नेपालको रियो यात्रा बस सहभागिता !

शुक्रबार, १० भदौ २०७३, १० : २८ शुक्रवार , Kathmandu
नेपालको रियो यात्रा
बस सहभागिता !

चार वर्षपछि जापानको टोकियोमा भेट्ने वाचा गर्दै रियो ओलम्पिक सकिएको छ । जसरी हरेक ओलम्पिक चार वर्षपछि अर्को ठाउँमा भेट्ने वाचा गर्दै सकिन्छन्, त्यसै गरी नेपालले सन् १९६८ बाहेकका पछिल्ला १३ वटा ओलम्पिकमा औपचारिकताका लागि मात्रै सहभागिता जनाउँदै आएको छ । र, यसअघिका ओलम्पिकमा जस्तै यो पटक रियो ओलम्पिकमा पनि नेपालको सहभागिता औपचारिकतामा नै सीमित भएको छ । नेपालका सातजना खेलाडीले भाग लिएको यो ओलम्पिकमा दुईजना खेलाडी पौडीका शिरिष गुरुङ र एथ्लेटिक्सकी सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् भने गौरिका सिंहले कुनै कीर्तिमान नबनाए पनि अन्तर्राष्ट्रिय चर्चा भने बटुलेकी छिन् । यो पटकको ओलम्पिकमा गुरुङ, सिंह र भट्टराईसहित एथ्लेटिक्सका हरिकुमार रिमाल, जुडोकी फुपु ल्हामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरकी जीतबहादुर मोक्तानले प्रतिस्पर्धा गरेका थिए । यी सातैजना खेलाडीले प्रतिस्पर्धाका आधारमा नभई वाइल्ड कार्ड र अनिवार्य सहभागिताको आधारमा ओलम्पिक खेल्न पाएका थिए । त्यसैले उनीहरूमाथि पदकको आशा थिएन ।
पदकको आशा नगरेको भए पनि यो पटकको ओलम्पिकमा पौडीकी गौरिका सिंहले अन्तर्राष्ट्रिय चर्चा बटुलिन् । २ सय ६ देशका ११ हजारभन्दा बढी खेलाडी सम्मिलित रियो ओलम्पिकमा सबभन्दा कम उमेरकी खेलाडी भएका कारण उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि राम्रो स्थान पाइन् । १३ वर्ष २ सय ५५ दिनको उमेरमा ओलम्पिकको एक सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गरेकी गौरिकाले १ मिनेट ८ दशमलव ४५ सेकेन्डको समय निकालिन् । ३४ जना सहभागी भएको यो स्पर्धामा उनी ३१ औँ भइन् ।
ओलम्पिकमा पौडी खेलाडी शिरिष गुरुङले एक सय मिटर फ्री स्टाइलमा ५७ दशमलव ७६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । गएको वर्ष रुसको कजानमा भएको फिना विश्व च्याम्पियनसिपमा ५८ दशमलव २२ सेकेन्डको समय निकाल्दै आफैँले बनाएको राष्ट्रिय कीर्तिमान उनले यो ओलम्पिकमा तोडेका हुन् । ५९ जना खेलाडी रहेको स्पर्धामा उनी ५८ औँ स्थानमा रहे ।
सरस्वती भट्टराईले पनि रियो ओलम्पिकमा १५ सय मिटर दूरीको दौडमा नयाँ राष्ट्रिय कर्तिमान बनाएकी छिन् । डडेलधुराकी उनले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्ने क्रममा चार मिनेट ३३ दशमलव ९४ सेकेन्डको समय निकालिन् । त्रिभुवन आर्मी क्लबकी खेलाडी सरस्वती ४१ जना खेलाडी रहेको स्पर्धामा ३७ औँ स्थानमा रहिन् ।
जुडो खेलाडी फुपु ल्हामु खत्री ओलम्पिकमा पदक जित्ने नभई पूरै समय खेल्ने लक्ष्यका साथ रियो उडेकी थिइन् । र, रियोमा उनले आफ्नो लक्ष्य पूरा गरिन् । ६३ किलोमुनिको तौल समूहमा पहिलो चरणमा उनले क्युबाकी मरिसेट इस्पिोनासँग पूरै समय अर्थात् चार मिनेट नै प्रतिस्पर्धा गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकिनन् । तर, आफ्नो लक्ष्य भने पूरा गरिन् । यसअघि ओलम्पिक खेलेका जुडो खेलाडी ऋषिराम प्रधान, गंगाबहादुर डंगोल र देवु थापाले पूरै समय खेल्न सकेका थिएनन् ।
तेक्वान्दोकी निशा रावल विश्व च्याम्पियन चिनियाँ खेलाडी झेङ सुयनसँग पहिलो चरणमा नै बाहिरिन् । झेङ फाइनलमा पुगेपछि उनले काश्य पदकका लागि खेल्ने मौका पाएकी थिइन् । तर, फ्रान्सकी ग्ल्वाडेस इपान्गुयसँगको खेल जित्न नसकेपछि काश्य पदकका जित्न अर्को खेल खेल्नै परेन । एथ्लेटिक्सका हरिकुमार रिमाल र आर्चरकी जीतबहादुर मोक्तानले यो ओलम्पिकमा खासै सम्झनलायक प्रदर्शन गरेनन् ।

