका घटनामध्ये माथि उल्लेख गरिएका दुई उदाहरण फरक प्रवृत्ति र फरक शैलीका भए पनि यस्ता घटनाले नेपालको वैदेशिक रोजगार पूरै थिलथिलो पारेको छ । वैदेशिक रोजगारीको क्रममा हुने गरेका ठगीका घटना हेर्दा लाग्छ– एजेन्ट र म्यानपावर वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सहयोग गर्न स्थापना नभई केवल उनीहरूसँग आर्थिक संकलन गर्नकै लागि खोलिएका मात्र हुन् । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेल भन्छन्, ‘म्यापावरको ठगी अति भो ! त्यसैले अब कडा कानुन नबनाई भएको छैन  ।’
पछिल्लो समयमा जसरी वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढ्दो छ । त्योभन्दा निकै दु्रत शैलीमा ठगीका घटना बढिरहेको सरकारी अधिकारीहरू बताउँछन् । वैदेशिक रोजगारीमा जान लालायित युवायुवती अत्यधिक ठगिनुमा मुख्य रूपमा म्यानपावर दोषी रहेको सरकारी अधिकारीको भनाइ रहे पनि म्यानपावर सञ्चालक भने एजेन्टका कारण बदनाम भएको दाबी गर्छन् । ‘एजेन्टहरूले कामदारसँग मनपरी रकम असुल गर्ने अनि त्यसको दोष म्यानपावरलाई थुपार्न मिल्दैन,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल भन्छन्, ‘संघले एजेन्ट खारेज गरी म्यानपावरका शाखा कार्यालय खोल्न पटकपटक माग गर्दा सरकारी कर्मचारी नै मान्दैनन् ।’ वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवायुवती पाइलैपिच्छे ठगिने क्रम बढिरहे पनि त्यसको रोकथामको लागि गतिलो प्रयास अहिलेसम्म हुन सकेको छैन ।
ठगीबाट बचाउने दायित्व कसको ?
वैदेशिक रोजगार ऐन २०६४ लाई आधार मान्ने हो भने वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउने र कामदार ठगीबाट बचाउने दायित्व वैदेशिक रोजगार विभागको हो । म्यानपावर कम्पनीहरूको नियमन, छानबिन तथा वैदेशिक रोजगारीबारे नियमित प्रक्रियाको काम गर्ने जिम्मेवारी पाएको विभागका कर्मचारी नै के काम गर्न हुन्छ र के काम गर्न हुँदैन भन्ने अलमलमा पर्दा त्यसको मार सर्वसाधारणले खेप्नु परिरहेको छ । ‘वैदेशिक रोजगार ऐन २०६४ बनाउँदा नै कैयन दफा अस्पष्ट भएका कारणले कर्मचारी अलमलमा छन्,’ विभागका कानुन निर्देशक गोविन्दप्रसाद उपाध्याय भन्छन्, ‘पीडितलाई न्याय प्रदान गर्ने हो भने अहिलेको पूरै प्रणालीमा परिवर्तन गर्न आवश्यक छ ।’
वैदेशिक रोजगारीको क्रममा पीडित भएको या ठगिएको भन्दै दिनप्रतिदिन उजुरी दर्ता हुने क्रम बढिरहेको छ । विभागका अनुसार वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै वर्षमा सरदर २५ सय उजुरी पर्ने गर्छन् । कतिपय पीडित प्रहरीमा उजुरी गर्छन् । कतिपय पर्याप्त सूचनाको अभावमा उजुरी नगरी पीडा सहन बाध्य हुन्छन् ।

‘रोकथाम संयन्त्र प्रभावकारी छैन’
विक्रमसिंह थापा
प्रमुख, महानगरीय प्रहरी परिसर, काठमाडौँ
पछिल्लो समयमा वैदेशिक रोजगारीका कारण अन्यायमा परेको भन्दै उजुरी दिने क्रम बढेको छ । केही दलाल र गलत समूहले वैदेशिक रोजगारीको माध्यमबाट सोझासीधा जनतालाई दुःख दिने गरेका छन् । गलत धन्दा चलाउने यस्ता समूहलाई सखाप पार्न राज्यले नयाँ किसिमको रणनीति तय गर्नुपर्ने आवश्यकता छ । अहिले भएका रोकथामका संयन्त्रले आपसमा मेल खाएनन् कि भन्ने लागेको छ । अहिले भएका संयन्त्र प्रभावकारी नहुँदा नै समस्या समाधान हुन नसकेको हो । हुनतः वैदेशिक रोजगारीको क्रममा  ठगी गर्नेलाई सशक्त कारबाही गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई छ । तर, गलत काम गर्ने समूह घट्नुपर्ने बेला बढिरहेको देखिन्छ । मेरो विचारमा समस्या बल्झिनुको कारण सबै संयन्त्रबीच समन्वय हुन नसकेर हो कि जस्तो लाग्छ । यतिखेर प्रहरीले पनि वैदेशिक रोजगारीको क्रममा पीडित भएको भन्दै उजुरी गर्नेलाई सहयोग गर्न  धेरै समय खर्चनु परिरहेको छ । वैदेशिक रोजगारीको नाममा कसैलाई आर्थिक, कसैलाई शारीरिक रूपमा ठग्ने धन्दा फस्टाएको देखिन्छ ।

‘जापान मोहमा ठगिएँ’
रजना सुनार
कास्की–२ पोखरा
जापान जानका लागि चिनेजानेकै पार्वती जिम्बालाई तीन लाख रुपैयाँ दिएको हुँ । उनलाई पहिला पोखरा बस्दा नै चिनेकी हुँ । उनी बीचमा  जापान पनि गइछन् । पछि जापानबाट फर्केर आएपछि २५ जना लैजाने माग आएको छ भन्दै रकम उठाएकी हुन् । रकम लिने बेला जिम्बाले  साउनमा उडाउँछु भनेकी थिइन् । उनले भनेको समयमा जापान जान भनेर काठमाडौँ आउँदा त जिम्बा फरार भइसकेकी रहिछन् । अहिले उनको सम्पर्क कतै पत्ता नलाग्दा गुमेको रकम कसरी फिर्ता लिने भन्नेबारे चिन्ता थपिएको छ ।

 

Leave A Comment