एनसेलले फोरजी सेवा सुचारु गर्दै

शनिबार, ११ भदौ २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
एनसेलले फोरजी सेवा सुचारु गर्दै

एनसेलले इन्टरनेट सेवाको मागलाई सहज बनाउन फोरजी सेवा सञ्चालन गर्ने तयारी गरेको बताएको छ । इन्टररनेटमा र ग्राहक संख्या बढ्दै गएपछि एनसेलले यो वर्ष डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ । राजधानीमा आयोजित कार्यक्रमा उक्त विषयबारे बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साइमन पर्किन्सले यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीकोे पहिलो प्राथमिकता रहेको बताए । ‘अहिले फोरजी व्यापक चर्चाको विषय बनेको छ,’ पार्किन्सले भने, ‘नियमक निकायको अनुमति पश्चात् कम्पनीले फोरजी सेवा सुरु गर्ने तयारीमा रहेको छ ।’
सरकारले गरेको फ्रिक्वेन्सी नीतिको परिमार्जन अनुरूप फोरजी सेवा सञ्चालनका लागि कम्पनीले १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा थप फ्रिक्वेन्सी र आवश्यक अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरण समक्ष निवेदन दिइसकेको बताएको छ । सरकारले अनुमति दिएमा दुई महिनाभित्रै सेवा सञ्चालनमा ल्याउन सकिने एनसेलले बताउँदै आएको छ । अहिले ५६ लाख ३८ हजार ग्राहकले एनसेलको इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । थ्रीजी प्रविधिअन्तर्गत नेटवर्कमा आधुनिकीकरण र फोरजीको सुरुवातपछि डाटा सेवाको माग र ग्राहक संख्यामा थप वृद्घि हुने कम्पनीको अपेक्षा छ ।
यसअन्तर्गत कम्पनीले सन् २०१७ र २०१८ मा औसतमा प्रत्येक वर्ष रू. ३५ अर्ब लगानी गर्ने बताएको छ । हालसम्म एनसेलले नेपालमा रु. ७४ अर्ब लगानी गरिसकेको जानकारी दिएकोे छ । एनसेलमा ८० प्रतिशत सेयर लगानी रेनोल्डस् होल्डिंगको र २० प्रतिशत नेपालीको सेयर छ । गत चैतमा मलेसियन कम्पनी आजियाटाले रेनोल्डस् होल्डिंगको शतप्रतिशत स्वामित्व किनेपछि गत साउन ३२ गते एनसेलको नयाँ ब्रान्ड लोगो अनावरण गरिएको थियो ।
एसियाको प्रमुख दूरसञ्चार समूहका रूपमा रहेको आजियाटा दक्षिण एसियामा दीर्घकालसम्म सेवा प्रदान गर्दै आएको छ । आजियाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिति छ । पाकिस्तान र भारतमा पनि लगानी छ । व्यावसायिक सुशासन तथा कानुनको परिपालनामा प्रतिबद्ध समूहको रूपमा परिचित आजियाटाको आफू उपस्थित देशहरूमा ठूला करदाताका रूपमा रहेका कम्पनीहरू छन् ।

Leave A Comment