पदक नजित्ने ७९ देशमा नेपाल पनि
यो पटकको ओलम्पिका २ सय ५ देश र एउटा शरणार्थीहरको टिमले भाग लिएका थिए । जसमा ८७ देशले मात्र पदक जित्न सके । पदक जित्न नसक्ने देशमा नेपालसहित १ सय १८ वटा देश रहे । नेपालले यो ओलम्पिकमा मात्र होइन । अहिलेसम्म खेलेका कुनै पनि ओलम्पिकमा पदक जित्न सकेको छैन । सन् १९८८ को सियोल ओलम्पिकमा नेपालका विधान लामाले काश्य पदक जितेका थिए । तर, त्यो ओलम्पिकमा तेक्वान्दो प्रदर्शनी खेलमा रूपमा मात्र समावेश भएकाले त्यो काश्य पदकलाई ओलम्पिकको पदक मानिएको छैन । अहिलेसम्म १ सय ४९ वटा देशले ओलम्पिकमा पदक जितेका छन् भने पदक नजित्ने देशको संख्या ७९ छ । जसमा नेपाल पनि छ ।
वाइल्ड कार्ड र अनिवार्य सहभागिताकै भर
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकमा पहिलोपल्ट भाग लिएको थियो । त्यतिबेला नेपालका चारजना बक्सर र दुईजना म्याराथन धावकले ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाएका थिए । उनीहरूले छनोट प्रतिस्पर्धाका आधारमा नभई ओलम्पिक आयोजकले वाइल्ड कार्ड दिएको र अनिवार्य सहभागी हुनुपर्ने नियमका कारण ओलम्पिकमा भाग लिने मौका पाए । त्यसपछि सन् १९६८ को ओलम्पिकमा भाग नलिएको नेपालले त्यसपछिका सबै प्रतियोगितामा भाग लिएको छ । तर, तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यबाहेक अरू सबै ओलम्पियनहरूले वाइल्ड कार्ड र अनिवार्य सहभागी हुनैपर्ने नियम भएका कारण खेलकुदको महाकुम्भमा भाग लिने मौका पाएका हुन् । विष्ट २००८ को बेइजिङ ओलम्पिक र वैद्य सन् २००४ को एथेन्स ओलम्पिकमा प्रतिस्पर्धाका आधारमा छनोट भएका थिए । तर, उनीहरूले पनि पदक जित्न सकेनन् ।
ओलम्पिक आयोजकले छनोट हुन नसकेका टिम तथा खेलाडीलाई ओलम्पिक खेल्न दिने मौका नै वाइल्ड कार्ड हो । खेलाडी नतोकी खेलका लागि पाएको वाइल्ड कार्डमा सम्बन्धित खेल संघले प्रतियोगिता नै आयोजना गरेर खेलाडी छनोट गर्छन् भने कहिलेकाहीँ आयोजकले खेलाडीलाई नै पनि वाइल्ड कार्ड दिने गर्छ । वाइल्ड कार्डको पहल सम्बन्धित देशको ओलम्पिक कमिटिमार्फत हुने गर्छ । यस्तै केही खेलमा चाहिँ छनाट नभए पनि अनिवार्य खेलाडी पठाउनै पर्ने नियम छ । यो पटक तीन खेलाडीले वाइल्ड कार्ड पाएका थिए भने चार जना खेलाडी अनिवार्य सहभागितामार्फत रियो पुगेका थिए ।

पदाधिकारीलाई घुम्ने मौका
सातजना खेलाडीका साथमा यो पटक ४१ जना खेल पदाधिकारी रियो पुगेका थिए । रियो जानेमा सबैजसो नेपाल ओलम्पिक कमिटी र कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ नजिक हुने नै छन् । तीमध्ये केही पदाधिकारी नेपाल फर्के पनि कतिपय भने अझै पनि उत्तै घुम्नमै व्यस्त छन् ।
तेक्वान्दाकी निशा रावल र एथ्लेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई प्रतियोगिता सुरु भइसकेपछि अर्थात् आफ्नो खेल हुनुभन्दा दुई दिनअघि रियो पुगेका थिए भने खेल अधिकारी चाहिँ उद्घाटन समारोह र समापन समारोहमा माराकाना रंगशालामा देखिए । यसले पनि पुष्टि गर्छ रियो ओलम्पिकमा गएका खेल पदाधिकारीको नियतलाई ।
ओलम्पिकमा एकजना खेलाडी वा एउटा टिमको साथमा एकजना प्रशिक्षक वा व्यवस्थापक र एकजना चिकित्सक वा फिजियो जानु अनिवार्य मानिन्छ । जसअनुसार खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर सरकारले रियो जान २२ जनालाई मात्र स्वीकृति दिएको थियो । सरकारको स्वीकृति नपाएका २६ जना पनि रियो पुगेका छन् । उनीहरू कुन हैसियतामा कसरी रियो गए त्यो कुरा नेपाल ओलम्पिक कमिटीले सार्वजनिक गरेको छैन ।

Leave A Comment