‘मेरो रगतमै लोकगीत छ’

आइतबार, १२ भदौ २०७३, ०९ : ५१ डिबी खड्का , Kathmandu
‘मेरो रगतमै लोकगीत छ’

गायिका शान्तिश्री परियारले झन्डै दुई सय गीत गाइसकेकी छिन् । उनका ‘एकतर्फी माया’, ‘गाइलाई दाम्लो’, ‘सातो फुक’लगायत गीत रुचाइएका छन् । पशुपति शर्मासँगको तीजको गीत ‘पीर प¥यो भनेर कता जाम’ पनि चर्चित भएको छ ।

यसअघि भुइँचालोसम्बन्धी गीत थियो । अहिले आमाबुबालाई काम पर्दा मात्रै सम्झिने परिपाटीमाथि व्यंग्य गरिएको गीत गाउनुभएको रहेछ । सन्देशमूलक गीत मन पर्छन् हो ?
गीत सबै खालका गाउन रुचाउँछु । तर, सन्देश दिने खालका गीतमा विशेष रुचि छ । यस्तै गीत गाउँछु भन्दा पनि जुर्छ ।
पशुपति शर्मासँग यसपल्ट गाएको तीजको गीत पनि परिआएको हो ?
पशुपति शर्मा दाइको एउटा बानी छ, गीतको धेरै प्रक्रिया पूरा भएपछि मात्रै गायिकालाई भन्ने । यसपालि तीजका लागि एउटा गीत बनाइदिनु भनेकी थिएँ । उहाँले यो गीत बनाएर आफूले गाइसकेपछि मात्रै मलाई खबर गर्नुुभयो । एक दिन कार्यक्रममा ट्रयाक सुनाउनुभयो । गीतको लय मन प¥यो तर बुझ्न अलि मुश्किल भयो ।
दोहोरी गाउन थालेको कति भयो ?
रोल्पामा हुँदा पनि दोहोरी गाउँथेँ । २०६४ सालमा गीत गाउन भनेर काठमाडौं आएँ । केही समय दोहोरी साँझमा काम गरेँ । चार वर्षपछि पृथ्वी थकाली दाइको सहयोगमा गीत बजारमा ल्याएँ ।
दोहोरी साँझमा कति समय काम गर्नुभयो ?
व्यस्तता बढेपछि केही समयअघि मात्रै छाडेँ ।
औपचारिक रूपमा संगीत सिक्नुभएको छैन ?
तीन वर्ष गान्दर्भ संगीत पाठशालामा संगीत सिकेँ । दोहोरी साँझमा दर्शकले अफर गरेका आधुनिक गीत पनि गाउँथेँ । राजेन्द्र सेढाईंको शब्द र गायक रमेशराज भट्टाराईको संगीतमा एउटा आधुनिक गीत गाएँ । त्यसपछि संगीत सिक्नै पर्ने महसुस भयो र सिकेँ ।
त्यसो भए लोकदोहोरीमा मात्र नभई अन्य विधाका संगीतमा पनि स्वर भर्ने रुचि छ ?
गीत जुन विधाका गाए पनि आफूलाई दोहोरी गायिकाकै रूपमा अघि बढाउन चाहन्छु । दोहोरीले सबथोक दिएको छ । म पनि यो क्षेत्रलाई केही दिन चाहन्छु ।

 

 

Leave A Comment