‘कार पुछेँ, भुजिया बेचेँ... एक्टर बनेँ’

सोमबार, २७ भदौ २०७३, १० : ४३ शुक्रवार , Kathmandu
‘कार पुछेँ, भुजिया बेचेँ... एक्टर बनेँ’

फिल्म ‘रेशम फिलिली’को पात्र ‘हरिया’लाई दर्शकले राम्ररी ग्रहण गरे । फिल्ममा हरियाले झैँ कलाकार बन्न कामेश्वर चौरसियाले वास्तविक जीवनमा पनि निकै संघर्ष गरेका छन् । बारा, जीतपुरका उनले के गरेनन् ? दिल्ली पुगेर कार पुछ्ने काम गरे । काठमाडौँमा तेल, भुजिया र साबुनको मार्केटिङ गरे । उनी अभिनीत फिल्म ‘पलाँस’ प्रदर्शनको क्रममा छ । हाल फिल्म ‘लुट–२’को छायांकनमा व्यस्त छन् उनी । उनीसँग अनिल यादवले अन्तरंग कुराकानी गरेका छन् ।

जीतपुरदेखि नेपाली फिल्मसम्मको तपाईंको कथा सुनाउनुस् न ।
बाल्यकालदेखि नै एक्टर बन्ने सोख थियो । गाउँघरमा बिहे होस् कि नौटंकी रामलीला, नाच्न मन लागिहाल्ने ! साथीहरूले पनि उक्साउँथे नाच्न । अनि, म नाच्दिहाल्थेँ । ०६० सालतिर प्लस टू सकेपछि एक्टर बन्छु भन्ने लक्ष्यका साथ राजधानी छिरेको हुँ । त्यसपछि जीवनमा धेरै उतारचढाव आए । यहाँसम्म पुग्नलाई मलाई १२ वर्ष लाग्यो । जीवनमा धेरै हण्डर खाइयो । धेरै थोक गुमाइयो ।

भन्नाले ?
भन्नाले मैले धेरै अवसर छाडेँ । पैसा कमाउने थुप्रै बाटा छोडेँ । पढाइ पनि पूरा गर्न सकिनँ । राम्रो जागिर पनि पाउन सकिनँ । किनकि, मलाई एक्टर बन्नु थियो त बन्नु थियो । भोकभोकै बसेर सानोतिनो काम गरेर भए पनि यहाँसम्म आइयो । संघर्ष त अहिले पनि जारी छ ।

संघर्ष गरेको लामो भयो भन्नुभयो । बाहिरबाट देख्दा तपाईंको करिअर त भर्खर सुरु हुँदैछ जस्तो लाग्छ ?
राम्रोसँग नोटिस्ड भएको भनेकै ‘रेशम फिलिली’बाट हो । त्यसैले यस्तो लाग्नु स्वाभाविक हो । तर, मेरा लागि त करिअर त्यही दिनबाट सुरु भएको हो, जतिबेला म विद्यार्थी बन्नका लागि गुरुकुल पुगेको थिएँ । तर, कोटा पूरा भइसकेकाले त्यहाँ ज्वाइन गर्न पाइनँ । त्यतिबेला गुरुकुल नाटक महोत्सव हुँदै थियो । म स्वयंसेवीका रूपमा सहभागी भएँ । त्यहीँ राम्रा–राम्रा रंगकर्मी र फिल्मकर्मीलाई चिनियो । रिहर्सल र नाटक हेर्ने काम भयो । यतिकै उँभो नलागिने रैछ भन्ने महसुस भयो । दिल्लीको नेसनल स्कुल अफ ड्रामाबारे सुनेको थिएँ । त्यसपछि त्यता ट्राई गर्ने निधो गरेँ । र, खल्तीमा एक हजार रुपियाँ बोकेर दिल्ली लागियो । तर, त्यहाँ पनि पढ्न पाइएन । बाहिर एनएसडीको पूर्वविद्यार्थीले नाटकको कक्षा दिन लागेको थाहा पाएँ । र, डेढ वर्ष पढेँ । सिकेर मात्र केही हुँदो रैनछ । धेरै कुरा चाहिने रैछ । त्यसैले चुपचाप काठमाडौँ फर्किएँ । यहाँ आएर रंगकर्मी अनुप बरालसँग तीन महिनाको कक्षा लिएँ । त्यसपछि एकदुईजनाका आँखामा परियो । भूषण दाहालको ‘हाम्रो टिम’ नामक सिरियलमा तीन एपिसोड काम गर्ने मौका मिल्यो । पर्दामा पहिलोपल्ट देखिने मौका त्यहीँबाट मिलेको थियो ।

