पारिश्रमिक र सुरक्षा माग्दा कामदार ‘डिपोर्ट’

बुधबार, १५ भदौ २०७३, ११ : ५१ रुद्र खड्का , Kathmandu
पारिश्रमिक र सुरक्षा माग्दा कामदार ‘डिपोर्ट’

अफगानिस्तानको राजधानी काबुलस्थित बेलायती दूतावासमा सुरक्षा गार्डका रूपमा काम गरेका कास्की, पोखराका सत्यराज सापकोटाको हिजोआजको दैनिकी कहिले श्रम तथा रोजगार मन्त्रालय, कहिले वैदेशिक रोजगार विभाग त कहिले अन्य सरोकारवाला निकाय धाउँदैमा बित्ने गर्छ ।
गत असार ६ गते अफगानिस्तानमा रहेको क्यानडाली दूतावासमा सुरक्षा गर्ने नेपाली चढेको गाडीमा आक्रमण हुँदा १३ जना मारिएपछि सापकोटा लगायतले बेलायती दूतावासका अधिकारीसँग सुरक्षा माग्दा उल्टै कामबाट निकालिनुपरेको हो । ‘असुरक्षित स्थानमा सुरक्षाका उपकरण प्रयोग नगरीकनै ड्युटी गर्नुपर्ने भएकाले उक्त घटना भएको हो भनेर के सम्झाउन पाएका थियौँ, दूतावासका अधिकारीले भोलिपल्ट जबर्जस्ती घर फर्काए,’ उनले गुनासो गरे । सापकोटाका अनुसार क्यानडाली दूतावासमा सुरक्षा गार्डका रूपमा काम गर्ने नेपालीलाई कमसे कम सुरक्षाका दृष्टिकोणले बलिया सवारी साधनमा राखेर ओहोरदोहोर गर्ने व्यवस्था मिलाउन सकेको भए अकालमा मृत्यु हुँदैनथ्यो । सामान्य माइक्रोबसमा राखेर दूतावास पु¥याउने र ड्युटी सकिएपछि त्यस्तै सवारीमा डेरा फर्काउँदा नेपालीको ज्यान गएको उनको भनाइ छ ।
नेपाली मात्र चडेको गाडीमा आक्रमण भए पनि कतिपयले आतंककारी समूहको निशाना नेपाली नरहेको बताउने गर्छन् । तर, अफगानिस्तानमा बेलायती, क्यानडाली तथा संयुक्त राष्ट्र संघको कार्यालयमा सुरक्षा प्रदान गर्ने नेपालीहरू आतंककारी समूहको निशानामा पर्दैनन् भन्नु केवल बुझाइको कमी रहेको उनी ठान्छन् । अफगानिस्तानमा रहेको क्यानडाली दूतावासमा सुरक्षा गार्डका रूपमा काम गरेका तनहुँका पदमबहादुर कुँवर आंतककारी समूहका लागि को नेपाली र को बेलायती केही मतलब नहुने बताउँछन् । ‘जो कमजोर हुन्छन्, उनीहरू आंतककारीको हमलामा पर्छन्,’ कुँवरले भने, ‘त्यही भएर गोराहरूको इज्जत धानेका र सुरक्षा गरेका नेपालीले अधिकार र पारिश्रमिकको कुरा उठाएका हुन् । तर, अहिले त्यही मागका कारण उनीहरू घर न घाटका भए ।’
 कास्कीकै लोकनाथ पौडेलका अनुसार अफगानिस्तानमा नेपालीमाथि सुरक्षा जोखिम बढेपछि रोजगारदाता बेलायती दूतावासका अधिकारीसँग त्यसबारे कुरा गर्दा १ सय १५ जनालाई ‘डिपोर्ट’ गरी घर फर्काइएको  छ । घर फर्केका व्यक्तिहरूका अनुसार लामो समयदेखि पारिश्रमिक वृद्धि हुन नसकेको बेला र आफ्नै अगाडि १३ नेपाली मारिएको देख्दा पारिश्रमिक वृद्धि र सुरक्षाको माग गर्नु कुनै गलत काम होइन । तर, मनपरी गर्ने बानी लागेकाले विगतमा नेपालीले गरेको मेहनत र योगदानलाई पूर्णतः बेवास्ता गर्दै उल्टै जबर्जस्तीपूर्ण तरिकाले निकालेको र त्यसका लागि कानुनी उपचार के हुन सक्ने भन्दै विभिन्न निकायसँग छलफल र सहयोग खोजिरहेको पौडेलले बताए ।
