विषाक्त हावामा सास फेर्छ काठमाडौँ

बिहिबार, २३ भदौ २०७३, १० : ४७ शुक्रवार , Kathmandu
विषाक्त हावामा सास फेर्छ काठमाडौँ

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा काठमाडौँ उपत्यकाको हावामा प्राणघातक कण अत्यधिक रहेको तथ्य फेला परेको छ । हावामा मापदण्डभन्दा धेरै प्राणघातक कण रहेको तथ्य पत्ता लागेपछि परिषद्ले राजधानीवासीलाई ‘मर्निङ’ तथा ‘इभिनिङ वाक’मा निस्कनु स्वास्थ्यका लागि हानिकारक हुने भन्दै सचेत गराएको छ । परिषद्ले ०७० फागुनदेखि ०७१ माघ एक वर्षसम्म काठमाडौँको पुतलीसडक, ललितपुरको महालक्ष्मीस्थान र भक्तपुरको जगातीमा वायुमापक मेसिन (डस्ट मोनिटर) राखेर गरेको अध्ययनले काठमाडौँ उपत्यकाको हावामा प्राणघातक कणको मात्रा अत्यधिक पाएको हो ।
हावामा मिसिएका आँखाले देख्न नसकिने कणले हामीले लिने सासबाट सीधै फोक्सो हुँदै रगतमा मिसिएर जटिल स्वास्थ्य समस्या निम्त्याउने भन्दै विज्ञहरूले उपत्यकाको प्रदूषण घटाउने गरी नीति तथा कार्यक्रम लागू गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन् । उपत्यकाको हावामा १० माइक्रोमिटरभन्दा साना धुलोका कण (पीएमटेन) औसतमा प्रतिघनमिटर १ सय २० माइक्रोग्राम पुगेको सरकारी तथ्यांक छ । जनस्वास्थ्यका दृष्टिले यो डरलाग्दो हो । विश्व स्वास्थ्य संगठनले पीएमटेनको मात्रा प्रतिघनमिटर २० माइक्रोग्रामभन्दा बढी हुन नहुने तोकेको छ । सन् २००७ देखि उपत्यकाको प्रदूषण मापन गर्ने केन्द्र नै बन्द भएकाले यहाँको वायु प्रदूषणको पछिल्लो अवस्था कस्तो छ भन्ने यकिन जानकारी सम्बन्धित निकायसँग छैन । काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा सरकारले तोकेको मापदण्डभन्दा धेरै पीएमटेन पाइने गरेको छ । परिषद्ले गरेको अध्ययनले मंसिर, पुस, माघ, फागुन, चैत, वैशाख र जेठ महिनाको पीएम–२.५ बढेर ४२.३ देखि ८५.५ सम्म पुगेको देखाएको छ । यो राष्ट्रिय मापदण्डभन्दा धेरै नै बढी हो । असार, साउन, भदौ, असोज र कात्तिक महिनामा पीएम–२.५ बढेर १९ देखि ३९ सम्म पुगेको अध्ययनले देखाएको छ । दूषित हावाका कारण फोक्सो तथा मुटुको रोग, हृदयाघात, श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिष्कघात र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोग लाग्ने भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । वातावरणविद् तथा चिकित्सकहरूले जति नै चासो र चिन्ता व्यक्त गरे पनि सम्बन्धित निकायले उपत्यकाको वायु प्रदूषण घटाउने उपायबारे ठोस कदम नचाल्दा उपत्यकावासीमा गम्भीर स्वास्थ्य समस्या महामारीका रूपमा फैलिने खतरा छ ।
