वक्रासन : तिमी बह पोखिराख, म दमन गरिराख्छु

आइतबार, १९ भदौ २०७३, ०५ : ०० विनोदविक्रम केसी
वक्रासन : तिमी बह पोखिराख, म दमन गरिराख्छु

पुरुष हुनुको नाताले, त्यो पनि ‘पुरुष सर्वाेच्चतावादी पुरुष’ हुनुका नाताले तीज मलाई सानदार पर्व लाग्छ । त्यो भन्छन् नि अंग्रेजीमा ‘मेल सुप्रिमेसिस्ट’, हो, मेल सुप्रिमेसिस्ट भएका नाताले म तीजमा बडो हर्षित हुन्छु । देशको सिंगो पर्यावरण पुरुष पूजा, पुरुष अर्चना, पुरुष वन्दनाले ध्वनित÷गुञ्जित हुन्छ । मेरो अभिमान झन्–झन् शक्तिशाली हुन्छ ।


तिमी बह पोखिराख ।
म दमन गरिराख्छु ।


म पुरुष । म स्वामी । म महादेव ।  म पतिदेव । म सुयोग्य वर । म हर्ताकर्ता ।  
तिमी महिला । तिमी पत्नी । तिमी प्रेमिका । तिमी लाचार स्त्री । तिमी कमजोर नारी ।
तीजमा त म आफूलाई झन् सिकन्दर नै ठान्छु । र, तिमी मेरो विजय शोभायात्राको इन्तजाम गरिदिन्छौ ।
यो गुलामी पर्व । यो दासताको उत्सव मनाइ । रातो सारीमा सजिएर तिमी मेरो दीर्घायुको कामना गर्छाै । सुयोग्य वरका निम्ति व्रत बस्छौ, महादेव पुज्छौ । कसले भन्छ रातो रङ क्रान्ति र विद्रोहको मात्रै प्रतीक हो ? यो त गुलामीको पनि प्रतीक हो ।    

मैले खोजेकै यही हो । मैले खोजेकै यस्तै हो । मैले रचेको संसार यस्तै हो । मैले चाहेको संसार यस्तै हो ।

तिमी रोइराख, यही त म चाहन्छु ।

बिलौना गरिराख । गुनासो गरिराख ।

तिमी सवाल नगर । विद्रोह नगर । समानता नखोज । न्याय नखोज । अवसर नखोज ।

तिमी सहनशीला सुशीला हुनुपर्छ । पुरुषको लात र बात सहनुपर्छ । तिम्रो जन्म नै यही अभिशाप भोग्नका लागि भएको हो ।   

तिमी के हौ मेरा लागि ? को हौ मेरा लागि ? बस एउटा देह । बस एउटा वासनामूर्ति । म तिम्रा ओठमाथि गजल लेख्छु, वक्षमाथि सायरी लेख्छु, कम्मरमाथि मुक्तक लेख्छु । तिमी मख्ख पर । म त यसै मख्ख छु ।
तिमी मैले लेखेको तीज गीतमा कम्मर मर्काई–मर्काई नाच । म तिम्रो बह लेखिदिन्छु । तिमी गाऊ । नाच । रमाइलो गर । तिम्रो सोच्ने क्षमता बन्नै हुँदैन । बने पनि म त्यसमाथि हमला गर्छु । गरिरहेकै त हुँ । गरिरहन्छु ।

इतिहास र वर्तमानका केही नामहरू मजस्तो पुरुष अहंकारवादी पुरुषलाई टाउको दुखाइ बन्छन् । र, हरेक वर्ष तिमीले तीज मनाइरहँदा ती नामहरूको कत्लेआम भइरहेको हुन्छ ।

जोन अफ आर्क, मदर टेरेजा, हेलेन केलर, सिमोन दी बुभार, टोनी मोरिसन, हिलारी क्लिन्टन, बेनजिर भुट्टो, मेरी क्युरी, एन्जेला मर्केल, अरुन्धती रोय, रोजा लक्जेम्बर्ग, इरोम शर्मिला, योगमाया, पारिजात... आदि आदि नामहरू । जब तीज यी र यस्ता नामहरूको अस्तित्वको गला नै काटिदिने एउटा हतियार बन्छ, म जस्तो पुरुषले विजेताको मुस्कान धारण गर्छ नै ।

म तिमीलाई अँध्यारोमा राख्न भनिदिन्छु– प्रत्येक सफल पुरुषको पछाडि एउटी महिलाको हात हुन्छ । तिमी दंग पर्छाै । तिमी यसरी दंग परिरहेसम्म म सफल भइरहनेछु युगौँसम्म । मलाई भय छ, कतै तिमीले पुरुषलाई सफल बनाउने आफ्नो हातको कौशल आफ्नै सफलताका लागि लगानी गर्यौ भने ...? तर, हरेक वर्ष तीज आउँछ र म ढुक्क हुन्छु– मेरो सत्तामा तिमीले धावा बोल्नेछैनौ ।

म तिमीलाई सीमित गर्न चाहन्छु । भान्छामा सीमित गर्न चाहन्छु । बेडरुममा सीमित गर्न चाहन्छु । फैलिने र विस्तारिने काम त मेरो हो । तिमीलाई चार भित्ताकी राजकुमारी बनाउन चाहन्छु । र, आफूचाहिँ बन्न चाहन्छु, यो पृथ्वीको सम्राट ।

मलाई तिमी लजाएको मन पर्छ । लाज तिम्रो गहना हो । मलाई तिमी निहुरिएको मन पर्छ । निहुराइ तिम्रो सौन्दर्य हो । मलाई तिमी मप्रति समर्पित भएको मन पर्छ । समर्पण तिम्रो कर्तव्य हो ।

मलाई डर छ– तिमी रामकुमारी झाँक्री, नवीना लामा, दिलु पन्त, रेखा शर्मा, लक्ष्मी खतिवडा आदि बन्लाऊ भन्ने । उनीहरू लजाउँदैनन् । पुरुषसँग चुनौतीको भाषा बोल्छन् । गतिछाडाहरू ! मलाई उनीहरूजस्ता गतिछाडाहरू मन पर्दैनन् । (मलाई त ज्योति मगरजस्ता गतिछाडाहरू मन पर्छन् ।)  

जब तिमी तीजको आनन्दमा डुबिरहेकी हुन्छौ, मग्नमस्त नाचिरहेकी हुन्छौ, म ढुक्क हुन्छु– मेरो पुरुष जगतले जनआन्दोलन ताकाकी अर्काे रामकुमारी झाँक्री झेल्नुपर्ने छैन ।

तिमी बह पोखिराख ।
म दमन गरिराख्छु ।

 

Leave A Comment