रुमाल फाल्नुभो, अब विकृति फाल्नुस्

शनिबार, १८ भदौ २०७३, ०९ : ३१ बालकृष्ण अधिकारी , Kathmandu
रुमाल फाल्नुभो, अब विकृति फाल्नुस्

भदौ १० गते बिहान रेडियो नेपालको समाचारले मलाई हर्ष र बिस्मातको दोसाँधमा पा¥यो । नेपाली कांग्रेसका हजारौँ कार्यकर्ताले पार्टी काम गर्दागर्दै दाह्री फुलाउँदासम्म पार्टीबाट केही पाएका छैनन् तर ३३ वर्षकै उमेरमा संविधानसभा सदस्य हुने सौभाग्य पाउनुभएका तपार्इं ४० वर्ष पुग्दानपुग्दै गणतन्त्र नेपालको स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएको खबर सुनेँ । यो सुनेर हर्षविभोर भएँ । तर, तत्कालै ननिकोजस्तो पनि लाग्यो– मेरा प्रिय नेतालाई अहिले नै मन्त्री बनाएर युवा पुस्ताले मात्र होइन, सबैले आशा गरेको व्यक्तिलाई केवल पूर्वमन्त्री बनाउने चाल कसले चाल्यो ?
जे होस्, कांग्रेसमा युवाले अवसर पाउँदैन भन्नेलाई तपार्इं मन्त्री हुँदा गतिलो जवाफ मिलेको छ । अनि, मजस्ता हजारौँ युवा दंग छौँ । त्यही खुशी साट्न फोन ठोकिहालेँ तर हाम्रा प्राविधिक संस्थाहरू कहाँ भनेका बेला काम लाग्ने किसिमका छन् र ? फोनै लागेन । सोचेँ, अरू बेला त नउठ्ने तपाईंको फोन मन्त्री बनेका दिन के उठ्ला र ? त्यसमा पनि जो पायो त्यसैको फोन उठाउने फुर्सद पनि कहाँ होला तपाईंलाई ? बुके र खादा बोकेर घरसम्मै धाएर बधाई र शुभकामना दिनेको भीड अझै पातलिएको छैन होला तर त्यहाँसम्म आउनसक्ने औकात पनि भएन आफ्नो । आएकै भए पनि तपाईंले सायद चिन्नु हुने थिएन ।
हाम्रो भेट नेपाल विद्यार्थी संघको वीरगञ्ज महाधिवेशनअघि शंकरदेव क्याम्पसमा भएको हो । त्यसयता वाग्मतीमा निकै पानी बगिसक्यो । तपाईं नै संघको महामन्त्री, संविधानसभा सदस्य, पार्टी केन्द्रीय सदस्य, पार्टी महामन्त्रीको उम्मेदवार हुँदै मन्त्री बनिसक्नुभयो । तपार्इं मन्त्री नबनेको भए म पनि किन यसरी चिनिन खोज्थेँ र ?
वीरगञ्ज महाधिवेशनबाट गुरुराज घिमिरे अध्यक्ष निर्वाचित हुँदा तपार्इं महामन्त्रीमा मनोनीत हुनुभो । चितवनसम्म आइपुग्दा हाम्रो भेट आक्कलझुक्कल भई नै रह्यो । त्यसबीच तपाईंले के भन्नुभयो, कति गर्नुभयो, त्यो अर्को पाटो । राजनीतिमा भन्नु र गर्नुबीच आकाश–पाताल फरक हुन्छ, हैन र ?