चितवनका कृष्णबहादुर रिमालका अनुसार अघिल्लो महिना विनाकारण ‘डिपोर्ट’ गरिएका अधिकांश नेपाली सन् २००७ देखि नै विदेशी नियोगका लागि काम गर्दै आएका हुन् । सुरक्षा खतरा रहेको अफगानिस्तानमा अमेरिकी सेनाको सहयोगी तथा विभिन्न कूटनीतिक नियोगका कार्यालयमा सुरक्षा प्रदान गर्न ब्रिटिस, भारतीय र नेपाली सेनामा कार्यरत नेपालीहरूलाई लैजाने क्रम केही वर्षअघिदेखि चलेको हो । ‘उनीहरूकै (विदेशी नियोग) चाहनाअनुसार अफगानिस्तान जाने हो,’ पीडित भक्तनारायण श्रेष्ठ भने, ‘उनीहरूले जे जे भन्छन्, त्यो त्यो मान्दासम्म कुनै समस्या नहुने तर आफ्ना अधिकारका कुरा गर्दा जागिरबाटै निकाल्नु तानाशाही शैली हो ।’
 पारिश्रमिक र सुरक्षाको माग राख्दा नेपाल डिपोर्ट गरिएका अधिकांशको करार सम्झौता सकिएको छैन । अकस्मात र जबरजस्तीपूर्ण तरिकाले नेपाल फिर्ता गरिएकाले कतिपयले आफ्ना सामानसमेत लिन नपाएको गुनासो गरे । विभिन्न स्रोतका अनुसार यतिखेर अफगानिस्तानमा वैध र अवैध गरी करिब १० हजार नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन् । अफगानिस्तान जानेमध्ये धेरैले अवैध बाटो प्रयोग गर्ने गरेको बताइन्छ । त्यहाँ पुगेकामध्ये अधिकांशले न्यून पारिश्रमिक र जोखिमपूर्ण तरिकाले काम गर्नुपर्ने बाध्यता रहेको पीडितको भनाइ छ । केही नेपालीको मिलेमतोमा समेत गोराहरूले अत्याचार गर्ने गरेको डिपोर्टमा परेका स्याङ्जाका रामराज घलेले गुनासो गरे ।
एकैचोटि १ सय १५ जना डिपोर्ट गरिएका व्यक्तिहरूलाई भने ललितपुरमा कार्यालय रहेको एक्सकम इन्टरनेसनल म्यानपावरले सन् २००७ देखि पठाएको हो । विनाकारण घर फर्कन बाध्य पारिएका व्यक्तिका अनुसार उक्त म्यानपावरले सुरुमा पठाउँदा मासिक १३ सय ५० डलर पारिश्रमिक पाइने आश्वासन दिए पनि अधिकांशले त्यसको आधाजति मात्र  पारिश्रमिक पाउँथे ।  ‘त्यो म्यानपावरले पठाएका सबैको पारिश्रमिक सात सयदेखि ८ सय ५० डलरभन्दा बढी थिएन,’ स्याङ्जाका सामबहादुर थामले भने, ‘१० वर्षपछि म्यानपावरले भनेको  तलब नपाएपछि वृद्धि गर्न राखेको प्रस्ताव गलत हुनै सक्दैन  ।’ सुरक्षा र म्यानपावरले भने अनुसारको पारिश्रमिक माग्दा डिपोर्ट गरिएका पूर्वसुरक्षाकर्मीहरूले अफगानिस्तानमै रहेका कतिपय नेपालीहरूकै कारण आफूहरू डिपोर्टमा परेको उल्लेख गरेका छन् । सापकोटाले भने, ‘डिपोर्ट घटनामा हामीले चारजना नेपालीलाई आशंका गरेका छौँ । त्यसैले सरकारले ती मान्छेलाई बोलाएर छानबिन गरेपछि न्याय पाएको महसुस गर्नेछौँ ।’
