तीज गीत लेख्नेहरू

शनिबार, १८ भदौ २०७३, १० : ५८ शुक्रवार , Kathmandu
तीज गीत लेख्नेहरू

एकनारायण भण्डारी
लोकगीत संगीत क्षेत्रमा व्यस्त गीतकार मानिन्छन्, एकनारायण भण्डारी । उनले लेखेका चार सयजति लोकभाका रेकर्ड भइसकेका छन् । धेरैवटा गीतले चर्चा पनि कमाए । उनले ३५ वटा तीज गीत लेखेका छन् । समयअनुसार तीज गीतको प्याटर्न पनि चाँडोचाँडो बदलिएको अनुभव उनको छ । ‘केही अघिसम्म सासुले हेपेको, परदेशबाट चिठी नआएकोजस्ता गीत हुन्थे,’ उनी अनुभव सुनाउँछन्, ‘अहिले फेसबुक, ट्वीटरका कुरा धेरै आउँछन् ।’ समयअनुसार परिवर्तनका नाममा गीतहरू उच्छृंखल पनि बन्दै गएको उनी बताउँछन् । महिलाको ‘फिलिङ्स’ गीतमा ल्याउन अचेल सजिलो ठान्छन् उनी । ‘बरु, पुरुषको जबाफ तयार गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘गाउँसमाजको दृष्टिकोण बुझेर गीत लेख्ने हो । धेरैजसो लगानीकर्ता, गायकगायिकाबाट यस्तो टाइपको गीत चाहियो भन्नुहुन्छ ।’

शिव हमाल
सत्र सयवटा लोकदोहोरी गीत लेखिसकेका शिव हमालले तीजका मात्र ४० वटा गीत लेखेका छन् । लय पनि उनी आफैँले दिन्छन् । उनी आफूले लेख्ने गीतमा समयको दर्पण उतार्न खोज्ने गरेको बताउँछन् । ‘समयको मागलाई क्याच नगर्ने हो भने गीतले हावा खाइहाल्छ,’ उनले भने, ‘तीज गीतमा महिलाका पीडा धेरै आउनुपर्ने हो । तर, अचेल गम्भीर कुरा गीतमा रुचाइँदैनन् ।’ तीजका गीतमा मिसिँदै गएका उच्छृंखल शब्दहरूले लोकसंगीतकै मर्ममाथि प्रहार गरिरहेको उनको बुझाइ छ ।     
 हरि विष्ट
गीतकार हरि विष्टले ठेट लय र शब्दलाई संयोजन गरेर तीज गीत बजारमा ल्याउँदै आएका छन् । यस वर्ष पनि उनका दुइटा तीज गीत सार्वजनिक भएका छन् । दुवैमा लय र शब्द ठेट प्रयोग गरिएको छ । ‘माइतीको देश’ र ‘पानी सलल’ उनले बजारमा ल्याएका हुन् । ‘माइतीको देश’मा गायिका टीका पुन र देवी घर्तीको स्वर रहेको छ । यसको म्युजिक भिडियोमा मोडल रश्मि तामाङ र दिपाशा विसीले अभिनय गरेका छन् । यसै गरी ‘पानी सलल’मा पार्वती ठाडा मगरको स्वर रहेको छ ।

Leave A Comment