नेपाल आउँदै एल्ड्रिन

शुक्रबार, १० भदौ २०७३, १२ : ४९ शुक्रवार , Kathmandu
नेपाल आउँदै एल्ड्रिन

निल आर्मस्ट्रङसँगै पहिलो पटक चन्द्रमामा पुगेका बज एल्ड्रिन यही भदौ  १९ गते नेपाल आउँदै छन् । ८६ वर्षीय अमेरिकी यान्त्रिक इन्जिनियर बज एभरेस्ट साइन्स सेन्टरको आमन्त्रणमा नेपाल आउन लागेका हुन् । १९ गते राति काठमाडौँ ओर्लने उनी २४ गते रातिसम्म नेपालमा रहनेछन् ।
बजका साथमा उनका छोरा डा. एन्डी, बुहारी क्रिस्टिना, नासाका एलिजाबेथ लेवलन्स र जोसेफ लेवलन्स भ्रमण टोलीमा रहेको एभरेस्ट साइन्स सेन्टरका अच्युत नेपालले जानकारी दिए । नेपालका अनुसार बजका छोरा एन्डी भविष्यमा मंगल ग्रहमा मानव बस्ती बसाउने योजनाका प्रमुख हुन् । जोसेफले ‘ओरिएन’ नामको रकेट मंगल ग्रह पठाउँदै छन् । ‘बज एल्ड्रिन डट कम’ले बजको नेपाल भ्रमणको कार्यक्रम तालिका प्रकाशित गरेको छ । साइन्स सेन्टरका अनुसार बज टोलीले २० गते माउन्टेन फ्लाइट गर्नेछ । २१ गते सुनसरी, शान्तिवनस्थित साइन्स सेन्टरमा प्रवचन दिने कार्यक्रम छ । २३ गते काठमाडौँस्थित प्रज्ञा भवनमा विशेष कार्यक्रमलाई बजले सम्बोधन गर्ने र अन्तक्रियामा सहभागी हुने छन् ।
‘पहिलो पटक चन्द्रमामा पुग्ने टिमका एक सदस्यको नेपाल भ्रमण हाम्रा लागि अवसर बन्नेछ,’ साइन्स सेन्टरका नेपालले भने, ‘उहाँको अनुभव प्रत्यक्ष सुन्न पाउनेछौँ । साथै, अन्तरिक्षसम्बन्धी खोज गरिरहेका तथा बस्ती नै बसाउने योजना अघि बढाइरहेका अन्य वैज्ञानिकहरूले अनुभव साट्ने छन् ।’ नासासँग सम्बन्ध स्थापित गरेको एभरेस्ट साइन्स सेन्टरले यसअघि चन्द्रमाबाट ल्याइएको ढुंगा नेपालमा प्रदर्शन गरिसकेको छ ।
साइन्स सेन्टरका दिनेश विष्ट अन्तरिक्षबारे अध्ययनमा सोख राख्ने नेपाली विद्यार्थीका लागि यो अवसर ऐतिहासिक बन्ने बताउँछन् । उनका अनुसार भ्रमण टोली २२ गते बुद्ध जन्मस्थल लुम्बिनी जाने कार्यक्रमसमेत तय भएको छ । ‘यसबाट नेपालको परिचय विश्वमा थप फैलने छ,’ विष्टले भ्रमणको उद्देश्य प्रष्टयाए, ‘चन्द्रमाको अनुभव, मंगल ग्रहको योजना उहाँहरूबाटै लाइभ हेर्न–सुन्न पाउनु हामी नेपालीका लागि ठूलो अवसर हो । साथै, भूकम्पपछि नेपाल देश भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश पनि उहाँहरूबाट विश्वभर प्रवाह हुनेछ ।’ कार्यक्रमका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ । त्यसका लागि प्रायोजकहरूले साथ दिने आयोजकको अपेक्षा छ । टोलीसँग साक्षात्कारका लागि विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरू हौसिएका छन् । साइन्स सेन्टरले नेपाली विद्यार्थीलाई वैज्ञानिक अनुसन्धान गर्ने अमेरिकी संस्था नासामा अध्ययन लागि पठाउने गरेको छ । यसअघि सयजना विद्यार्थी नासाको प्रयोगशालामा पठाइसकेको सेन्टरले लगत्तै ५० जना विद्यार्थी पठाउँदै छ ।
चन्द्रमा टेक्ने दोस्रो मान्छे

सन् १९६९ जुलाई २० मा निल आर्मस्ट्रङसँगै चन्द्रमामा पहिलो पटक पाइला टेकेका बज अमेरिकाको एयर फोर्सबाट सेवा निवृत्त पाइलट हुन् । चन्द्रमामा जाँदा प्रयोग भएको यान एपोलो–११ लुनार मोड्युलका पाइलट बज नै थिए । निल आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेपछि बजले पाइला टेकेका थिए । उनीहरूले चन्द्रमाबाट धुलो, पाउडर र चट्टान गरी साढे २१ किलो सामग्री पृथ्वीमा ल्याएका थिए ।

 

Leave A Comment