‘अफगानिस्तानमा १३ नेपाली मारिएपछि नयाँ मान्छे पठाउन सरकारले रोक लगाएको मौकामा त्यहाँ कार्यरत नेपालीलाई घर फर्काएपछि बार्गेनिङ गर्न सहज हुने भन्दै केही व्यक्ति खुलेर ठूलो समूहलाई डिपोर्ट  गराउन लागेको देखियो,’ पौडेलले भने, ‘नेपाली समस्यामा पर्दा नेपालीले नै सहयोग गर्नुपर्नेमा उल्टै ठग्ने र दुःख दिने काम भयो । यसमा सरकारको ध्यान जान जरुरी छ ।’ उनीहरूलाई अफगानिस्तान पठाउँदा म्यानपावरले पनि बदमासी गरेको पाइएको छ । मनलाग्दी तरिकाले रकम असुलेको म्यानपावरले संस्थागत नभई व्यक्तिगत भिसामा उनीहरूलाई अफगानिस्तान पठाएको देखिएको छ । व्यक्तिगत भिसा लिएर वैदेशिक रोजगारीमा गएका व्यक्ति समस्यामा परे भने उनीहरूप्रति म्यानपावरको कुनै दायित्व हुँदैन ।
वैदेशिक रोजगार ऐनअनुसार व्यक्तिगत भिसामा वैदेशिक रोजगारीमा जाँदा भोग्ने जस÷अपजस जाने व्यक्तिमै सीमित हुन्छ । साथै, व्यक्तिगत भिसामा जानेहरूले रोजगारीका लागि ठूलो रकम पनि खर्चनु पर्दैन । ‘व्यक्तिगत भिसाको मतलब विदेशमा काम खोज्नेदेखि लिएर आफ्नै सम्बन्ध पर्याप्त छ भन्नु हो,’ वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालय अधिकृत ताराबहादुर कुँवरले भने, ‘व्यक्तिगत भिसामा जानेलाई म्यानपावरले कुनै सेवा पनि नदिने भएकाले सरकारले तोकेको बाहेक अन्य कुनै शुल्क लिन पाइँदैन ।’ तर, एक्सकम म्यानपावरले अफगानिस्तान जानेसँग पाँचदेखि १३ लाख रुपैयाँसम्म असुलेको पीडितको भनाइ छ । करार अवधि बाँकी छँदै डिपोर्टमा परेकाहरूले उक्त म्यानपावरविरुद्ध कानुनी कारबाही गर्न पनि आधार नभएको कानुन व्यवसायी बताउँछन् । ‘सुरक्षा गार्डका रूपमा सयौँ युवा अफगानिस्तान पठाएको एक्सकमले नेपालमा केवल एजेन्टको रूपमा काम गरेर युवालाई ठग्ने गरिएको देखियो,’ वैदेशिक रोजगार पीडितलाई कानुनी सहायता उपलब्ध गराइरहेका अधिवक्ता कृष्णप्रसाद न्यौपानेले भने, ‘यस्तो बेला त्यस्ता म्यानपावरलाई कारबाही गर्न वैदेशिक रोजगार ऐनको साटो ठगीमा मुद्दा चलाउनुपर्ने हुन सक्छ । यस्ता घटना पटकपटक दोहोरिने भएकाले नै वैदेशिक रोजगारीमा जानुअघि आफूले कसरी र कुन माध्यम प्रयोग गर्दै छु भन्नेबारे बुझ्न जरुरी हुन्छ ।’  यो समस्या अहिले अफगानिस्तामा देखिए पनि अन्य मुलुकमा पनि बारम्बार भइरहेको  भुक्तभोगी बताउँछन् ।

