प्रज्ञामा ‘प्रचण्ड–ओली’ दोहोरी !

शनिबार, ११ भदौ २०७३, ०१ : १७ अनिल यादव , Kathmandu
प्रज्ञामा ‘प्रचण्ड–ओली’ दोहोरी !

प्रचण्डः
जनतालाई कति हो कुराउने
ग्यासको पाइप घरघरमा पु¥याउने
ओलीः
तिमीलाई त म गफैले भ्याइदिन्छु
चीनको रेल, काठमाडौँ ल्याइदिन्छु

काठमाडौँ, कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनभित्र प्रचण्ड र केपी ओलीबीच चलेको दोहोरीको अंश हो यो । प्रत्येक दिन त्यहाँ उनीहरूको दोहोरी चलिरहेको छ । तर, दोहोरीका दुवै पात्र नक्कली हुन् ।
भदौ २ गतेबाट चलिरहेको ‘तिते जिरे गाईजात्रे महोत्सव’ भित्र तितोसत्य समूहले प्रस्तुत गर्ने प्रहसनमा प्रचण्ड र ओलीबीच अस्पतालमै दोहोरी चलिरहेको देख्न सकिन्छ । प्रचण्डको भूमिका हास्यअभिनेता दीपकराज गिरीले निर्वाह गरिरहेका छन् भने ओलीको भूमिका ज्योति काफ्लेले । ज्योतिले ‘मेरी बास्सै’मा डा.बाबुराम भट्टराईको भूमिका निर्वाह गर्थे ।

‘अस्पताल बिरामी छ’ शीर्षकमा प्रस्तुत भइरहेको यो प्रहसनले डा. गोविन्द केसीको मुद्दालाई उठाउन खोजेको छ । अस्पतालको एउटा बेडमा डा. केसीलाई अनशन बसेको देखाइन्छ भने अर्को बेडमा एमाले अध्यक्ष ओलीलाई । तर, प्रधानमन्त्री प्रचण्ड छेउमै रहेका केसीलाई बेवास्ता गर्छन्, ओलीलाई स्वास्थ्य अवस्था सोध्छन् । प्रहसनमा अख्तियारको भ्रष्टाचार प्रवृत्तिमाथि व्यंग्य गर्न खोजिएको छ । अस्पतालको भद्रगोल अवस्थालाई प्रहसनले चित्रण गर्न खोजेको छ । ‘अस्पताल’लाई ‘हावाताल’को संज्ञा दिँदै प्रहसनको अन्त्य हुन्छ । यो प्रहसनमा दीपाश्री निरौला, दीपक शर्मा, केशव न्यौपाने, रवि डंगोल, आरपी भट्टराई, पूर्ण थापा, केशव न्यौपाने, रमेश अधिकारी, कुमार गजुरेल आदि कलाकारले अभिनय गरेका छन् ।

१० वर्षपछि जितु–दमन
एकताकाको हिट जोडी जितु नेपाल र दमन रूपाखेती १० वर्षपछि गाईजात्रे प्रहसनमा एकसाथ देखिएका छन् । जितुले गजेडी र दमनले ट्राफिक प्रहरीको भूमिका निर्वाह गरेका छन् । मापसे अर्थात् मादक पदार्थ सेवनको विषयमा उनीहरूले प्रहसन देखाइरहेका छन् । प्रहसनमा घरअगाडि नै ट्राफिक प्रहरीले चेकिङ गर्छ । एउटै घरका बुबा, आमा र छोरा तीनैजना मापसे र गापसे (गाजा पदार्थ सेवन) गर्छन् । प्रहसनले देशमा ट्राफिक र मापसेको अवस्थामाथि व्यंग्य गर्न खोजेको छ । देशको अवस्थासँग पनि विषयलाई जोड्न खोजिएको छ । मादक पदार्थ सेवन गर्नेलाई कडा कारबाही गर्ने तर १० करोड घुस खाने भ्रष्टाचारीलाई सलाम ठोक्ने देशको प्रवृत्तिमाथि प्रहसनमा कडा प्रहार गरिएको छ । प्रहसनमा शिवहरि नेपाल बैरागी, हिमा कोइराला, नीरज नेपाललगायत कलाकारले अभिनय गरेका छन् ।

गाईजात्रामा ‘नाकाबन्दी’
गाईजात्रे प्रहसनमा भारतको अघोषित नाकाबन्दीलाई पनि कलाकारले विषय बनाएका छन् । टीका भण्डारीको प्यारोडी गीत यसमै केन्द्रित छ । हास्य सिरियल ‘ब्रेकफेल’ समूहले यही विषयलाई उठाएर नेपालसँग भारत र चीनको सम्बन्ध उजागर गर्न खोजेको छ । उनीहरूको प्रहसनमा ‘म्यारिज ब्युरो कार्यालय’  खोलिएको छ जहाँ बिहे गराइदिने काम गरिन्छ । कार्यालयलाई शिवहरि पौडेल र सविता गुरुङले सञ्चालन गरेका छन् । पीआरवाला केटासँग मात्र बिहे गर्न रुचाउने आफ्नी छोरीलाई लिएर एकजना उनको कार्यालयमा आइपुग्छ । चिनियाँ र भारतीय पात्रका रूपमा दुईजनालाई झिकाइन्छ । भारतले नेपालमाथि गर्दै आइरहेको हस्तक्षेपकारी भूमिका र व्यवहारप्रति रुष्ट बाबु–छोरी बरु वृद्ध चिनियाँ नागरिकसँग चासो देखाउँछन्, भारतीयलाई गाली गर्छन् । चिनियाँ पात्र निर्वाह गरेका किरण केसी चिनियाँ भाषा नै बोल्छन् तर भारतीय पात्र निर्वाह गर्ने शिवशंकर रिजाल नेपाली भाषा बोल्छन् । शिवशंकरलाई भारतको प्रतिनिधित्व गराउनु नै त्रुटिपूर्ण लाग्छ । किनकि, उनको चरित्रमा भारतीयभन्दा पनि मधेशी चरित्र झल्किन्छ । यस्तो लाग्छ– प्रहसनले मधेशीलाई नै भारतीयको संज्ञा दिन खोजेको छ । यो प्रहसनमा मनोज आचार्य, कविता शर्मा, सुरेन्द्र केसीलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रहसनमा द्विअर्थी र छाडा संवादहरू पनि प्रयोग गरिएका छन् । यसअघिका वर्षमा हुने प्रहसनमा पनि यो प्रवृत्तिको आलोचना भएको थियो । ज्योति मगर, अर्चना पनेरु लगायतका प्रस्तुतिलाई अश्लील भन्दै हास्यकलाकार त्यसलाई दर्शक हँसाउने हतियार बनाइरहेका हुन्छन् । तर, प्रहसनका केहीकेही दृश्य हेर्दा लाग्छ– आफू अश्लील भइरहेको चाहिँ उनीहरूले ख्याल गरेका छैनन् ।

प्रहसनमा कवि शैलेन्द्र सिम्खडाका पाँच टुक्रे विधेयक, रुविना अधिकारीको आइटम डान्स र राजा राजेन्द्रको पनि प्रस्तुति छ । प्रहसनमा हास्यकलाकार मनोज गजुरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की बनेका छन् । कारोबार मिडियाले आयोजना गरेको यो महोत्सव भदौ १८ गतेसम्म चल्नेछ ।

Leave A Comment