हिन्दीमा लेखिने ‘राष्ट्रीय’को अर्थ राजाको सालो !

आइतबार, १२ भदौ २०७३, ०९ : ३८ डा. बलदेव शर्मा अधिकारी , Kathmandu
हिन्दीमा लेखिने ‘राष्ट्रीय’को अर्थ राजाको सालो !

भाषा मानवको परिचायक हो । मानवबाट भाषा झिकिदिनेबित्तिकै मानव मानव नै हुन सक्तैन । मानव र भाषाका बीच अभिन्न सम्बन्ध रहेकैले मानवको र भाषाको स्वभाव पनि मिल्छ । बाबुआमाभन्दा छोराछोरी भिन्न देखिन्छन् । सन्तानको अनुहार, आनीबानी र रहनसहन आमाबाबुको भन्दा भिन्न हुन्छ तर पनि कुनै किसिमको सामाजिक बेइमानी भएको रहेनछ भने सन्तानलाई हेरेर आमाबाबुको अनुमान गर्न सकिन्छ । नेपाली भाषा संस्कृत भाषाकै सन्तान हो भन्ने प्रमाणका लागि संस्कृत र नेपालीका शब्दको अनुहारको तुलना गर्न सकिन्छ । संस्कृतको पूरा अनुहार मिलेको छ भने चिन्न धेरै सजिलो हुन्छ । पूरा अनुहार मिलेको शब्दलाई तत्सम अर्थात् संस्कृतजस्तै भनेर बुझ्न सकिन्छ । यस्ता शब्दहरूमा संस्कृत भाषाका सबै सन्तति भाषाको समान अधिकार हुन्छ । नेपाली भाषामा र मैथिली, भोजपुरी, अवधी, हिन्दी आदि भाषामा प्रयोग गरिने तत्सम शब्द प्रायः एकै हुन्छ । यसो हुँदाहुँदै पनि नेपाली भाषा तथा हिन्दी भाषाको उच्चारण र लेखनलाई तुलना गर्दा नेपाली भाषा हिन्दीभन्दा संस्कृतको नजिक पाइएको छ । हिन्दी भाषीले संयुक्त वर्ण वा अक्षरको उच्चारण पनि हलन्त अर्थात् व्यञ्जनान्त गर्छन् तर नेपाली भाषामा प्रायः अजन्त अर्थात् स्वरान्त गर्ने चलन छ । अङ्ग्रेजी आदि आगन्तुक शब्दको उच्चारणमा भने हलन्त गर्ने चलन चलाउन थालिएको छ, जस्तै ः पोष्ट=पोष्ट् आदि । वास्तवमा प्राकृतिक नेपाली जिब्राले ‘पोष्ट्’ नभनेर ‘पोष्ट’ नै भन्न खोज्छ । हिन्दीको उच्चारण पनि पहिले–पहिले नेपालीको जस्तै हुन सक्छ । कुनै बेला अरबी भाषा र कुनै बेला अङ्ग्रेजी भाषाको प्रभावमा परेको हिन्दी भाषामा पुनर्जागरण आएको चाहिँ छ ।
    उदाहरणका लागि उनीहरूले कलकत्ता भन्न छोडेर कोलकाता भन्न थालेका छन् । बम्बईलाई फालेर मुम्बईलाई ल्याएका छन् । भारतको राजधानी दिल्लीस्थित एउटा प्रसिद्ध अस्पतालको नाम ‘मेदान्त’ राखिएको छ । मेद÷मेदा+अन्त=मेदान्त । मेद वा मेदा शब्दको अर्थ बोसो हो । बोसो अनेक रोगको कारण भएकाले यसको अन्त गरिनुपर्छ भन्ने मान्यताअनुरूप अत्याधुनिक अस्पतालको नामै संस्कृतमा राखिएको छ ।    नेपालमा पनि बल्खुस्थित ‘वयोधा’ अस्पतालको नाम संस्कृतमा राखिएको छ । वयः+धा=वयोधा । वय अर्थात् उमेर धारण गराउने भन्ने अर्थ यस अस्पतालले ग्रहण गरेको छ ।
    व्यञ्जन वर्णलाई हल् पनि भन्छन् । अचेल खुट्टा काटिएका व्यञ्जन वर्णलाई ‘हल्’ भन्ने गरिन्छ । हल् वर्ण अर्थात् खुट्टा काटिएको व्यञ्जन वर्ण अन्तमा भएका शब्दलाई हलन्त (हल्+अन्त) भन्दछन् । संस्कृतका हलन्त शब्दहरू नेपाली भाषामा हलन्त नै लेखिन्छन् । महान्, विराट्, विद्वान्, शीलवान्, बुद्धिमान्, श्रीमान्, हनुमान् आदि शब्दहरू नेपाली भाषामा हलन्त नै लेखिन्छन् तर हिन्दीले विकल्पमा अजन्त पनि लेख्न थालेको पाइन्छ । हलन्त बहिष्कार गर्ने ‘माधवी’ पत्रिकाले समेत संस्कृतका तत्सम शब्दको लेखन संस्कृत अनुसारै गरी हलन्तलाई हलन्त नै बनाएको थियो ।
    हामी अङ्क, अङ्ग, पञ्च, मञ्जरी, झञ्झावात, घण्टा, कण्ड, अण्ड, सन्त, पन्थ, सन्देश, सम्पन्न, गुम्फन, सम्बन्ध, सम्भार, सम्मान आदि लेख्दा अनुस्वार नराखेर पञ्चम वर्ण लेख्छौँ तर हिन्दीमा पञ्चम वर्णको साटो अनुस्वार चलाइएको छ । संस्कृतमा स्पर्शी वर्णसँग अनुस्वारको प्रयोग गर्ने चलनलाई पनि विकल्प मानेको छ तर पञ्चम वर्ण नै बढी शुद्ध हो । यस्तै गरी नेपाली भाषामा संस्कृत भाषाकै अनुसार राष्ट्रिय लेख्दा ह्रस्व इकार प्रयोग गरिन्छ तर हिन्दीमा दीर्घ ईकार रहेको ‘राष्ट्रीय’ लेखिएको छ । दीर्घ ‘राष्ट्रीय’को अर्थ त राजाको सालो हुन्छ ।

Leave A Comment