पहिलो स्खलन अविस्मरणीय

मङ्गलबार, २८ माघ २०७६, ०२ : ३६ डा. दिनेश बाँस्ताेला
पहिलो स्खलन अविस्मरणीय

जनेन्द्रियबाट हुने पहिलो रात्रिकालीन निर्गमन (स्वप्न स्खलन÷वहाव) अनौठो लाग्नु स्वाभाविकै हो। विशेषगरी यौवनावस्थामा प्रवेश गरेको किशोर (पुरुष) मा पहिलोपटक हुने स्वप्न स्खलन (निर्गमन) ले मानसिक रुपमा बढी नै अशान्ति,अस्थिरता, स्तब्धता, विस्रिङ्खलता तथा उदासिनता ल्याउँछ। किशोरावस्थामा प्रवेश गरिरहेको पुरुषमा आफ्ना शरीरका कतिपय अंगको काम सम्बन्धी पूर्ण ज्ञान हुन्न। यस्तो अवस्थामा स्वप्न स्खलन हुँदा पुरुष अचम्मित हुन्छ। जुन स्वाभाविकै हो।

जनेन्द्रिय र यौनका विषयमा त झन् लाज र डरका कारणले आफूलाई खुलस्त गर्न असहजता उत्पन्न हुन्छ। मानसिकरुपमा पनि स्वप्न स्खलनको बारेमा अभिभावकलाई भन्न मुस्किल पर्छ। त्यति मात्रै हैन। धार्मिक तथा सामाजिक कारण पनि यो विषयमा नखुल्ने अवस्था छ। यस्तो अवस्थामा किशोरावस्थामा प्रवेश गरिरहेका पुरुषमा यौन शिक्षाको अभाव हुन्छ। त्यसैले किशोरावस्थाका अधिकांश पुरुषले आफ्नो स्वप्न स्खलनको धारणा अभिभावकलाई भन्न नसकी धुमिल राख्छन्। तर किशोरावस्थामा यौन शिक्षा आवश्यक हुने उमेर हो। यो कुरा विशेषगरी अभिभावकले बुझ्न आवश्यक छ।

स्खलनको फरक उमेर
सामान्यतः पुरुषमा १२ वर्षको उमेरपछि स्वप्न स्खलन हुन्छ। महिलाको भने पुरुषको तुलनामा अलि चाँडै हुन्छ। महिलामा १० वर्षको उमेरमै स्वप्न स्खलन हुन्छ। महिलाको चाँडो र पुरुषको केही ढिलो हुनु सामान्य प्राकृतिक प्रक्रिया नै हो। वयस्क हुँदै जाँदा महिला र पुरुष मस्तिष्क फरक हुन्छन्। हार्मोनको फरक ढंगले उतारचढाव हुने भएकाले महिला र पुरुषमा यौनजन्य विचार, अभ्यास तथा स्खलन हुने समयमा पनि प्रभाव पर्छ। जसका कारण पुरुषको तुलनामा महिलामा चाँडै स्वप्न स्खलन हुन्छ। यसलाई समान्य रुपमा लिन आवश्यक हुन्छ।

पहिलो स्खलन अविस्मरणीय
कतिपय किशोरावस्थाका पुरुषमा शरीरको गलत सूचकांकको कारणले  स्वप्न स्खलन नभएको अवस्थामा समेत स्वप्न स्खलन भएको अनुभूति हुन्छ। यौनको विषयमा ज्ञान नभएको अवस्थामा समेत यस्तो समस्या उत्पन्न हुन सक्छ। किशोरावस्थामा मस्त निदाएको अवस्थामा स्वप्न स्खलन हुँदा ओछ्यानमा पिसाब गरेजस्तो अनुभूति हुन्छ।

रात्रिजन्य कामोत्तेजना र निर्गमन प्राकृतिक प्रक्रिया हुन्। यसरी स्वप्न स्खलन (निर्गमन) भएको वीर्य चाँडै सुक्ने भएकाले आफुले लगाएको कपडा तथा ओड्ने–ओछ्याउने कपडामा दाग लाग्छ। यस्तो दाग पहेँलो भएर रहन्छ। यसरी स्वप्न स्खलन हुने प्रक्रियाले अधिकांश किशोर अनभिज्ञताका कारण अलमलमा पर्नुका साथै छक्क पर्ने अवस्था आउँछ। जसले आफैँ अच्चमको अनुभूति गर्छन्।

