‘एसिडलाई जित्ने मेरी दिदी’

बिहिबार, २३ भदौ २०७३, ०१ : ११ शुक्रवार , Kathmandu
‘एसिडलाई जित्ने मेरी दिदी’

बलिउड अभिनेत्री कंगना रनोट सफलताको शिखरमा छिन् । बेलामौका उनीसँगै देखिन्छिन्, उनकी बहिनी रंगोली रनोट । दिदीबहिनी उस्तै देखिन्छन् । केही महिनाअघि भारतीय एउटा मासिक पत्रिकाका लागि दिदीबहिनीले फोटोसुट पनि गरेका थिए, जसमा कंगनासँगै रंगोली पनि स्टाइलिस देखिएकी थिइन् । रंगोलीको हेयर स्टाइल सधैँ एकनासे हुन्छ । उनको कपालले देब्रेपट्टिको गाला छोपिरहेको हुन्छ । गाला र घाँटीको भाग छोप्ने प्रयत्न हो यो । सन् २००६ मा रंगोलीमाथि एसिड आक्रमण भएको थियो । यस दुर्घटनापछि उनले ५७ वटा सर्जरीबाट गुज्रिनुप¥यो । एउटा भारतीय मिडियासँग कंगनाले रंगोली दुर्घटनामा पर्दाको अनुभव बाँडेकी छिन्ः