‘रोजगारदाताको मनपरी अत्यधिक’
भक्तनारायण श्रेष्ठ, संखुवासभा
अफगानिस्तानमा सुरक्षा गार्डको काम गर्न पठाउने म्यानपावर एक्सकम हो । त्यसका प्रबन्धक जीतबहादुर घर्ती हुन् । म कार्यरत रहेको बेलायती दूतावासको सुरक्षार्थ  ३ सय ५० नेपाली सुरक्षाकर्मी थिए । असार ६ गते क्यानडाली दूतावासको सुरक्षार्थ गइरहेको नेपालीमाथि आतंककारी आक्रमण भयो । र, जुन आक्रमणमा १३ नेपालीले ज्यान गुमाए । त्यसपछि हामीले बेलायती दूतावाससँग सुरक्षाको कुरा उठाएको हौँ । दैनिक १३ देखि २० किलोमिटर टाढाबाट गाडीको यात्रा गरी दूतावासको सुरक्षा गर्नु निकै चुनौतीपूर्ण काम हो । त्यसैले हामीले  दूतावासमै बस्ने व्यवस्था मिलाउन, नभए गोली हान्दा पनि क्षति नहुने गाडीको व्यवस्था गर्न आग्रह गरेका थियौँ । सामान्य गाडीमा यात्रा गर्दा जुनसुकै बेला जोखिममा परिन्छ भन्ने उदाहरण क्यानडाली दूतावासमा काम गर्ने नेपाली मारिएको घटनाबाट पुष्टि भइसकेको थियो । त्यही मौकामा लामो समयदेखि नै दिने भनिएको पारिश्रमिक पनि नदिएका कारण बेलायती दूतावासमा काम गर्ने प्रायः सबैले पारिश्रमिक वृद्धि र सुरक्षाको व्यवस्था गर्न माग गरेका हौँ । यस्तो बेला दूतावासले सके माग पूरा गर्ने, नसके प्रतिबद्धता जनाउनुपर्नेमा उल्टै १ सय १५  जनालाई जबर्जस्ती घर फिर्ता पठायो ।
‘नेपाली जोखिममा छन्’
लोकनाथ पौडेल, कास्की
कतिपयले अफगानिस्तानमा रहेका नेपाली जोखिममा छैनन् भन्ने ठान्छन् । वास्तविकता त्यस्तो होइन । आतंककारीको उद्देश्य नै कमजोरलाई निशाना बनाउने र समाजमा त्रास फैलाउने हो । अफगानिस्तानमा नेपालीले काम गर्ने भनेको विभिन्न नियोगको सुरक्षा र अमेरिकी सेनालाई सहयोग गर्नु हो । त्यसले गर्दा आंतककारी समूहको निशानामा नेपाली झनै बढी परेका हुन्छन् । र, जोखिम पनि नेपालीलाई नै हुन्छ । किनकि, शक्तिशाली देशले आफ्ना नागरिकको सुरक्षाको बन्दोबस्ती राम्रोसँग गरेको हुन्छ । नेपालीलाई नेपाल सरकारले गणना गर्ने कुरा त छैन नै, विदेशी सेनाले पनि बेवास्ता गरेका हुन्छन् । त्यही कारणले असार ६ गते क्यानडाली दूतावासमा ड्युटी दिन जाँदै गरेका १३ नेपाली मारिएका हुन् ।

