समाजिक सञ्जालमा घोचपेच

आइतबार, ०५ भदौ २०७३, ११ : २९ शुक्रवार , Kathmandu
समाजिक सञ्जालमा घोचपेच

समाजिक सञ्जालमा एउटा गज्जबका पात्र छन्, जसलाई फेसबुक, ट्वीटर चलाउनेहरू स्ट्याटस लेख्दा उनको नाम अगाडि र पछाडि झुन्ड्याउने गर्छन् । कसैमाथि आक्रोश पोख्दा वा घोचपेच गर्दा ती पात्रलाई प्रयोग गरिन्छ । र, भन्ने गरिन्छ– ‘पीडा छ, हनुमानजी पीडा !’ यथार्थमा उनी हुन्, नेपाली फिल्म ‘पशुपतिप्रसाद’का हनुमानजी ।
कसैमाथि व्यंग्य गर्नपरे तिनै हनुमानजीलाई प्रयोग गर्नु समाजिक सञ्जालको विशेषता बनेको छ । ‘न रेल कुदाउन पाइयो, न हावाबाट बिजुली निकाल्न पाइयो, न तुइन हटाउन पाइयो, न घरघरमा पाइपलाइनबाट ग्यास पठाउन पाइयो,’ हनुमानजीसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहित सिर्जनाले व्यंग्य गरेकी छन्, ‘सरकार ढालेरै छाड्ने भए हनुमानजी ।’
समाजिक सञ्जाल सूचना दिने थलोमात्र होइन, सुखदुःख साट्ने थलो पनि बनेको छ । आफूले चाहेको वा आफूलाई लागेको कुरा तुरुन्तै स्मार्टफोनको माध्यमबाट समाजिक सञ्जालमा बहसको विषयवस्तु बनाउन सकिन्छ । एउटै विषयमा केन्द्रित ट्वीट गरेर ट्रेन्डिङ गर्ने युवा जमातको पनि कमी छैन । पत्रपत्रिकामा आएका समाचार वा देशमा हुने राजनीतिक घटना÷परिघटना समाजिक सञ्जालका प्रयागकर्ताले निकै अभिरुचिसाथ नियाल्ने गर्छन् । सोही विषयमा व्यंग्यात्मक स्ट्याटस फुराउँछन् र ट्वीटर तथा फेसबुकमा अपडेट गर्छन् ।
गत वर्षको भूकम्पपछि समाजिक सञ्जाल प्रयोगकर्ताले भारतीय मिडियाको खेदो खने । उनीहरूले ‘गो ब्याक इन्डियन मिडिया’ भन्दै ट्वीटरमा ट्रेन्ड चलाए ।
भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि समाजिक सञ्जाल तात्यो । भारतविरुद्ध अर्को ट्रेन्डिङ चल्यो– ‘ब्याक अफ इन्डिया’ । त्यतिबेला समाजिक सञ्जाल प्रयोगकर्ताले निकै घतलाग्दा व्यंग्य पनि गरेका थिए । एउटा तस्बिरमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपानवायुले उडाइदिएको तस्बिर भाइरल बनेको थियो ।
ग्यास अभाव भइरहेका बेला समाजिक सञ्जाल प्रयोगकर्ताले मैनबत्तीमाथि प्रेसरकुकर बसालेर भात पकाइरहेको तस्बिर सार्वजनिक गरेका थिए । त्यतिबेला वैज्ञानिक नामक ह्यान्डलले ट्वीट गरेका थिए– ‘मेरो जनता, मेरो मधेश, मेरो तराई, मेरो नेपाल, मेरो संविधान, मेरो समस्या, तिमीलाई किन टाउको दुखाइ ?’ यसलाई धेरैले रुचाएका थिए ।
त्यसपछि देशमा नयाँ सरकार गठन भयो र नयाँ प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली आए । भारतको नाकाबन्दी कायमै रह्यो । देशमा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको अभावमा नेपालीहरूको जीवनयापन नै कष्टकर बन्यो । प्रधानमन्त्री ओलीले भने नयाँ–नयाँ सपना बाँड्न थाले । ग्यास अभावमा ओलीले ‘भान्छा–भान्छामा ग्यासको पाइप हालिदन्छु’ भने । राजधानीमै पानीको हाहाकार भइरहेका बेला र ढल व्यस्थापन हुन नसक्दा सडक नै पोखरी बनिरहेका बेला प्रधानमन्त्री ओलीले पानीजहाज चलाउने सपना देखाए । रेल, मेट्रो रेल कुदाउने सपना पनिदेखाए । देशका कार्यकारी प्रमुखले यसरी सपना बाँडिरहँदा जनता भने ग्यास र पेट्रोलको लाममा दिनरात बिताइरहेका थिए । बीबीसीका पत्रकार गनी अन्सारीले त्यो बेला व्यंग्यात्मक स्ट्याटस लेखेका थिए– ‘एकाबिहानै फोनमा आमाः रेल कर्मचारी आन्दोलनमा छन्, खराब मौसमका कारण पानीजहाज चलेको छैन, तिम्रा बाबा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्म नजाने रे । के गरौँ ?’