त्यतिखेर रंगोली २३ वर्षकी थिइन् । कलिलो उमेरमा उनले शारीरिक र मानसिक पीडा भोग्नुप¥यो । उनी असाध्यै राम्री छिन् । सन् १९९९ मा फिल्म ‘ताल’ रिलिज हुँदा हामी स्कुल पढ्थ्यौँ । त्यतिबेला मानिसहरू उनको तुलना ऐश्वर्या रायसँग गर्थे । उनका आँखा असाध्यै राम्रा थिए । शारीरिक बनावट पनि भव्य थियो । ‘मेरो सुन्दरताको प्रशंसा कसैले गर्दैन’ भनेर म उनको डाह गर्थें ।
तर, सुन्दरता नै उनको शत्रु बन्यो । एकजना युवक रंगोलीको प्रेममा पागल थियो । धेरै वर्षदेखि ऊ रंगोलीलाई पछ्याइरहेको थियो । तर, मेरी दिदीले आमाबुबाले खोजेको केटा रोजिन् । रंगोलीको प्रेममा बौलाहा भएको प्रेमीले उनीमाथि एसिड फ्याँक्यो ।
एसिड आक्रमणपछि समयमै पीडितले उपचार पाएन भने एसिडले छालासँगै शरीरका अन्य अंगमा पनि असर पु¥याउँछ । त्यसैले समयमै उपचार गरेर पीडितलाई संक्रमणबाट बचाउन सकिन्छ । एसिडकै कारण रंगोलीको एउटा आँखाको ९० प्रतिशत ज्योति गुमिसक्यो । र, एउटा स्तन पनि खराब भइसक्यो । त्यतिखेर उनलाई सास फेर्दा पनि अप्ठ्यारो हुन्थ्यो । उनको सासनली खुम्चिएको थियो । रंगोलीले भारतमा उपलब्ध सबैभन्दा राम्रो उपचार पाएकी थिइन् । उपचार पाउँदापाउँदै त रंगोलीको यस्तो हालत भयो भने उपचार नपाउने महिलाको के गति हुन्छ होला ?
उपचारका क्रममा उनको ५७ पटक शल्यक्रिया भयो । शल्यक्रिया सजिलो थिएन । यसले पीडितलाई नयाँ अनुहार दिँदैन । रंगोलीको तिघ्राको छाला निकालेर अनुहार र अन्य भागमा लगाइएको थियो । त्यतिखेर म बलिउडमा संघर्ष गरिरहेकी थिएँ । म उनलाई भेट्न गएँ । आमाबुबा रंगोलीको पीडा हेर्न सकिरहेका थिएनन् । म चाहन्थेँ– रंगोली यस शारीरिक र मानसिक पीडाबाट छिट्टै बाहिर निस्किऊन् । र, आफ्नो पीडा व्यक्त गरून् ।
उनी यति ठूलो दुःखबाट गुज्रिरहँदा म उनलाई सान्त्वनाबाहेक केही दिन सक्दिन थिएँ । म कुनै हिरो थिइनँ, जसले उनको पीडा, दुःख र समस्यालाई कम गर्न सक्थ्यो । तर, मेरी दिदी एकदमै हिम्मती थिइन् । उनलाई कुनै हिरोको आवश्यकता थिएन । एसिड आक्रमणमा पर्नेका लागि कुनै आरक्षण छैन । शारीरिक रूपमा सक्षम मानिसका लागि आरक्षण छ । तर, विनागल्ती सजाय पाउनेका लागि आरक्षण छैन । हुन त, मेरी दिदीलाई आरक्षणको आवश्यकता छैन । उनी बहादुर छिन्, आत्मविश्वासले भरिपूर्ण छिन् ।
जुन बौलाहा प्रेमीका कारण मेरी दिदीको यस्तो हालत भयो, ऊ दुई वर्षअघि जमानतमा छुटिसक्यो । हाम्रो समाजमा अपराधीले सजिलै छुट पाउँछ । कुनै कठोर दण्ड छैन उनीहरूका लागि । तर, हुनुपर्ने हो । दण्डको एउटा यस्तो उदाहरण होस्, जसले गर्दा कसैले कसैमाथि यस्तो जघन्य अपराध गर्न नसकोस् । कसैको जीवन बर्बाद गर्न नसकोस् ।
रंगोली दुर्घटनामा परेपछि आमाबुबा अत्यन्तै दुःखी भए । जब उनीहरू रंगोलीको अनुहार देख्थे, बेहोस भएर भुइँमा ढल्थे । चिन्तित हुन्थे, रुन्थे । मैले सबैलाई सम्हाल्नुपथ्र्याे, जो मेरा लागि एकदमै गाह्रो काम थियो । म उनीहरूलाई हस्पिटलबाट घर फर्काइदिन्थेँ ।
रंगोलीको बिहे हुने तय भएको व्यक्ति एयरफोर्समा काम गथ्र्यो । उसलाई रंगोलीका लागि आमाबुबाले रोजेका थिए । उनीहरूले दुई वर्षसम्म डेट गरे । तर, घटनापछि ऊ भाग्यो । उसले रंगोलीसँग सम्बन्ध तोड्यो । ऊ भागेपछि रंगोलीको प्रतिक्रियाले मलाई हैरान बनायो । उनले सजिलै भनिन्– ‘ठीकै छ, केही छैन ।’
पछि रंगोली बाल्यकालको साथी अजयको प्रेममा परिन् । उनीहरूले चार वर्षसम्म डेट गरे । तर, अजयकी आमा उनीहरूको सम्बन्धविरुद्ध थिइन् । तर, यसले पनि रंगोलीलाई तोड्न सकेन ।
पीडाबाट गुज्रिरहेका बेला रंगोलीले बिहेबारे कहिल्यै सोचिनन् । कुरो छिनेको केटोले छोडेर जाँदा बिहेबारे झन् सोचिनन् । तर, पछि अजयसँग प्रेम सम्बन्धमा रहँदा भने उनले बिहेको योजना बनाउन थालिन् । त्यतिबेला उनी दुःखबाट टाढिइसकेकी थिइन् । मैले उनलाई सोधेँ, ‘बिहे भएन भने ?’ उनले निष्फिक्री भनिन्, ‘यदि मेरो बिहे हुनु छैन भने नहोला । यसमा टेन्सन किन लिनु ?’ पछि उनको बिहे भयो । अजय रंगोलीलाई असाध्यै माया गर्छन् ।
रंगोली जुझारु र बहादुर महिला हुन् । म उनीमाथि एउटा फिल्म बनाउन चाहन्छु । सुरुमा कुरा गर्दा उनी त्यति उत्साहित थिइनन् । मैले उनीसँग यसबारे कुरा गर्दा उनले भनेकी थिइन्– ‘यो एउटा सुपर फ्लप फिल्म हुनेछ ।’ तर, म उनीमाथि फिल्म बनाउन चाहन्छु । रंगोलीको जीवन मेरोभन्दा धेरै रोचक र रोमाञ्चक छ ।

Leave A Comment