संघर्षका बेला गुजारा चलाउने आधार चाँहि के थियो ?
के–के चाहिँ थिएन र ? एक्टर बन्नलाई जीवनमा केमात्र गरिएन ? दुनियाँ दिवाना गरियो । साथीहरूकोमा गएर अनेक काम गर्नेदेखि पसलपसलमा पुगेर तेल, साबुन र भुजियाको मार्केटिङ पो गरिएन कि ? दिल्लीमा त झन् पीडादायी थियो मेरो जीवन । बाँच्न र बाँचेर एक्टर बन्नका लागि मैले कार पछ्नेदेखि घरघरमा सामान पु¥याउनेसम्म सब काम गरेँ । अहिले पनि म लोकल बसमा हिँड्छु । सामान्य जीवन जिउन रुचाउँछु । सबैले कलाकार भनेर चिने भने लाइफस्टाइल मेन्टेन गर्न गाह्रो हुन्छ भन्ने लाग्छ ।

तपाईंको पहिलो फिल्म ‘छड्के’ हो ?
खेल्न त त्यसभन्दा अगाडि पनि थुप्रै फिल्ममा खेलेको थिएँ । ‘लुट’मा दयाहाङ राईंसँग लुडो खेल्दै गरेको सिन थियो नि, हो त्यो केटो मै त हो नि  । ‘हाइवे’मा ऋचा शर्माको पछाडि जँड्याहाका रूपमा झण्डै डेढ सेकेन्डजति देखिने पनि मै त थिएँ नि । सुटिङ भएअनुसार एक–डेढ मिनेटसम्म त देखिन्छु भन्ने लागेको थियो । त्यस्तै ‘उमा’ मा पनि प्रहरी हवल्दार बनेर हाकिमको पछिपछि हिँड्ने मै थिए । कसैले वास्ता पो गरेन त ? तर, अलिकति धेरै सिन पाको पहिलो फिल्म चाहिँ ‘छड्के’ नै हो ।

‘छड्के’मा अफर कसरी आयो ?
मलाई सौगात मल्लले रिफर गर्नुभएको थियो । मधेशी क्यारेक्टरको खोजी भइरहेको रहेछ । ‘एकपल्ट यसको अडिसन लिऊँ न त’ भनेर मलाई सिफारिस गर्नुभएको थियो । त्यसपछि म छानिएँ ।  

फिल्म ‘रेशम फिलिली’मा तपाईंले बोल्नुभएको एउटा डायलग छ– ‘तेरो किस्मत छ गान्डु, तँ किन आइस् काठमान्डू ?’ । यही फिल्मबाट तपाईंको किस्मत बदलियो है ?
हो । यही फिल्म हो जहाँ मैले पूरा अवधिभर देखिने मौका पाएँ । फिल्म हेरिसकेपछि धेरैले मेरो कामको तारिफ पनि गर्नुभयो । यति हुँदाहुँदै पनि त्यो डायलग कुनै न कुनै मोडमा चाहिँ मेरो जीवनसँग मिल्थ्यो । अहिले पनि सम्झँदा कस्तो–कस्तो लाग्छ ।

यो फिल्ममा मधेशी पात्रका रूपमा तपाईंको चरित्र चित्रण जसरी गरिएको थियो, त्यसलाई लिएर फिल्म समीक्षकहरूले टिप्पणीसमेत गरे । फिल्मभित्र तपाईंले रिसको झोकमा बाख्रासँग जबर्जस्ती संसर्ग गर्न खोजेको दृश्यसमेत थियो । तपाईंलाई अप्ठेरो लागेन ?
शुक्रवारमा मैले पहिले पनि भनिसकेको छु । त्यो मेरो बाध्यता थियो । जब म अडिसन दिन पुगेको थिएँ, त्यतिबेलै मलाई यो सिन सुनाइएको थियो । सुन्नेबित्तिकै ‘यो त अति नै भएन र’ भन्ने प्रश्न पनि गरेको थिएँ । तर, यो गर्न नसक्ने भए काम दिन नसकिने कुरा भयो । त्यसपछि मैले एक हप्ता सोचेँ र फिल्ममा काम गर्ने निर्णय गरेँ । किनकि, १० वर्षदेखि म फिल्म क्षेत्रमा भौँतारिरहेको थिएँ । अभिनय क्षमता देखाउने मौका पाइरहेको थिइनँ । त्यसैले मसँग अर्को विकल्प थिएन । एक–दुइटा सिन त्यस्तो भएर के भयो त, क्षमता त देखाउन पाउँछु भन्ने मलाई लाग्यो । र, मैले त्यसै गरेँ । फिल्म रिलिज भइसकेपछि मेरो कामको सबैले प्रशंसा पनि गरे । अर्को कुरा, बाख्रासँगको सिनमा ठ्याक्कै फिल्ममा देखाइए जसरी गर्ने भन्ने पनि थिएन । सुरुमा अलि अर्कै थियो । पछि रिलिज हुने बेलामा अर्कै भइदियो । जसरी भनिएको थियो त्यसरी देखाइएन । मलाई एक मन त अवसर पाएँ भन्दैमा यतिसम्मको भूमिका गर्नुहुन्न भन्ने त लागेको थियो । तर, एक्टर बन्ने सानैदेखिको जुन मेरो भूत थियो, त्यसले सबैथोक भुलाइदियो ।