हावामा मिसिएको प्रदूषण नाप्ने उपकरण बिग्रिएको करिब नौ वर्षपछि वातावरण विभागले काठमाडौँ, ललितपुर र काभ्रेको धुलिखेलमा वायु प्रदूषण मापनका लागि स्वचालित उपकरण जडान गर्ने भएको छ । विभागले सन् २००२ मा जडान गरेको उपकरण २००७ मा बिग्रिएपछि अहिलेसम्म उपत्यकाको वायु प्रदूषणको मात्र मापन हुन सकेको थिएन । विभागको यो कामलाई वातावरणविद्हरूले सकारात्मक रूपमा लिएका छन् । तर, केही स्थानमा उपकरण राखेर वायु प्रदूषणको अवस्था मापन गर्दैमा अहिले समस्या समाधान हुँदैन । उपत्यकाको वायु प्रदूषणको कारणको निराकरण गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ ।
प्रदूषणका कारण काठमाडौँ उपत्यकाको हावामा कार्बनडाइअक्साइड, कार्बन, सिसाजस्ता हानिकारक तŒवको मात्रा बढिरहेको छ । काठमाडौँ उपत्यकामा जारी सडक विस्तार र सुधार परियोजना बेलैमा पूरा नहुनु, मापदण्ड पूरा नगरेका थोत्रा सवारी साधन अत्यधिक गुड्नु, लोडसेडिङका बेला बिजुली आपूर्तिका लागि धेरै जेनेरेटरको प्रयोग हुनु, बढी धुवाँ निकाल्ने इँटाभट्टा सञ्चालन हुनुलगायत थुप्रै कारणले उपत्यकाको वायु प्रदूषित भइरहेको छ । उपत्यकाका अधिकांश सडक पानी पर्दा हिलाम्मे हुने र घाम लागेपछि धुलो उडेर कुहिरीमण्डल हुने अवस्था छ । सडक छेउमा एकछिन उभिनसक्ने अवस्था छैन । अधिकांश मानिस ‘मास्क’ लगाएर हिँडिरहेका देखिन्छन् । तर, प्रदूषणविद्हरूले उपत्यकाको प्रदूषित वायुलाई सामान्य मास्कले छेक्न नसक्ने भन्दै मास्क लगाएको छु भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् । सबैभन्दा पहिला सडकको अवस्था सुधार हुनुपर्ने विज्ञहरूको सुझाव छ । राजधानीको केन्द्र मानिने सुन्धारा, त्रिपुरेश्वर, जमललगायत अधिकांश चोकमा परेका ठूलठूला खाडल र त्यसमा जम्मा भएको पानी र हिलोका कारण उपत्यकाको सबैतिरको सडक धुलाम्मे हुने गरेको छ । सावरीसाधनको टायरमार्फत एक ठाउँको हिलो अन्य सडकमा पनि पुग्ने र घाम लागेपछि सही हालतमा रहेको पिच पनि धुलाम्मे हुने समस्या छ । अहिले काठमाडौँका अधिकांश सडक हिलो र धुलोले छोपिएको अवस्था छ ।
देशको यातायात व्यवस्थाको बेहाल हेर्न राजधानीका सडक नियाले पुग्छ । राष्ट्रप्रमुखदेखि कार्यकारी प्रमुख र नीतिनिर्माताहरूले दिनहुँ सडकको अवस्था देख्दा पनि सुधारका लागि कुनै चासो नदिनुले देशमा सरकार कतिसम्म गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको छ भनेर बुझ्न सकिन्छ । कमसे कम राजधानीका सडकलाई सही हालतमा राख्न सक्नुपर्छ । उच्च जनघनत्व रहेको शहरलाई कसरी कम प्रदूषित राख्न सकिन्छ भनेर सोच्ने, नीति बनाउने र लागू गर्ने भनेकै सरकारले हो । तर, यहाँ विज्ञहरू जति नै कराए पनि त्यसको सुनुवाइ हुने गरेको छैन । अब उपत्यकावासीले स्वच्छ राजधानीका लागि आफैँले आवाज उठाउनुपर्छ । उपत्यकावासीलाई ‘साँझ–बिहान सडकमा निस्कनु हुँदैन है, प्रदूषित हावा बढी बहन्छ’ भनेर तर्साएरमात्र सरकारको दायित्व पूरा हुँदैन । उपत्यकाको प्रदूषण घटाउने गरी कडाइका साथ योजना लागू गर्न ढिलो गर्नु जनस्वास्थ्यसँग खेलबाड गर्नु हो ।

Leave A Comment