सिन्डिकेट

शनिबार, ११ भदौ २०७३, ११ : ३५ ईश्वर दाहाल , Kathmandu
सिन्डिकेट

हिजोआज सिन्डिकेट चर्चाको केन्द्रमा छ । बलिया बस व्यवसायी र समितिसामु निर्धा जनता पिल्सनुपरेको समाचारलाई सञ्चारमाध्यमले उच्च प्राथमिकता दिइरहेका छन् । हुन त सिन्डिकेट नयाँ समस्या होइन । यो सनातनी सिलसिला हो । यो हाम्रो दैनिक कार्यव्यवहार र भोगचलन हो । मात्र भएको के हो भने, काभ्रे बस दुर्घटनामा दर्जनौँ निर्धा नागरिक मारिएपछि सिन्डिकेट सनसनी बन्न पुग्यो । सिन्डिकेटविरुद्ध बहस सिर्जना गर्न÷गराउन पनि दर्जनौँले प्राणाहुति दिनैप¥यो । आखिर हामी निरीह नेपालीहरू समाचारको केन्द्रमा आउन पनि बस दुर्घटनामा पर्नुपर्छ । विषालु च्याउ खाएर मर्नुपर्छ । घाँस काट्न जाँदा पहराबाट झर्नुपर्छ । हामीले यातायातको नाउँमा नरक यात्रा गर्दा खबर बन्दैन । हामीले गिट्ठा–भ्याकुर खान बाध्य हुँदा समाचार लेखिँदैन । हाम्रा पसिना र आँशु सामान्यतः समाचार बन्दैनन् । समाचार बन्न त रगत बग्नुपर्छ । काभ्रेमा निर्दाेषहरूले रगत बगाए । समाचार बन्यो । समाचारको सिलसिला फराकिलो बन्दै सिन्डिकेट र रुट परमिटसम्म आइपुग्यो ।
समाचार पढ्दा यस्तो लाग्छ, जेजति सडक दुर्घटना भएका छन्, ती सबैको कारण सिन्डिकेटमात्र हो । औँसीमा कालोपत्रे गरेर पूर्णिमामा उक्किने सडक निर्माण गर्ने ठेकेदार, ठेकेदारलाई धर्मपुत्र बनाउने नेता दुर्घटनाका कारक हुन् कि होइनन् ? हिजोआजका समाचार मौन छन् । सञ्चारमाध्यमको दृष्टिमा सिन्डकेट एकमात्र समस्या हो । जसले डरलाग्दा दुर्घटना गराइरहेको छ ।
बबुरा गाडी साहूहरू सिन्डिकेटका सामान्य कारिन्दामात्र हुन् । यिनीहरूले थोपरेको सिन्डिकेट ओखल्दैमा जरा त के पातसम्म हल्लिँदैन । सिंगो देश सिन्डिकेटमा कैद छ । देशको सम्पूर्ण संयन्त्र सिन्डिकेटले चलाउँछ । हाम्रो देशमा केही छ भने त्यो सिन्डिकेटमात्र छ । प्रजातन्त्र सिन्डिकेटमा छ । समाजवाद सिन्डिकेटमा छ । राजनीतिमा फस्टाएको सिन्डिकेट । स्वास्थ्यमा झांगिएको सिन्डिकेट । शिक्षामा मौलाएको सिन्डिकेट । आँखा चिम्लेर सोच्नुस्, सिन्डिकेट दिमागमा आउँछ । आँखा खोलेर हेर्नुस्, दृष्टिमा सिन्डिकेट छाउँछ ।
टाढाको होइन, हिजोअस्ति भर्खरैको कुरा गरौँ । नेपालको पाको विद्यार्थी संगठनको अध्यक्ष पनि पाको उमेरकै निर्वाचित भए । सामान्यतः विद्यार्थी भनेका त शिशु कक्षाका कलिला नानीदेखि विश्वविद्यालयमा अध्ययन गर्ने पच्चिस–छब्बिससम्मका ठिटाठिटी हुन् । अझ बहुल विद्यार्थी त ओठ निचोर्दा दूध आउने उमेर समूहका किशोरकिशोरी हुन् । किशोरकिशोरीहरूको नेतृत्व गर्ने नेता उनीहरूका पिताको उमेरको हुनु सिन्डिकेट नभएर के हो ? अंकल र पिता पुस्ताले विद्यार्थीको नेतृत्व लिन्छु भनेर मरिहत्ते गर्नु वास्तविक विद्यार्थीका लागि महासिन्डिकेट हो ।
ठूलो दल कांग्रेसलाई नियालौँ । जहाँ युवा नेता हुन साठी प्लस हुनुपर्छ । नेतृत्वका लागि कम्तीमा पनि पचहत्तर आसपास पुग्नुपर्छ । कांग्रेसभित्र नेतृत्व विकासका हिसाबले पैँतिस–चालिसका ठिटाहरू ‘दूधेबालक’ मात्र हुन् । सत्तरी प्लसका दुईचारजनाको सिन्डिकेटले सिंगो कांग्रेसको भविष्य निर्धारण गर्छ । कांग्रेसमा पार्टी सभापति नेतृत्वभन्दा पनि सिन्डिकेटका प्रतिमूर्ति हुन् । जसले आफूभन्दा फरक विचार राख्ने कार्यकर्ताको नेतृत्व विकासका ढोका सम्पूर्ण रूपमा बन्द गरिदिन्छन् ।  