तपाईंभित्रको एक्टरलाई सबैभन्दा पहिले महसुस गर्ने तपाईं आफैँ हो या अरू कोही छन् ?
म आफैँ नै हौ । मलाई चिन्ने मान्छेहरू मलाई देखेर हाँस्थे, मुस्कुराउँथे र खुशी हुन्थे । किन यसरी हाँसेको होला भनेर बुझ्दा ‘तिमीलाई भेटेपछि क्या मज्जा आउँछ’ भन्ने टाइपका कुराहरू आउँथे । अनि मलाई लाग्थ्यो– ‘म मान्छेलाई इन्टरटेन गर्न सक्छु, खुशी पार्न सक्छु ।’ र, त्यही म आज गरिरहेको छु, गर्ने कोसिसमा छु  ।

संघर्षका दिनमा तपाईंले कत्तिको अस्वीकृत हुनुप¥यो ?

अनगिन्ती पटक । ५० भन्दा बढी फिल्ममा अडिसन दिएर रिजेक्टेड भएँ होला । त्यतिबेला जति पनि फिल्मको अडिसन खुल्यो भन्ने सुन्थेँ, दिन गइहाल्थेँ ।

अस्वीकृत हुनुको कारण के जस्तो लाग्छ ?
खास कारण त थाहा भएन । सायद मेरो नै कमजोरी थियो । म रोलका लागि फिट थिइनँ होला । तर, ती रिजेक्सनहरूबाट नै मैले धेरै कुरा सिकेँ। रिजेक्सनले मलाई बलियो बनायो ।

‘रेशम फिलिली’मा तपाईं हिरो बन्ने सपना बोकेर राजधानी छिरेको एउटा मधेशी पात्रको भूमिकामा हुनुहुन्छ । वास्तविकतामा पनि भएको त यही होइन र ?
हो । तर, म हिरो होइन, एक्टर बन्नलाई राजधानी आएको हुँ । अनि एक्टर बन्नलाई मैले गरेको संघर्ष त्यो फिल्ममा भन्दा केही फरक छ । केही त मैले अघि नै बताइसकेँ । र, एक्टर बन्न सजिलो छैन भन्ने त त्यो फिल्मले पनि भन्छ । अर्को रमाइलो कुरा चाहिँ के भने यो फिल्मको स्क्रिप्ट सुरुमा सुनाउनेबित्तिकै मलाई एकपल्ट त लागेको थियो– ‘अरे, यो त मेरो कथा चोरेको त होइन ? ’ तर, होइन रहेछ ।

संघर्षका दिनमा तपाईंले कहिल्यै आफ्नो सपनालाई तिलाञ्जलि दिएर जीतपुर (गाउँ) फर्किने सोच्नुभयो ?
एकचोटि मात्र होइन, धेरै चोटि । ‘लास्टै भयो, अब नसकिने रहेछ, फर्किनुप¥यो’– यस्तो त मेरो मनले कति सोच्यो–सोच्यो । घरका मान्छेले पनि विश्वास गर्न छाडिसकेका थिए मलाई । ‘यो गर्, त्यो गर्’ भनेर अनेक सुझाव पनि नआएका होइनन् । गाउँमा त ‘कामेश्वर हिरो बन्ने सुरमा बिग्रियो’ सम्म भन्न थालिसकेका थिए । संघर्षका दिनमा काठमाडौँ आउने–जाने त कति भयो कति ! अर्को वास्तविकता के हो भने मेरा संघर्षका दिन अझै सकिएका छैनन् । आजका यी दिन पनि संघर्षकै हुन् ।

