घुसको पक्षमा

बिहिबार, ०९ भदौ २०७३, ११ : २५ मिलन तिमिल्सिना , Kathmandu
घुसको पक्षमा

मान्छेहरू कर्मचारीले घुस खाए भनेर सत्तोसराप गर्छन् । त्यसैत्यसै मुर्मुरिन्छन् । जसले सरकारी जागिर खाएको छैन, उसलाई मात्र हो यसरी रिस उठ्ने । पहिले कुरा बुझ्नुप¥यो नि । त्यसै गनगन गरेर मात्र हुन्छ ? लौ सुन्नुहोस् घुस किन खानुपर्छ भनेर ।
पढ्ने किन ? जागिर खान । जागिर खाने किन ? कमाउन । कमाइ नै नहुने जागिर पनि कोही खान्छ ? जता फर्के पनि खर्च मात्रै हुने ठाउँमा घुस नखाई कसरी चल्छ जिन्दगी ? जिन्दगी चलाउन परेन ? त्यसमाथि जागिर खानको लागि कति दुःख गरियो ? कति ठाउँमा खर्च गरियो ? यसको हिसाब कसले गर्ने ? स्कुल, क्याम्पसमा उत्तिकै मेहनत गरेर पढियो । पास हुन चिट कति चोरियो । लोकसेवा खुल्यो । लोकसेवा लड्न उत्तिकै मेहनत । सधैँ चिट चोर्न पनि नसकिने ? टुप्पी कसेर र घुँडा धसेर पढ्नुपर्ने । चारतिर धाउँदाधाउँदा, हात मोल्दामोल्दा बल्लतल्ल लोकसेवामा पनि पास भइयो ।
त्यसपछि हाकिम रिझाउँदाको हैरानी उस्तै । मालदार ठाउँमा पुग्न गरेको दौडधूप र असिनपसिन कसलाई थाहा छ ?
त्यसमाथि घुस दिने मान्छे पत्ता लगाउन पनि चानचुने कुरा होइन । कसले कति दिन सक्छ भनेर थाहा पाउन पनि उत्तिकै चतु¥याईं गर्नुपर्ने । मान्छे पत्ता लगाएपछि उसलाई फकाउनुप¥यो, धम्क्याउनुप¥यो । कसैले नदेख्ने गरी एकान्तमा लैजानुप¥यो । एकदुई कप चिया खुवाउनुप¥यो । बल्लतल्ल घुस खान पाएको छैन, भुसको आगोझैँ फैलाउनुपर्ने ? यस्तो पनि कहीँ हुन्छ ? हामी कर्मचारीको दुःख बुझ्न पर्दैन ? हामीले घर चलाउनु पर्दैन ? हामीले परिवार पाल्न पर्दैन ? परिवारको चित्त बुझाउन पर्दैन ? काठमाडाँैमा हामीले चाहिँ घर नबनाउने ? त्यसै घुसको विरोध गर्न पाइन्छ ? घुस नै नखाने हो भने अख्तियारको के काम ? त्यहाँका कर्मचारीले चाहिँ बालबच्चा पाल्नुपर्दैन ? अनि काम लिन आउनेको काम छिटो हुन परेन । घुस नदिने हो भने सबै बराबरी । सबैको काम छिटो गर्न कसरी सकिन्छ ? त्यसैले छिटो काम गर्नको लागि पनि घुस त अनिवार्य चाहिन्छ चाहिन्छ । सबैको न्यायको लागि पनि घुस त खानुपर्छ, खुवाउनुपर्छ ।
०००
सरकारी काम कस्तो हुन्छ भनेर तपाईंले पक्का र पाको अनुभव हासिल गरिसक्नु भएकै होला । बिहान १० बजे नै कामको लागि कार्यालय पुग्यो । हामी काम लिनेलाई पो हतार । काम दिनेलाई के को हतार ? लिने जस्तो हो र दिने मान्छे ? दिने मान्छे त ठूलो मान्छे । ठूलो मान्छेको ठूलै कुरा । ठूलै समय । ठूलै सोच ।
