डम्बर शाह र कृष्ण शाहसम्बन्धी अशुद्धि

आइतबार, २६ भदौ २०७३, ०९ : ४५ शुक्रवार , Kathmandu
डम्बर शाह र कृष्ण शाहसम्बन्धी अशुद्धि

राजा डम्बर शाहले वनरक्षाको लागि गङ्गाधर उपाध्यायलाई वि.सं. १७०८ ज्येष्ठ १८ गते लेखेको पत्र पाइएको छ । यताबाट डम्बर शाह वि.सं. १७०८ ज्येष्ठ १८ गतेसम्म त राजाको रूपमा अवश्यै थिए भन्ने प्रष्ट हुन्छ । डम्बर शाहका छोरा कृष्ण शाहको पालामा वि.सं. १७१६ श्रावण ३ गते सारिएको चौरपञ्चाशिका पाइएको छ । यताबाट कृष्ण शाह वि.सं. १७१६ श्रावण ३ गतेसम्म त राजाको रूपमा अवश्यै थिए भन्ने प्रष्ट हुन्छ । वि.सं. २०३१ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ३१ पूर्णाङ्कका १७७–१८३ पृष्ठमा छापिएको दिनेशराज पन्तको डम्बर शाहको राज्यकालमा एक विचार भन्ने लेखमा, वि.सं. २०३२ मा प्रकाशित पूर्णिमा ३३ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको गोरखाली राजाहरूका राज्यकाल भन्ने लेखमा (त्यस पूर्णाङ्कका २८, ३०–३१ पृष्ठमा), वि.सं. २०४१ मा काठमाडौँबाट दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास पहिलो भागका १२०, १२५–१२७ पृष्ठमा तथा वि.सं. २०४५ मा दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास तेस्रो भागका ६८२, ६८५ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । यसो भए तापनि अशुद्ध कुराको प्रचार पनि भइरहेको छ । वि.सं. २०७० मा गोरखाबाट विष्णुप्रसाद खनालद्वारा प्रकाशित विष्णुप्रसाद खनालको गोरखा दरबार एक संक्षिप्त चिनारी श्री गोरखनाथ कालीचरित्रको ७ पृष्ठमा डम्बर शाह वि.सं. १६९३–१७०१, कृष्ण शाह वि.सं. १७०१–१७०७ लेखिएको छ । यसरी बाबुछोरा दुवै राजाको राज्यकाल त्यस पुस्तकमा बिगारेर दिइएको छ भन्ने प्रष्ट हुन्छ ।
प्रा. दिनेशराज पन्त

Leave A Comment