ओलीलाई व्यंग्य गर्ने उनी एक्ला थिएनन् । ‘ग्यासको हाहाकार भइरहेका बेला प्रमज्यूले भान्छासम्मै पाइप पठाइदिन्छु भन्नुहुन्छ । पेट्रोलको हाहाकार भइरहेका बेला दुई वर्षमा नेपालमै पेट्रोल उत्पादन हुन्छ भन्नुहुन्छ । प्रमज्यूका यी अभिव्यक्ति सुनेर नेपाल फर्किऊ फर्किऊँ लाग्यो,’ प्रवासी सीतारामले फेसबुकमा लेखे ।
खानेपानीको हाहाकारले काठमाडौँ उपत्यकावासीमात्र होइन, देशभरिका जनता मारमा छन् । भान्छा चलाउने महिलाहरू दिनभरि पानीका लाममा बस्न बाध्य छन् । ‘यस्ता समस्याका अगाडि ओलीज्यू पानीजहाज चलाउने सपना देखाउनुहुन्छ,’ मनीषले ट्वीटरमा लेखे ।
पानीजहाजको सपनासँगै फेसबुक ट्वीटरमा अत्यधिक बहस भए । समाजिक सञ्जालले बच्चाले बनाउने गरेको डुंगाको याद पनि दिलायो । सबैले डुंगाको तस्बिर समाजिक सञ्जालमा हालेर प्रधानमन्त्री ओलीलाई व्यंग्य गरे । ‘आज जहाज खाली भयो, कमाइ त्यति भएन हेर्नुस्,’ सुदीप खतिवडाले लेखेका छन् । त्यस्तै अमित झाले लेखे, ‘पानीजहाजको ट्राएलमा फेल भएका एक युवा निराश मुद्रामा ।’ उनीहरू दुवैले नेपालको नदीमा चल्ने डुंगाको तस्बिरसहित ओलीलाई व्यंग्य गरेका थिए ।
ट्वीटेहरूले कागजको ‘ओली जहाज’ बनाएर पनि उडाए । ‘लु बागमतीबाट छुटेको ओलीको पानीजहाज टुकुचा पुग्दै छ । आउनुस् मिलेर यात्रा गरौँ,’ ऋषिकेश दाहालले ट्वीटेका थिए । उनले ‘बागमती टू टुकुचा’ लेखिएको कागजी डुंगासहित ट्वीटेका थिए । जुन समाजिक सञ्जालमा भाइरल बनेको थियो ।
केहीले त पानीजहाजलाई नेपालको भद्रगोल ट्राफिकसँग तुलना गरे । ‘जति पानीजहाज चले पनि भनेको बेलामा आउने होइन, आफ्नै देशकोमा आऊँ भनेको झण्डा नै देख्दिनँ,’ सुरेश ढकालले समुद्र किनारमा बसेको तस्बिरसहित ट्वीट गरेका थिए ।
मधेशी नेताहरूलाई पनि समाजिक सञ्जालमा व्यंग्य गरियो । नरेन्द्र मोदीका अगाडि राजेन्द्र महतो, उपेन्द्र यादव सबै नेताहरू उठबस गरेको व्यंग्य तस्बिर समाजिक सञ्जालमा भइरल बन्यो । त्यतिमात्र होइन, मधेशी नेताहरू बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका अगाडि लम्पसार परेपछि समाजिक सञ्जालमा मधेशी नेताहरूप्रति आक्रोश र तीखो व्यंग्य प्रहार गरिएको थियो । पुष्प दुलालले ट्वीटरमा लेखेका थिए– ‘ए, भारतमा बाबुको मुख हेर्ने दिन रछ क्यार, त्यही भएर त मधेशी नेताहरू लालुको मुख हेर्न त्यहाँ पुगेका रछन् ।’
केपी ओली सरकारबाट बाहिरिए । भद्र सहमतिअनुसार प्रचण्डलाई सत्ता हस्तान्तरण नगरेपछि प्रचण्डले कांग्रेससँग मिलेर नयाँ सरकार बनाए । अहिले उनी प्रधानमन्त्रीको कुर्सीमा आसीन छन् । उनले पनि शेरबहादुर देउवासँग भद्र सहमति गरेका छन् । अबको नौ महिनापछि देउवा सरकार गठन हुनेछ । यही सन्दर्भमा प्रचण्डलाई गर्भवती महिलाको रूपमा समाजिक सञ्जालमा व्यंग्य गरिएको छ । समाजिक सञ्जाल प्रयोगकर्ताहरूले नौ महिनापछि देउवा सरकारको जन्म हुने भन्दै प्रचण्डलाई सारी लगाएर महिला भेषमा सज्जाएर व्यंग्य गरेका छन् ।

 

Leave A Comment