‘गरिबीको फाइदा उठाइँदै छ’
सामबहादुर थाम, स्याङ्जा
आर्थिक अवस्था कमजोर हुँदाको पीडा अफगानिस्तानमा कार्यरत नेपालीले पनि भोग्नु परिरहेको छ । विदेशी नियोगको सुरक्षाको पहरेदार बनेका नेपालीमाथि आर्थिक अवस्था कमजोर भएकै कारण मनपरी गर्ने गरिन्छ । खुलेर विरोध गर्दा जागिरबाट निकालिन्छ । चुप लागेर बस्दा कुन बेला मरिन्छ भन्ने ठेगान छैन । देश विपन्न हुँदा नागरिकले त्यसको सौदाबाजी गर्नु परिरहेको छ । वैदेशिक रोजगारीमा जानु नपरोस् भनेर सबैले प्रयास गरिएन भने भावी पुस्ताले अझै दुःख पाउनेछन् ।

‘नेपाली नै ठग’

रामराज घले, स्याङ्जा
वैदेशिक रोजगारीमा रहेका नेपालीले नै नेपालीलाई ठगी गरेको देख्दा झनै दुःखी बनाउँदो रहेछ । अफगानिस्तानमा नेपालीमाथि अत्याचार गर्नेमा नेपाली नै भेटिए । बेलायती दूतावासमा काम गर्ने हामी १ सय १५ जनालाई डिपोर्ट गर्न लगाउनेमा चारजना नेपालीको हात रहेको पाइएको छ । करार अवधि बाँकी रहँदै हामीलाई घर फिर्ता पठाइए पनि अब सरकारले त्यस्ता ठगीमा लाग्ने व्यक्तिलाई पक्राउ गरी अन्य नेपालीलाई समस्यामा पर्नबाट रोक्न आवश्यक छ ।

‘नेपालीलाई जहाँ पनि दुःख’
कृष्णबहादुर रिमाल, चितवन
स्वदेशमा रोजगारीका अवसर नपाउँदा वैदेशिक रोजगारीमा गएका नेपालीले त्यता पनि दुःख पाउने क्रम यथावतै छ । रोजीरोटी जुटाउन गएका व्यक्तिले विदेशी भूमिमै ज्यान गुमाउनुपर्दाको पीडा भनेर साध्य छैन । जानुअघि म्यानपावरले सेवा, सुविधा एउटा भन्ने तर उता गएपछि निकै फरक हुँदा पनि नेपालीले बोल्ने ठाउँ हुँदैन । अफगानिस्ताबाट हामी डिपोर्ट हुनुको कारण पनि त्यही हो । आफ्नै अघि साथीको हत्या भएपछि सुरक्षाको कुरा उठाउँदा जागिरबाटै निकालिन्छ भने कति अत्याचार हो । तैपनि, नेपाल सरकारलाई त्यस्ता कुराको कुनै मतलब हुँदो रहेनछ । अफगानिस्तानबाट फर्काइएपछि त्यसबारे कुरा बुझिदिन नेपाल सरकारलाई आग्रह ग¥यौँ । तर, सरकारी कर्मचारी कहिले के बहाना त कहिले के बहाना गरिरहन्छन् ।
‘मर्ने–बाँच्ने ठेगान छैन’
पदमबहादुर कुँवर, तनहुँ
बाध्यतामा परी अफगानिस्तान पुगेका अधिकांशको अवस्था दयनीय र नाजुक छ । एकातिर उनीहरू कुन बेला मारिने हुन् भन्ने कुनै ठेगान हुँदैन भने अर्कोतिर तोकेको पारिश्रमिक पनि पाउने अवस्था छैन । यस्तो लाग्दै छ– संसारका जुन कुना पुगे पनि त्यसको सारा दुःख खेप्ने भनेका नेपाली नै हुन् । नेपालीलाई उनीहरू दुःख, संकट र पीडा खेप्नकै लागि जन्मेका हुन् भनेजसरी व्यवहार गरिन्छ ।

 

Leave A Comment