२०५९ फागुन २० गते हामी धादिङबेसी जाँदै थियौँ, नेविसंघ नीलकण्ठ क्याम्पसले निर्माण गरेको गेटको उद्घाटन गर्न । म दुविधामा छैन, संघको महामन्त्रीको हैसियतले तपाईंको उपत्यकाबाहिरको पहिलो कार्यक्रम थियो त्यो । धादिङ कांग्रेसका नेता (हालका जिल्ला सभापति) रमेश धमलाले व्यवस्था गरेको गाडीमा अघिल्लो सिटमा संघका अध्यक्ष घिमिरे र पछाडि तपार्इं, धमला, बद्री अर्याल र म थियौँ । त्यतिबेला पार्टीभित्रको गुटगत राजनीति कस्तो थियो र कसरी यात्रा तय भएको थियो, मभन्दा बढी सायद तपाईं नै बढी जानकार हुनुहुन्छ । तैपनि, तपार्इंले हाम्रो निम्ता स्वीकार गरिदिनुभयो । हामी हिजो मात्र होइन, आजसम्म पनि तपाईंप्रति नतमस्तक छौँ, त्यस निर्णयका लागि ।
त्यतिबेला राजाले असोज १८ को कदम उठाइसकेका थिए । अर्कोतिर माओवादी हिंसात्मक आन्दोलन उत्कर्षमा थियो । कांग्रेस दोहोरो चेपुवामा थियो, गाउँमा माओवादी, शहरमा राजाको । यही विषयमा चर्चासँगै हाम्रो यात्रा ठमेलबाट सुरु भएको थियो । नागढुंगाको ओरालो झर्दै गर्दा तपार्इंले भन्नुभएको थियो, ‘अब कांग्रेसले गणतन्त्र र संविधानसभाका पक्षमा बोल्न थाल्नुपर्छ ।’
त्यतिबेला मलाई लागेको थियो, यी के भन्दै छन् ? यो कसरी सम्भव छ ? यस्तो विचार मनमा उठ्दै गर्दा तपाईंले फेरि आफ्ना तर्क पुष्टि गर्ने प्रयास गर्नुभयो, ‘माओवादीलाई साथ लिएर जाँदा हाम्रो स्थान कहाँ हुन्छ ? उसले संविधानसभा निर्वाचन र गणतन्त्रको मुद्दा उठाइरहेको छ । त्यही बाटोमा मुलुक अघि बढ्यो भने हाम्रो पार्टीलाई ‘स्पेस’ कहाँ रहला र ? गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) लाई भन्नुपर्छ । ठूला नेताले होइन, हामीजस्ता वा अलि तल्लो तहका नेतालाई यस विषयमा बोल्न लगाउनुपर्छ, त्यसले कांग्रेसका पक्षमा ‘स्पेस’ बनाउँछ ।’ तपाईंले यसरी हामीलाई आश्वस्त पार्न खोज्नुभयो । त्यसमा अध्यक्ष घिमिरेले पनि सही थापे । त्यसैमा बहस गर्दागर्दै हामी गन्तव्य पुग्यौँ । फर्र्केपछि तपाईं र घिमिरे कोइरालासँग त्यसबारे छलफल गर्नुभयो कि भएन, मलाई थाहा भएन । तर, त्यसको केही समयपछि कांग्रेस समर्थित विद्यार्थीले रत्नपार्कमा गणतन्त्रको नारा घन्काउन सुरु गरे । त्यसको केही वर्षमा मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । नेता भनेको त्यो हो, जसले दूरदृष्टि राखेर मुद्दा उठाउँछ, त्यसअनुसार योजना र कार्यक्रम बनाउँछ अनि कार्यान्वयनमा लैजान्छ । तब न तपाईं आम युवाका ढुकढुकी, आशा र भरोसाका केन्द्र हुनुभएको छ ।
