उज्ज्वल भविष्य खोज्दै ‘डाइनामिक्स’

शनिबार, २५ भदौ २०७३, ११ : ३८ हिमाल लम्साल , Kathmandu
उज्ज्वल भविष्य खोज्दै ‘डाइनामिक्स’

२०७२ सालमा दुई फरकफरक ब्यान्डका सदस्य जुटेर बनेको ब्यान्ड हो– ‘डाइनामिक्स’ । ‘ब्यान्डका सदस्यहरू विदेश गएर ब्यान्डलाई निरन्तरता दिन सकेका थिएनौँ । हाम्रैजस्तो पीडा अर्काे ब्यान्डका सदस्यले पनि भोगिरहेका रैछन्,’ डाइनामिक्सका भोकलिस्ट सागर थापामगरले भने, ‘दुवै ब्यान्डका सदस्य मिलेर नयाँ ब्यान्ड बनायौँ ।’
‘लेभल एन्ड टेब्रेल’ ब्यान्डबाट कर्मा तामाङ, ग्याल्जेन तामाङ र ‘थर्ड च्याप्टर’ ब्यान्डबाट सागर थापामगर र सुमन महर्जन मिलेर नयाँ ब्यान्ड बनाए । ‘दुइटै ब्यान्डका सदस्यहरूको पुरानै चिनजान थियो । मिलेरै किन ब्यान्ड फर्म नगर्ने ? भन्ने लाग्यो । त्यसैले डाइनामिक्सको सुरुवात ग¥यौँ,’ भोकलिस्ट सागरले भने ।
डाइनामिक्स ब्यान्डको भोकलिस्टमा सागर थापामगर, पर्कसनिस्ट ग्याल्जेन तामाङ, गिटारिस्ट कर्मा तामाङ र फ्ल्युटको जिम्मेवारी सुशन तामाङले सम्हालेका छन् ।
‘पहिला एल्बम बिक्थे । तर, अहिले लाइभ म्युजिक, देशविदेशको कन्र्सट, मेलामहोत्सवको सिजनमा लाइभ म्युजिकको अवसर पाइन्छ,’ ब्यान्डका पर्कसनिस्ट ग्याल्जेन तामाङले भने, ‘मेहनत गरे संगीतमा भविष्य उज्ज्वल छ ।’
म्युजिकमा भविष्य आफैँ खोज्नुपर्ने भोकलिस्ट सागरको अनुभव रहेको छ । ‘नेपालमा संगीतको स्कोप छैन भनेर बस्ने होइन । म्युजिकमा भविष्य त आफैंँ खोज्ने हो नि !’ उनले भने, ‘संगीतमा नै लागेरै करोडौँं रुपैयाँ कमाउन नसकिएला । तर, राम्रोसँग जीवनयापन त पक्कै पनि गर्न सकिन्छ ।’
डाइनामिक्स ब्यान्डले काठमाडौँको नाम चलेका रेस्टुरेन्ट, बार र पबमा नियमित प्रस्तुति गर्ने अवसर पाउँदै आएको ब्यान्डका सदस्य सुशन महर्जन बताउँछन् । ‘ब्यान्डले साताको छ दिन नियमित सांगीतिक प्रस्तुति दिँदै आएको छ,’ सुशनले भने, ‘इबिजा, फुल मुन, दरबार, भिक्ट्रोरीलगायत ठाउँमा  प्रस्तुति दिन्छौँ ।’
ब्यान्डका चारै सदस्यले संगीतको फरकफरक विधामा ज्ञान हासिल गरेका छन् । ‘हाम्रो ब्यान्डमा विविधता झल्किन्छ । हामी चारैजनाले फरकफरक विधामा तालिम लिएका छौँ । त्यसैले नेपाली संगीतमा फरक स्वाद दिन चाहन्छौँ,’ गिटारिस्ट कर्मा तामाङले भने ।
‘हाम्रो जान्रा पप र रक हो । तर, कर्मसियल गीत पनि गाउनैपर्छ,’ भोकलिस्ट सागरले भने, ‘स्रोता÷दर्शकको  चाहनाअनुसार गीत प्रस्तुत गर्दै आएका छौँ ।’ डाइनामिक्सले उपत्यका बाहिर पनि कार्यक्रम गरिसकेको छ । कैलाली, कञ्चनपुर, दाङ, बुटबल, पोखरा, पाल्पालगायत ठाउँमा रोड शोमा ब्यान्डले प्रस्तुति दिइसकेको कर्मा तामाङले बताए । ‘धेरैभन्दा धेरै दर्शकलाई मनोरञ्जन दिन चाहन्छौँ,’ उनले भने, ‘त्यसैले काठमाडौँ बाहिरका कन्र्सटमा सहभागी हुन्छौँ ।’
ब्यान्डका भोकलिस्ट सागरले फिल्म ‘साया’ को ‘जति सताउँछौ’ भन्ने गीतमा स्वर दिएका छन् । गीतमा शब्द प्रमेश गुरुङको र संगीत संयोजन ब्यान्डकै गिटारिस्ट कर्माले गरेका छन् ।

 

Leave A Comment