पहिलोपटकको कामोत्तेजनाको अनुभूति जीवनभरको अविस्मरणीय घटना हुन्छ। पहिलो पटकको स्वप्न स्खलन अनौठो हुने भएकाले दीर्घकालसम्म सम्झना हुन्छ। पछिसम्म पनि अनौठो र आनन्दानुभूति स्मरण हुन्छ। त्यति मात्रै हैन पहिलोपटकको स्वप्नस्खलन आनन्दमयी र मनोरञ्जनात्मक पनि हुन्छ। तर पहिलोपटकको स्वप्न स्खलनपूर्व नै हस्तमैथुन र अन्य विभिन्न किसिमको  यौनजन्य क्रियाकलापको अनुभूति तथा अनुभव लिइसकेकोे अवस्थामा पहिलो स्वप्न स्खनल अविस्मरणीय नहुन सक्छ। कतिको हो, भन्नेकुरा भोलिपल्ट पनि सम्झना हुन्न। त्यसैले पहिलो पटकको स्वप्न स्खलनको आनन्दानुभूति लिनका लागि यौन स्वप्नस्खलनपूर्व यौन क्रियाकलाप नगर्न सकिन्छ।

गलत बाटोको जोखिम
रात्रिकालीन स्वप्न स्खलनले किशोरलाई हस्तमैथुनको अनुभव लिनका लागि उत्प्रेरित गर्छ। यस्तो अवस्थामा किशोरावस्थाको पुरुषको व्यक्तित्व नै हस्तमैथुनतिर आकर्र्षित हुने सम्भावना बढी हुन्छ। यसरी हस्तमैथुनमा बानी परेको अवस्थामा समलिंगी तथा विपरीत लिंगी यौन जोडीप्रति व्यक्तिको आकर्षण बढ्न जान्छ। किशोरावस्थामा विपरीत लिंगी यौनजोडीप्रति आकर्षित हुुनु स्वाभाविकै हो। तर समलिंगीप्रति आकर्षित भएको अवस्थामा समस्या उत्पन्न हुने जोखिम हुन्छ।

त्यसै कारणले अभिभावकले किशोरावस्थामा प्रवेश गरेका आफ्ना व्यक्तिको यौनजन्य चालचलन र अभ्यासको नजिकबाट निगरानी गर्नुपर्छ। यस्तो अवस्थामा अभिभावकले उचित यौन शिक्षा दिन आवश्यक हुन्छ। ताकि किशोरकिशोरी गलत किसिमको यौन क्रियाकलापमको बाटोमा नलागून्।

कतिपय किशोर–किशोरी यस्तो स्वप्न स्खलन (रात्रिकालीन निर्र्गमन) यौन उन्मुक्त भएका हुन्छन्। यौन उत्तेजना तथा चाहनाका कारण नै अनियन्त्रित रुपमा किशोरावस्थाका व्यक्तिले यौन क्रियाकलापका लागि जिद्दी स्वभाव देखाउँछन्। यस्तो अवस्थामा स्वयं किशोर–किशोरी त संयमित हुनुपर्छ नै अभिभावकले पनि विशेष निगरानी गर्न आवश्यक हुन्छ।

कल्पनाको  संसार
यसरी स्वप्न स्खलनसहितको रात्रिकालीन स्वप्न देख्दा व्यक्ति अत्यन्तै सजिव, सुस्पष्ट र जिवन्त हुन्छ। स्वप्न स्खलनको समयमा वास्तविकरुपमा जस्तै यौन अभ्यास र अनुभूति हुन्छ। पहिलोपटकको स्खलनमा भने डर, चिन्ता तथा सकस उत्पन्न हुनु स्वाभाविकै हो।

पहिलोपटक स्खलन भइसकेपछि भने व्यक्तिले यौन क्रियाकलाप तथा यौन आनन्दानुभूति सामान्यरुपमा लिँदै जान्छ। वीर्य स्खलन सामान्य हुँदै जान्छ। पहिलो पटक स्वप्न स्खलन भैसकेपछि बानी परिसकेको हुनाले त्यसपछिका स्खलन सामान्य हुँदै जान्छ। स्खलनको समयमा यस्ता यौनजन्य क्रियाकलाप गरेको कुनै व्यक्ति तथा जनावरसँगको यौन क्रियाकलाप तथा यौन सम्पर्कको कल्पनामा डुबी सपना देखिन्छ। पहिलोपटकको स्वप्न स्खलनको समयमा कुनै सेलिब्रेटी,  नजिकको यौन जोडी कल्पेको व्यक्तिसँग पनि कल्पनाको संसारमा डुबी यौन तृप्ति मेटेको अनुभूति हुन्छ। जुन पाको उमेरसम्म पनि अविस्मरणीय रहन सक्छ। यस्तो कामोत्तेजनाको सपनाको संसारमा डुब्दा निदाएको अवस्थामा समेत व्यक्तिमा रात्रिकालीन कामोत्तेजना तथा यौन चाहना बढ्छ। जसका कारण व्यक्ति स्वप्न स्खलनमा पुग्छ। यस्तो स्वप्न स्खलन पहिलोपटक हुँदा आनन्दानुभूति हुनुका साथै नौलो र जीवनमा फरकपनको अनुभूति हुन्छ।
प्रस्तुति : उपेन्द्र खड्का

Leave A Comment