आईईएलटीएसको डेट सजिलै पाइने

आइतबार, १२ भदौ २०७३, ०९ : ४६ शुक्रवार , Kathmandu
आईईएलटीएसको डेट सजिलै पाइने

अब विद्यार्थीले इन्टरनेसनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) को परीक्षा सजिलै दिन पाउने भएका छन् । नेपाली विद्यार्थीले धेरै दुःख पाइरहेको जानकारी पाएपछि अस्ट्रेलियाले यसै वर्षदेखि नेपालमै आईईएलटीएस परीक्षा सञ्चालन गर्ने भएको हो । यसअघि नेपाली विद्यार्थीहरू नेपालमा परीक्षाको ‘डेट’ नपाएर भारतका विभिन्न शहर धाउन बाध्य थिए ।
नेपाली विद्यार्थीको अंग्रेजी भाषा परीक्षाको डेट नपाउने समस्या समाधान गर्न भन्दै आईडीपी अस्ट्रेलियाले काठमाडौँको लाजिम्पाटस्थित मेट्रो पार्कमा शाखा विस्तार गरेको छ । यसअघि नेपालमा ब्रिटिस काउन्सिलले एकलौटी रूपमा आईईएलटीएस परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा व्यवस्थापन जिम्मेवारी पाएको थियो ।
विश्वका अधिकांश विश्वविद्यालयले विद्यार्थीको अंग्रेजी भाषा जाँच्ने आधारै आईईएलटीएसलाई बनाउँदै आएका छन् । ब्रिटिस काउन्सिलको सीमित सिटले परीक्षाको डेट पाउन मुस्किल हुने गरेको थियो । नेपालमा बर्सेनि आईईएलटीएस परीक्षा दिने विद्यार्थी संख्या ५० हजार हाराहारी रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जनाएको छ ।
पुतलीसडकस्थित केयर इन्टरनेसनल एजुकेसन कन्सलट्यान्सीका समर्थ पन्थीका अनुसार अब विद्यार्थीले वर्षैभरि जुनसुकै समयमा परीक्षा दिन सक्नेछन् । पछिल्लो समय अस्ट्रेलिया र यूएसए जाने विद्यार्थी धेरै हुने गरेको उनले बताए । ‘विद्यार्थीहरू भाषा परीक्षाको डेट नपाएर धेरै सास्ती झेल्ने गरेका थिए,’ उनले भने, ‘अब विद्यार्थीलाई सजिलो भएको छ । नेपालमै जुनसुकै बेला डेट पाएपछि धेरै विद्यार्थी लाभान्वित हुनेछन् ।’ विश्वभरिका आईईएलटीएस परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी ब्रिटिस काउन्सिल र आईडीपीले पाएका छन् । यो परीक्षा एक महिनामा चार पटक लिइन्छ । विश्वका नौ हजारभन्दा बढी शैक्षिकलगायत संस्थाले अंग्रेजी भाषा परीक्षणको माध्यम आईईएलटीएसलाई बनाउँदै आएका छन् ।
शिक्षा मन्त्रालयका अनुसार यसवर्ष वैशाखदेखि असारसम्म ११ हजार १ सय २२ विद्यार्थीले विदेशमा उच्च शिक्षा हासिल गर्न ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । यो तीन महिनामा सबैभन्दा बढी अस्ट्रेलिया जाने विद्यार्थी छन् । त्यसपछि अमेरिका, जापान, पोल्यान्ड, डेनमार्क, मलेसिया र क्यानडा क्रमशः रहेको जनाइएको छ ।

Leave A Comment