पोखरीमा पार्टी

शुक्रबार, १० भदौ २०७३, ११ : ४५ मनोज घर्तीमगर , Kathmandu
पोखरीमा पार्टी

विभिन्न थिममा डान्स पार्टी गर्ने पोखरेली जमात अब भने पुल पार्टीतिर आकर्षित भएको छ । कहिले हरियो रङको कपडा लगाएर ‘ग्रिन डे डान्स पार्टी’, कहिले सेतो रङको टी–सर्टमा ‘ह्वाइट टी डान्स पार्टी’ । कहिले चाहिँ मास्क लगाएर ‘मास्क पार्टी’, कालो ड्रेसमा ‘पार्टी इन ब्ल्याक’ गर्दै भेटिने युवा आजभोलि स्विमिङ पुलतिर सोझिएका छन् ।
पोखरामा पुल पार्टीको आकर्षण बढ्दो छ यतिबेला । घाम चर्को हुने भएकाले साउन÷भदौलाई पुल पार्टीको मुख्य सिजन मानिन्छ । त्यसैले होला अहिले पोखरामा

एकपछि अर्को पुल पार्टी भइरहेका छन् । केही समयअघि गैह्रापाटनको सीएम पुलमा ‘द अल्टिमेट स्विमिङ पुल पार्टी’ भयो । लगत्तै चाउथेस्थित रोयल पाममा ‘ग्रान्ड नेपाल्स सेक्सिएट पुल पार्टी’ आयोजना भयो । ‘पोखराका युवायुवती अहिले पुल पार्टीतिर निकै आकर्षित छन्,’ पार्टी आयोजक रोयल पामका म्यानेजर शोभित ठकुरी भन्छन् । ठकुरीका अनुसार तीन सय, पाँच सय र २५ सय रुपैयाँको टिकट काटेर झन्डै छ सयजना पुल पार्टीमा रमाउन पुगेका थिए ।
हालै व्यञ्जनमा ‘रेन्टरटेनमेन्ट पार्टी’ भयो । जहाँ पानीको फोहोरामा युवायुवती छमछमी नाचेका थिए । ‘यहाँ थुपैै्र किसिमका पार्टी हुन्छन् । गर्मी मौसममा पुल पार्टी धेरै गरिन्छन्,’ ओम इभेन्टका म्यानेजर अरुण गिरी भन्छन्, ‘जाडोमा हलभित्र पार्टी हुन्छ । गर्मीमा पुल पार्टी हुन्छन् । पुल पार्टीको सिजन यही हो ।’

रेन्टरटेन्मेन्टपछि फूलबारी रिसोर्टमा रत्नचोक क्लबको आयोजनामा ‘लास्ट समर पार्टी पुल पार्टी’ भयो । लेभल नेक्स्ट प्रालिले फूलबारी रिसोर्टमै ‘यलो समर पुल पार्टी’ आयोजना गर्ने भएको छ ।

‘पोखरामा बर्सेनि पुल पार्टीमा रमाउन चाहनेहरूको संख्या बढ्दै गएको छ,’ लेभल नेक्स्ट इभेन्टका राजु बोगटी भन्छन्, ‘गर्मीमा पोखरीमा पौडन पाउनु र थरिथरिका संगीतमा रमाउने अवसर कसले पो छुटाउन चाहला र !’

 

Leave A Comment