ठूलो मान्छे बस्ने सरकारी कार्यालयको ढोका साना मान्छेको घरजस्तो भालेको डाँकमै खुल्दैन । १० पनि छिटै बज्दैन । आरामले बज्छ । हाकिम साहेबको मनअनुसार, समयअनुसार १० बज्छ ।
तपाईंको र मेरो घडीमा मात्र १० बजेर कहाँ हुन्छ ? ठूला कार्यालयमा १० आफ्नै सुरले बज्छ । तर, १० ढिलो बजे पनि छुट्टि हुने ट्याम चार या पाँच चाहिँ निकै छिटो बज्छ । जुन कुरा सबैलाई राम्रोसँग थाहा छ ।
तपाईं मालपोत तिर्न, नागरिकता बनाउन, पासपोर्ट बनाउन, बिजुलीको बिल तिर्न थरीथरीका कामका लागि सरकारी अड्डा पुग्नुहोस् । पहिलो कुरा त तपाईंलाई कहाँको कुन कोठामा काम लिने हो नै पत्तो हुँदैन । बल्लतल्ल पत्ता लगाएर त्यहाँ पुग्यो, लामो लाइन हुन्छ । अनि, लाइनमा गएर उभियो । मरिगए लाइन सर्दैन । भित्र काम गर्ने मान्छे भए पो लाइन सर्छ ।
बल्लतल्ल मान्छे आइपुग्यो । ल अब त लाइन सर्छ भनेर आशा गरेर बस्यो । लाइन आफ्नै पारामा सर्दै जान्छ । पिसाबले च्याप्दासमेत थामेर बल्लतल्ल पालो आउँछ । अनि, हाकिम साहेबले चश्मामुनिबाट यसो हेर्छन् । तपाईंको के ? भन्दै हप्काउँछन् ।
मेरो नाम यो, फलानो ठाउँबाट, यसो गर्नुथियो, मेरा कागजपत्र यीयी हुन् भनेर चाहिनेजति विवरण र कागजात सबै अघिल्तिर राखिदियो । हाकिम साहेबले सबै सरसरती हेर्छन् । यता पल्टाउँछन्, उता पल्टाउँछन् । घरि मलाई हेर्छन्, घरि कागजमा हेर्छन् । कागज अपुग छैन । सब ठीकठाक छ । तर, हाकिम साहेबलाई चाहिने कुरा चाहिँ छैन । त्यसपछि उनले भन्छन्ः यो तपाईंको होइन ?
मेरै हो भन्यो खै के प्रमाण छ तपाईंको हो भनेर हाकिम फेरि निहुँ खोज्छन् । म मै हुँ योभन्दा ठूलो प्रमाण अरू के भन्यो तैपनि हाकिम साहेब मान्दैनन् ।
ल यो मिलेन ? सही यहाँ गर्नुपर्ने, अन्तै भयो भनेर फेरि हाकिम साहेबले अर्को निहुँ खोज्छन् । उनलाई जसरी पनि मेरो काम नगर्नु छ । फर्काउनु छ । उनलाई केही चाहिएको छ, जुन मैले दिएको छैन ।
लुकाएर किन कुरा गर्नु । उनीहरूले घुस हाकाहाकी खान हुने । हामीले चाहिँ घुस नखाईकन धेरै सरकारी कर्मचारीले काम गर्दैनन् भनेर किन यति घुमाएर कुरा गर्ने । सीधै भन्दा धेरै सरकारी कार्यालयमा घुस नदिईकन काम नै हुँदैन । अख्तियारले सानालाई पो अँचेट्न सकेको छ । ठूलालाई छुन सकेको छैन क्यारे ! छुन नसकेका ठूला अझै साँढे भइरहेका छन् । साँढेले हामीजस्ता निम्छरा जनतालाई त्यसै किन छोड्थे ।
०००
सरकारी कर्मचारी पनि कोही धेरै भाग्यमानी हुन्छन्, कोही चाहिँ निकै अभागी । सबैलाई थाहा भएकै कुरा भन्सार, मालपोत, परराष्ट्र, राजस्वका कर्मचारी साह्रै भाग्यमानी । यहाँ त दिन्न र हुन्न भन्ने मान्छे काम लिएर जाँदै जाँदैनन् । जसले पनि केही न केही टक्र्याउँछन् । परराष्ट्रमा भयो भने सधैँ विदेश जान पाइने, भन्सार र राजस्वमा भए आँ गरेर मात्रै बस्दा पुग्ने । आँ गरेर बसिरहे खोजेको कुरा कि मुखमा, कि गोजीमा ।