प्रिय नेता गगन, बरु तपाईं अहिले नै मन्त्री नबनेको भए हुन्थ्यो कि ? अलि हतारिएझैँ लाग्यो । मलाई निकै चिन्ता लागेको छ । भताभुंग घरको लथालिंग चाल भन्थे बूढापाका । त्यस्तै अवस्थाको हाम्रो आर्थिक, सामाजिक, राजनीतिक अवस्थामा त्यो पनि नौमहिने मन्त्री ? हिजोसम्म कोरा सपना बाँडिदिए पुग्थ्यो, मन्त्री भएपछि बोलेर पुग्दैन, गरेर देखाउनुपर्छ । सयौँ नेपाली आज पनि सिटामोल नदेखी मृत्युवरण गरिरहेका छन् । यस्तो अवस्थामा सामान्य नेपालीका पहुँचमा स्वास्थ्य सेवा कसरी पु¥याउनु ? राजधानीका सरकारी अस्पतालको सेवा र सुविधा सर्वसुलभ बनाउन सके मात्र पनि धन्य हुनेछ ।
हिजोसम्म त डा. गोविन्द केसीले उठाउनुभएको मागमा हतारहतार समर्थन जनाइदिए पुग्थ्यो, जनाउनु पनि भयो । तर अब त्यतिले पुग्दैन । तपाईं नै त्यसलाई कार्यान्वयनमा लैजाने नेतृत्वमा पुग्नुभएको छ । सबैले तपाईंलाई केसी मुद्दा कसरी सम्बोधन गर्छन् भनेर हेरिरहेका छन् । त्यससँगै जोडिएर आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने संसद्मा पुगिसकेको प्रस्ताव अब के हुन्छ ? तपाईंसहित तीनजनाले संसद् सचिवालयमा दर्ता गराएको सार्वजनिक महŒवको उक्त प्रस्ताव अब के होला भनेर सबैले तपाईंलाई नै नियालिरहेका छन् । त्यही प्रस्ताव आज तपाईंको अग्निपरीक्षा साबित हुने अवस्थामा छ । प्रस्ताव दर्ता गराउने अर्का नेता धनराज गुरुङ तपाईं मन्त्री भएसँगै महाभियोग प्रस्ताव तुहिएको गुनासो गरिरहेका छन् । विगतमा भनेका र गरेका यी र यस्ता धेरै काम र कुराले तपार्इंलाई आगामी दिनमा कर्तव्यपथमा झस्काउने र सचेत बनाउनेछन् ।
तपाईसँगै मन्त्रीको शपथ लिएका अरू धेरैलाई आफ्नै मन्त्रालयमै सीमित बने पुग्छ तर तपार्इंलाई त्यो सुविधा छैन । संविधानसभाबाट जारी भएको नयाँ संविधानको कार्यान्वयन, त्यसले निर्दिष्ट गरेको २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन, संविधानप्रति असन्तुष्ट पक्षलाई यसको मूलधारमा ल्याउन खेल्ने भूमिका मात्र होइन, संविधान जारी भएपछि मुलुकभित्र सुरु भएको राष्ट्रियताको नयाँ बहसमा तपाईंको कस्तो प्रस्तुति र भूमिका रहन्छ ? गणतन्त्र ल्याउनुभन्दा जोगाउनु ठूलो कुरा हो । लोकतान्त्रिक गणतन्त्रको जगलाई मजबुत बनाउनुका साथै दैनिक सयौँको संख्यामा विदेशिएका युवालाई अब देशमै केही हुन्छ भन्ने भरोसा जगाउने जिम्मेवारी पनि तपाईंकै काँधमा छ । के युवा के पाका, सबै तपाईंको मुख ताकिरहेका छन् । अरू मन्त्री असफल हुँदा एउटा व्यक्ति असफल हुन्छ तर तपाईं असफल हुँदा एउटा पुस्ता नै असफल साबित हुनेछ भन्ने तपाईंले नै हेक्का राख्नुपर्नेछ । युवा पुस्ता र आम नेपालीको आशा र भरोसा टुट्छ । जनतामा निराशा छाउँछ । यथार्थभन्दा बाहिर गएर अहिले जसले देवत्वकरण गरिरहेका छन्, तिनैले केही समयपछि तपाईंलाई राक्षसीकरण गर्नेछन् । सस्तो प्रचारका लागि तपाईंले मन्त्रीको कार्यभार सम्हाल्ने क्रममै कुर्सीको पुरानो रुमाल फाल्नुभयो । साँच्चिकै परिवर्तनका लागि अब देशमा विद्यमान विकृति फाल्न सक्नुस् । हामीजस्ता युवाको तपार्इंलाई सधैँ साथ र शुभकामना !

Leave A Comment