जुकरबर्गले गरे १० अर्ब दान

बिहिबार, ०९ भदौ २०७३, ११ : ४५ शुक्रवार , Kathmandu
जुकरबर्गले गरे १० अर्ब दान

छोरी म्याक्सिमा जुकरबर्ग जन्मिएको अवसरमा फेसबुकको ९९ प्रतिशत सेयर च्यारिटीलाई दान गर्ने घोषणा गरेका फेसबुक संस्थापक मार्क जुकरबर्गले आफ्ना वाचा पूरा गर्न सुरु गरिसकेका छन् ।
उनले पहिलो चरणमा फेसबुकमा रहेको आफ्नो साढे नौ करोड डलर अर्थात् १० अर्ब २० करोड रुपैयाँ बराबरको सेयर बिक्री गरी सो रकम च्यारिटी संस्थामा जम्मा गरेका छन् । दी चान जुकरबर्ग फाउन्डेसन र सिजेडआई होल्डिंग्स एलएलसीले ९५ मिलियन डलर बराबरको फेसबुक सेयर बिक्री गरेको फोब्र्सले जनाएको छ ।
जुकरबर्ग दम्पतीले सन् २०१८ सम्ममा प्रतिवर्ष बढीमा एक अर्ब डलर बराबरको फेसबुक सेयर बिक्री गरी छोरीको नामबाट कल्याणकारी कार्यमा खर्च गर्ने योजना बनाएका छन् । गत वर्षको डिसेम्बरमा जुकरबर्ग र उनकी श्रीमती प्रिस्सिला चानले चान जुकरबर्ग अग्रसरता नामक कार्यक्रममार्फत आफूहरूको फेसबुकमा रहेको ९९ प्रतिशत सेयर अर्थात् झन्डै ४५ अर्ब डलर मानव क्षमता विकास तथा बालबालिकाको समानता प्रवद्र्धनका लागि खर्च गर्न दान गर्ने घोषणा गरेका थिए ।
उनीहरूले सुरु गरेको अभियानबाट बालबालिकामा व्यक्तिगत सिकाइ, रोगको उपचार, मानिसहरूबीच असल सम्बन्ध विकास गर्ने तथा सशक्त समुदाय निर्माण गर्नमा केन्द्रित हुने जुकरबर्गको भनाइ छ । विश्वको सबैभनदा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकमा अहिले १ अर्ब ७१ करोड प्रयोगकर्ता रहेका छन् ।

 

Leave A Comment