वीरगञ्ज, विराटनगर, भैरहवा, एयरपोर्ट चाहिँ अझै मलिलो जग्गा रे कर्मचारीका लागि । त्यसैले मलिलोमा भइरहेकालाई अन्त जान मन नलाग्ने । रुखो ठाउँमा बसिरहेका चाहिँ सधैँ दिक्क । आफ्नो मान्छे नहुँदासम्म मलिलो ठाउँमा गएर मस्ती गर्न नपाइने ।
सरकारी कर्मचारीलाई गाली मात्र नगरौँ । उनीहरूको स्वभाव, प्रवृत्ति र कामलाई चाहिने ठाउँमा सदुपयोग गर्न सके कति मज्जा हुन्थ्यो । तपाईं एकछिन सोच्नुहोस् त, तपाईंलाई छिटो मर्न मन लाग्छ ? पक्कै पनि लाग्दैन । सयौँ वर्ष बाँच्न मन लाग्ला । यो आयु थपघट गर्ने ठाउँमा सरकारी कर्मचारी भइदिए कस्तो हुन्थ्यो होला ? सरकारी कर्मचारी यसै पनि ढिलो काम गर्ने । कसैको आयु सकिन लाग्यो र छिटो उसलाई माथि पु¥याउन पर्ने ठाउँमा सरकारी कर्मचारी भयो भने के होला ? पक्कै पनि उसले छिटो गर्दैन । लौ भयो आज होइन यसलाई माथि पु¥याउने काम भोलि गरौँला भनेर सार्छ । भोलि पनि गर्दैन, भोलिको भोलिलाई सार्छ । यो त मजै हुने भो । सधैँ बाँचिरहन पाइने ।
तर, यदि मान्छे जन्माउनको लागि पनि सरकारले स्वीकृति दिनुपर्ने नियम भयो भने के होला नि ? यदि यस्तो नियम हुने हो भने त्यो ठाउँमा पनि सरकारी कर्मचारी हुने नै भयो । कुनै दम्पत्ति स्वीकृति लिन जान्थे । आज होइन भोलि भन्दै कर्मचारीले पठाउँथ्यो । भोलिको भोलि, त्यो भोलिको पनि भोलि हुँदै जाँदा मान्छे त कोही पनि जन्मन नभ्याउने । जनसंख्या कम हुन्थ्यो, फाइदै हुन्थ्यो नि होइन र भन्या ।
तपाईंलाई हाटा भन्ने शब्द त सुन्नुभएकै होला । हाजिर गर्ने, टाप ठोक्ने । साँसदजस्तो क्या । धेरै सरकारी कर्मचारी र साँसद उस्तै । हाजिर ग¥यो टाप ठोक्यो । तर, ड्रेसको व्यवस्था भएपछि चाहिँ सरकारी कर्मचारीलाई अप्ठ्यारो परेको छ । अफिस जाँदा ड्रेस लगाएर जानुप¥यो । निक्लँदा फुकाल्ने कुरा भएन । त्यो ड्रेस लगाएर डान्स रेस्टुरेन्ट, होटल, पार्क, घुसको लेनदेन हुने ठाउँ, सिनेमा हल जाँदा सबैले चिन्छन् । ड्रेस हेरेरै यो त कर्मचारी हो भन्छन् ।
त्यसमाथि छोरोको स्कुल ड्रेस र उसको सरकारी बाउको ड्रेस उस्तै । कहिलेकाहीँ त छोराको सर्ट र पाइन्ट लगाएर पनि कर्मचारी कार्यालय जाँदा रहेछन् । तर, जे भए पनि सरकारी कर्मचारीको शान नै बेग्लै ।
एकजनाले भन्यो– मेरो जेठो छोरो त एकदम कामचोर छ । न बेलामा गर्छ, न जाँगर लगाएर गर्छ । साथीले सुझाव दियो– कामचोर छ भने त छोरालाई सरकारी कर्मचारी बनाऊ न यार ।  

 

Leave A Comment