एमाले पनि सिन्डिकेटबाट मुक्त हुने कुरै भएन ।  किनकि, ऊ पनि हाम्रै माटोको उत्पादन हो । तीन थान नेताले एमालेको नैया खियाइरहेका छन् । उनीहरूको दिल मिले एमाले एकताबद्ध, उनीहरूको दिल जले एमालेमा भद्रगोल । घुमिफिरी नेतृत्व, सुविधा र सत्ता, तीन थान नेताकै वरिपरि छ । बिचरा वामदेवको कार्यवाहक अध्यक्ष बन्ने सपनासमेत सिन्डिकेटको चक्रव्यूहमा धूलिसात भयो । वामदेवसमेत सिन्डिकेटको शिकार हुन्छन् भने अरू एमालेजनको हालत के होला ?
सत्ताधारी माओवादी केन्द्रको त कुरै नगरौँ । देवाधिदेव महादेव भनेजस्तो माओवादीमा एकजनामात्र सर्वशक्तिमान पुरुष छन्, जसले झण्डै तीन दशकदेखि निरन्तर पार्टीको नेतृत्व गरेका छन् । आफू पार्टी अध्यक्ष बन्छु भनेर माओवादीका अरू नेताले सपना पनि देख्दैनन् होला । हजारौँ क्रान्तिकारी सदस्य भएको केन्द्रीय कमिटी पनि दुईचारजनाको सिन्डिकेटसामु नतमस्तक हुन्छ । त्यति मात्र होइन, कुनै निर्णय गर्नुप¥यो भने हजारौँले सक्दैनन् । एकजना सर्वशक्तिमानलाई जिम्मा लगाउँछन् र मिडियामा भन्छन्, ‘फलानु कामलाई तिलानु निष्कर्षमा पु¥याउने जिम्मा अध्यक्ष कमरेडलाई दिइएको छ ।’
फोरम लोकतान्त्रिकका लागि गच्छदार नेता कि सिन्डिकेट ? मालेका लागि सिपी कमरेड मार्गदर्शक हुन् कि सिन्डिकेट ?  कमल थापा राप्रपा नेपालका विधाता हुन् कि सिन्डिकेट ?  यसै गरी सबैसबै पार्टीमा अर्जुन दृष्टि लगाउने हो भने कोही पनि सिन्डिकेटबाट अछुतो छैन ।
आखिर संसार नै सिन्डिकेटमय छ भने गाडी साहूहरूको मात्र विरोध गरेर के अर्थ ? पछिल्लो समय गाडीको रुट पर्मिटको विषय पनि डोनाल्ड ट्रम्पजत्तिकै चर्चामा छ । सञ्चारकर्मी, गन्यमान्य र बुद्धिजीवीहरूको के राय छ भने रुट पर्मिटविना गाडी चलाउन दिनु हुन्न । कुरो सुन्दा अचम्म लाग्छ । लोकतन्त्रमा सबैलाई साझा नियम लाग्नुपर्ने हो । कानुनका दृष्टिमा सबै समान हुन् । तर, यो रुट पर्मिट चाहिँ गाडी साहूहरूलाई मात्र किन अनिवार्य चाहिने ? के अरूलाई रुट पर्मिट चाहिँदैन ? के अरूले चाहिँ रुट पर्मिटको फलो गर्नु पर्दैन ? माओवादीलाई जनयुद्धले एउटा रुट पर्मिट दिएको थियो । तर, माओवादीले त्यस बाटोमा कहिल्यै गाडी गुडाएन । शहीद, बेपत्ता र घाइतेहरूले निर्दिष्ट गरेको रुट पर्मिटको खिलाप माओवादी हिँड्दा हुने,  गाडी साहूहरूले चाहिँ नहुने ? सात सालदेखि छत्तिस, छयालिस र त्रिसट्ठीसम्मका आन्दोलनहरूले नेपाली कांगे्रसलाई पनि सामाजिक न्यायसहितको लोकतान्त्रिक रुट पर्मिट इतिहासले थमाएको छ । तर, कांगे्रस कहिल्यै पनि इतिहासले थमाएको रुट पर्मिटअनुसार चलेन । कांगे्रसले पाएको छुट गाडी साहूहरूले नपाउने भन्ने हुन्छ ?
जे होस्, सिन्डिकेट तपाईं–हामी आम नागरिकका लागि कुनै पनि अर्थमा लाभप्रद छैन । यसको विरोध गर्नु वा विरोध गरेजस्तो गर्नु हाम्रो स्वधर्म नै हो । तर, गाडी साहूहरूको सिन्डिकेटको मात्र विरोध गरेर केही लछारिँदैन । हिम्मत नै देखाउने हो भने शासन र रासनदेखि भिक्षा र शिक्षासम्मको सिन्डिकेटविरुद्ध उभिन सक्नुपर्छ ।

Leave A Comment