मिलेको जीउडाल र चकलेटी अनुहार भएका नै यहाँ हिरोका लागि लायक ठानिने परम्परा छ । तपाईं पनि यो परम्पराको मारमा पर्नुभएको हो ?
अहिलेका फिल्म मेकर्समा यस्तो सोच छ जस्तो लाग्दैन । तर, एउटा यथार्थ के भने यो सोच अहिलेसम्म कायमै छ । मान्छेलाई त आफ्नो अनुहार कहिल्यै नराम्रो लाग्दैन । मलाई अझै याद छ मेरा केही साथीहरू ‘यो पनि हिरो बन्ने रे’, ‘हिरो जस्तो अनुहार छैन’ आदि भनेर जिस्काउँथे । कतिले त अझै पनि भन्छन्, ‘तँ मधेशी हो, जीवनभरमा तैँले मुश्किलले दुईतीनटा राम्रो फिल्म पाउँछस् । नत्र सबैले तलाईं मजाकको पात्र बनाउँछन् ।’ कहिलेकाहीँ त मलाई पनि सही हो जस्तो लाग्छ । मेरो जस्तो अनुहारलाई लिएर सबैले फिल्म बनाउलान् भन्ने पनि लाग्दैन । यहाँ त निर्माताले सेफ साइड खोज्छन् नि । ‘मलाई हिरो होइन, एक्टर बन्नु छ’ मैले दिने जवाफ यही हुन्थ्यो । तर, कोट पाइन्ट, चस्मा, जिन्स पाइन्ट लगाएर मलाई पनि नाच्दै गाउँदै, फाइट गर्दै लभर ब्वाईका रूपमा पर्दामा देखिन चाहिँ मन छ ।

बाटोमा हिँड्दा दर्शकले कत्तिको चिन्छन् ?
कतिले चिन्छन्, कतिले चिन्दैनन् । रोचक कुरा त के छ भने चिन्नेजति धेरैले ‘बोका’ भनेर जिस्काउँछन् । त्यही ‘रेशम फिलिली’को सिनका कारण । कतिले त बोकाको आवाजै निकाल्छन् । ‘डन्ट टच माई मिल्क’ भन्ने डायलग बोल्नेहरू पनि हुन्छन् । त्यतिबेला नमज्जा पनि लाग्छ, चिन्ने त रहेछन् नि भनेर फेरि रमाइलो पनि लाग्छ ।



अहिलेसम्म तपाईंले मधेशी पात्रको भूमिका मात्रै निर्वाह गर्नुभयो । किन होला ?

यो त ठीकै छ । समस्या त कहाँनेर छ भने मधेशी पात्र भन्नेबित्तिकै गम्चासम्चा लाउनैपर्छ, बोल्ने लवजले मात्र मधेशी चिनिन्छ भन्ने छ । प्रष्ट नेपाली बोल्ने चाहिँ मधेशी नै नहुने सोच छ । ‘लुट–२’ मा चाहिँ मलाई बोल्ने कुरामा छुट मिलेको छ । नत्र त मैथिली र भोजपुरी मिसाएरै नेपाली बोल्नुपथ्र्यो । म सधैँ कन्फ्युजनमा छु– यसरी चरित्र चित्रण गरेर मधेशीको प्रतिनिधित्व गराउन खोजेको हो कि दर्शक हँसाउन ?

मधेशी समुदायले नेपाली फिल्म क्षेत्रमा तपाईंको प्रवेशलाई सुखद ठानेका छन् । तपाईंले नि ?
अवश्य पनि  । नेपाली फिल्ममा मधेशी समुदायको प्रवेश भर्खर हुन थाल्दैछ । मधेशका कथाहरू खोजिन थालिएका छन् । मैले पनि अवसर पाएँ भने मधेशी समुदायका एजेन्डा र मुद्दा बोकेका फिल्ममाथि पनि काम गर्ने सोच बनाएको छु । तर, अहिले कमर्सियल फिल्म बढी बनिरहेका छन् । फिल्ममा मनोरञ्जनको कुरा बढी आइरहेको छ । पात्रलाई कसरी जीवन्त बनाउने भन्दा पनि मनोरञ्जक बनाउनेतर्फ निर्देशकहरूको ध्यान बढी छ ।

 

Leave A Comment